हारलाई हारकै रूपमा पैरिन तयार रहनुपर्छ !
विष्णु पन्थी । निर्वाचनमा हार त २०३७ सालको जनमत सङ्ग्रहमा पनि भएको थियो । त्यसवेला त अझ पञ्चायतले धाँधली गरेको पुष्टि पनि भएको थियो । उक्त हारको परिणामलाई बहुदल पक्षधर नेता वीपी कोइरालाले स्वीकार गरेका थिए । उनले भनेका थिए कि – बहुदलको पक्षमा जाहेर भएको करिब बीस लाख मतको उच्च कदर गर्दछु । यसकै बलमा अबको दस वर्षमा अहिंसात्मक सत्याग्रह मार्फत पञ्चायतलाई घुँडा टेकाउने छौँ।
उनले उक्त परिणाम स्वीकार गर्दैै भनेका थिए – म अर्थात् हामी यस व्यवस्थाका प्रतिपक्ष हौँ । एक जिम्मेवार प्रतिपक्षको हैसियतले यसलाई स्वीकार गरेका छौं । यस बखत हामी जिम्मेवार नबन्ने हो भने देशमा रगतको खोलो बग्नसक्छ । यसरी चुनावमा धाँधली गरेर बहुदल पक्षलाई हराइएको छ भनेर आफ्नै सहकर्मी साथीहरूले भन्दाभन्दै पनि परिस्थिति स्वीकार गर्ने नैतिक साहस वीपीले राखे ।
किन र कसरी यो कदम वीपीले उठाए अर्थात् हारलाई स्वीकार गरे भन्ने प्रश्नको जवाफ भनेको केवल उनको नैतिक साहस थियो र मूल्य प्रतिको सुदृढ प्रतिबद्धता थियो । उनले हारे पनि जितेको जसरी जिम्मेवारीबोध गरेका छन् , यहाँ । वास्तवमा उनको जुन राष्ट्र र जनताको सर्वोच्चता प्रतिको विश्वास हो, त्यो यहाँ प्रकट भएको छ । हारेको व्यक्तिको जितेको जस्तो उत्साह र ठाडो शिर केले बनायो होला रु अवश्य पनि उनको नैतिक बल, सिद्धान्त प्रतिको प्रतिबद्धता र जनता प्रतिको अटुट आस्थाले हुनुपर्छ ।
आजको हारको चर्चा गर्दा हारेकाहरू जसले तिनै वीपीको फोटो झुन्ड्याएर पार्टी चलाएका छन्, तिनीहरू वास्तवमै हारकै मनोभाव र मनोदशामा प्रकट भएका छन् । यस्तो किन रु जनाताको अभिमतलाई कदर गर्ने भन्नेको यस्तो व्यवहार किन भयो होला रु यदि आफू इमान र सिद्धान्तबाट विचलित नभएको भए, जनाताको विश्वास नगुमाएको भए हारकै दशामा बस्नुपर्ने थिएन, हारेपनि ।
हारलाई नैतिक कसीमा राख्ने साहस हुन्थ्यो । जनताको गुमेको विश्वास भनेकै ती पार्टीले गरेको आफ्नो घोषित सिद्धान्तको त्याग नै हो । इमान र सिद्धान्तको पुनरुत्थान नभएमा निर्वाचनको हार हारकै रूपमा पैरिरहने हिम्मत गर्नुपर्छ ।
पन्थी राजनीतिक विश्लेषक हुन् ।


