७ जेष्ठ २०८३, बिहिबार | May 21, 2026

भारतमा भाइरल ककरोच पार्टीको एक्स खाता बन्द


0
Shares

भारतमा पछिल्ला दिनहरूमा सामाजिक सञ्जालमा तीव्र रूपमा चर्चामा आएको व्यंग्यात्मक राजनीतिक अभियान ‘ककरोच जनता पार्टी’ विवादमा तानिएको छ। अभियानको आधिकारिक एक्स ९पहिले ट्विटर० खाता भारतमा रोकिएपछि यसको संस्थापक अभिजीत दीप्के ले सार्वजनिक रूपमा प्रतिक्रिया दिएका छन्।

३० वर्षीय दीप्केले २१ मे २०२६ मा आफ्नो व्यक्तिगत एक्स खातामार्फत पार्टीको खाता ब्लक गरिएको स्क्रिनसट साझा गर्दै प्रतिबन्धको पुष्टि गरेका हुन्। सामाजिक सञ्जालमा व्यंग्य, मीम र राजनीतिक कटाक्षको मिश्रण प्रयोग गरेर लोकप्रिय बनेको यो अभियानले विशेषगरी बेरोजगार भारतीय युवामाझ ठूलो चर्चा कमाएको थियो।

‘ककरोच’ टिप्पणीबाट सुरु भएको आन्दोलन

ककरोच जनता पार्टीको सुरुवात भारतका प्रधानन्यायाधीश सूर्य कान्त को एक विवादास्पद टिप्पणीपछि भएको बताइएको छ। उनले बेरोजगार युवालाई “ककरोच”सँग तुलना गरेको भनाइ सामाजिक सञ्जालमा भाइरल बनेपछि त्यसको विरोधस्वरूप व्यंग्यात्मक अभियान सुरु गरिएको थियो।

त्यसपछि “अल्छी र बेरोजगारहरूको आवाज” भन्ने नारासहित बनेको ककरोच जनता पार्टीले केही समयमै इन्स्टाग्राम र एक्समा ठूलो डिजिटल उपस्थिती बनायो। समूहले पारम्परिक राजनीतिमाथि कटाक्ष गर्दै मीममार्फत युवाहरूको निराशा, बेरोजगारी र राजनीतिक असन्तुष्टि अभिव्यक्त गर्न थालेको थियो।

घोषणापत्रमै व्यंग्य

पार्टीको घोषणापत्र पनि उत्तिकै व्यंग्यात्मक छ । यसमा—प्रधानन्यायाधीशहरूलाई अवकाशपछि राज्यसभा सीटमा प्रतिबन्ध,संसदमा महिलाका लागि ५० प्रतिशत आरक्षण,पार्टी परित्याग गर्ने सांसद–विधायकलाई २० वर्षसम्म चुनाव लड्न रोक जस्ता माग समावेश गरिएको छ।

यद्यपि, यी मागहरू गम्भीर राजनीतिक प्रस्तावभन्दा बढी वर्तमान राजनीतिक संस्कृतिमाथिको व्यंग्यको रूपमा हेरिएका छन्।

“यो जोखिम लिन तयार हुनुहुन्छ ?”

आन्दोलनमाथि आलोचना बढिरहेका बेला दीप्केले आलोचकहरूलाई चुनौतीपूर्ण शैलीमा प्रतिक्रिया दिएका छन्। उनले लेखेका छन्—

“CIJ को बारेमा बोल्नु अघि आफैलाई सोध्नुहोस्, के तपाईं अहिले मैले लिइरहेको जोखिम लिन तयार हुनुहुन्छ ?”

उनको यो अभिव्यक्तिलाई समर्थकहरूले “डिजिटल विद्रोह”को स्वर भनेका छन् भने आलोचकहरूले यसलाई “गम्भीर मुद्दालाई मजाकमा बदल्ने प्रयास”को रूपमा व्याख्या गरेका छन्।

युवाको आक्रोश कि इन्टरनेट ट्रेन्ड ?

विश्लेषकहरूका अनुसार ककरोच जनता पार्टीको लोकप्रियता भारतीय इन्टरनेट संस्कृतिमा बढ्दो राजनीतिक व्यंग्यको संकेत हो। परम्परागत राजनीतिक दलप्रति निराश युवा पुस्ताले अब मीम, व्यंग्य र डिजिटल अभियानमार्फत आफ्नो असन्तुष्टि व्यक्त गर्न थालेका छन्।

खाता बन्द गरिएपछि पनि ककरोच जनता पार्टीको चर्चा भने झन् बढेको देखिन्छ। प्रश्न अब केवल एउटा व्यंग्यात्मक अभियानको होइन, सामाजिक सञ्जालमा युवाको राजनीतिक असन्तुष्टि कति गहिरो छ भन्ने बनेको छ।

प्रतिक्रिया