८ जेष्ठ २०८३, शुक्रबार | May 22, 2026

प्रश्नको घेरामा कांग्रेस नेतृत्व : “जनताको भरोसा गुम्दै गएको छ” — कुन्दनराज काफ्ले


498
Shares

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता तथा पूर्वमन्त्री कुन्दनराज काफ्लेले वर्तमान पार्टी नेतृत्वमाथि तीव्र असन्तुष्टि व्यक्त गर्दै कांग्रेस आफैं उठाएका प्रश्नहरूको घेरामा परेको टिप्पणी गरेका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै काफ्लेले विगतमा पुरानो नेतृत्वमाथि लगाइएका आरोपभन्दा पनि गम्भीर प्रश्नहरूमा अहिलेको नेतृत्व फसेको दाबी गरेका छन्। उनले वर्तमान नेतृत्वले पुराना नेताहरूलाई दोषारोपण गरेर आफूलाई चोख्याउने प्रयास गरिरहेको आरोप लगाए।

काफ्लेका अनुसार कांग्रेस र जनताबीचको विश्वासको सम्बन्ध कमजोर बन्दै गएको छ। पार्टीभित्र सिद्धान्तनिष्ठ कार्यकर्ताहरूलाई पाखा लगाएर व्यक्तिगत स्वार्थ र पहुँचको राजनीतिमा सक्रिय व्यक्तिहरूको प्रभाव बढाइएको उनको आरोप छ।

“पार्टीको घोषित सिद्धान्तसँग मेल नखाने स्वार्थ समूह र अनुचित लाभ लिन खोज्ने व्यक्तिहरूको प्रभाव बढ्दै गएको छ,” उनले भनेका छन्।

काफ्लेले पार्टीभित्र विचार र बहसको वातावरण कमजोर बन्दै गएको भन्दै डर, धाक र धम्कीमार्फत कार्यकर्तालाई त्रसित बनाउने प्रवृत्ति मौलाउन थालेको बताएका छन्। उनले जनताका मुद्दा र आवाजभन्दा बिचौलिया तथा स्वार्थ समूहको प्रभाव बढ्दै गएको दाबी गरेका छन्।

उनका अनुसार यस्तो प्रवृत्तिले पार्टीमा नयाँ विचार, ऊर्जा र राजनीतिक पुनर्जागरण सम्भव नहुने चेतावनी दिएका छन्।

कांग्रेसले जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा र वैचारिक बहस आवश्यक रहेको उल्लेख गर्दै काफ्लेले नेतृत्व भने उल्टै आन्तरिक द्वन्द्व र गुटबन्दीमा केन्द्रित भएको आरोप लगाए।

“पार्टीको सिद्धान्त र चरित्रमाथि गम्भीर बहस हुनुपर्ने बेला आफ्नै साथीहरूबीच द्वन्द्व बढाउने काम भइरहेको छ,” उनले भनेका छन्।

उनले यस्ता गतिविधिले पार्टी जीवनलाई अझ कमजोर र जर्जर बनाउने तथा जनविश्वास थप घटाउने चेतावनी दिएका छन्।

काफ्लेले कांग्रेस पुनर्गठनको अर्थ केवल संगठनात्मक फेरबदल नभई राजनीतिक सिद्धान्त र चरित्रको पुनरुत्थान भएको बताएका छन्। उनले देशभरका कांग्रेस कार्यकर्ता र शुभेच्छुकहरूलाई पार्टी सुधार अभियानमा एकजुट हुन आह्वान गरेका छन्।

उनले प्रतिशोध, आरोप–प्रत्यारोप र गुटीय राजनीतिबाट कांग्रेसले नयाँ आशा दिन नसक्ने उल्लेख गर्दै जनताको भरोसायोग्य राजनीतिक शक्ति निर्माण गर्न सबै पक्ष एकजुट हुनुपर्ने बताएका छन्।

“जनताको विश्वास र भरोसा पुनः स्थापित गर्न हामी सबै जुट्नैपर्छ,” काफ्लेको भनाइ छ।

कांग्रेसभित्र पछिल्लो समय संगठन पुनर्संरचना, नेतृत्वको कार्यशैली र आगामी महाधिवेशनलाई लिएर बहस चर्किरहेका बेला काफ्लेको यो अभिव्यक्तिलाई पार्टीभित्रको असन्तुष्टि र सुधारको मागका रूपमा हेरिएको छ।

प्रतिक्रिया