६ जेष्ठ २०८३, बुधबार | May 20, 2026

कुन्दनराज काफ्लेको चेतावनी–टालटुले सुधारले अब पुग्दैन


1.2k
Shares

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता तथा पूर्वमन्त्री कुन्दनराज काफ्ले ले पार्टीभित्र गम्भीर आत्मसमीक्षाको आवश्यकता औँल्याउँदै अहिले कांग्रेस “विश्वासको संकट” मा फसेको बताएका छन् ।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै काफ्लेले नेपाली कांग्रेसले विगतमा त्याग, संघर्ष र लोकतान्त्रिक मूल्यका आधारमा जनताको भरोसा जितेको स्मरण गराएका छन् । तर पछिल्लो समय पार्टी आफ्नो मूल उद्देश्य र सिद्धान्तबाट विचलित हुँदै गएको संकेत उनले गरेका छन् ।

उनले लेखेका छन्, “जसरी समयमै नउध्याए खुकुरी भुत्ते हुन्छ, त्यसरी नै उद्देश्य र सिद्धान्तबाट टाढा गएको पार्टी पनि सिथिल बन्छ ।”

काफ्लेको भनाइमा अहिले कांग्रेसभित्र देखावटी सुधारभन्दा पनि कठोर त्याग, समर्पण र व्यवहारिक परिवर्तन आवश्यक भइसकेको छ । केवल नाराले होइन, नेतृत्वको चरित्र र व्यवहारबाट नै पार्टीको छवि निर्माण हुने उनले बताएका छन् ।

उनले पार्टी नेतृत्वप्रति संकेत गर्दै छद्मभेषी र बेइमान नेतृत्वले जनताको सपना चकनाचुर बनाउने चेतावनी दिएका छन् । “जनताको टुटेको विश्वासले पार्टी पुनर्जीवनमा गहिरो बाधा पुर्‍याउँछ,” उनले उल्लेख गरेका छन् ।

काफ्लेले अहिले कांग्रेसभित्र आपसी अविश्वास, दाउपेच र गुटगत राजनीतिले पार्टी कमजोर बन्दै गएको संकेत गरेका छन् । उनले पार्टीलाई पुनः सिद्धान्तनिष्ठ, पारदर्शी र जनउत्तरदायी मार्गमा फर्काउनुपर्नेमा जोड दिएका छन् ।

उनको अपिल स्पष्ट छ —अब कांग्रेसले केवल संगठन जोगाउने होइन, जनताको विश्वास पुनः जित्ने संघर्ष सुरु गर्नुपर्छ ।

देशभरका कांग्रेस कार्यकर्ता र शुभेच्छुकलाई सम्बोधन गर्दै उनले “ऐतिहासिक जिम्मेवारीबोधसहित पार्टी पुनर्निर्माणमा जुट्न” आग्रह गरेका छन् ।

काफ्लेको यो अभिव्यक्तिलाई कांग्रेसभित्र बढ्दो असन्तुष्टि, नेतृत्वमाथिको प्रश्न र आगामी महाधिवेशनको आन्तरिक बहससँग जोडेर हेरिएको छ ।

प्रतिक्रिया