महिला खेलकुद सशक्तीकरणमा नयाँ बहस : ‘वुमन इन स्पोर्ट्स कन्क्लेभ–२०२६’ सम्पन्न
काठमाडौँ । अल नेपाल स्पोर्ट्स फाउण्डेसनले अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भ पारेर स्थानीय जनप्रतिनिधि, खेलकुद निकाय, ओलम्पिक नेतृत्व तथा खेल विज्ञहरूको सहभागितामा ‘वुमन इन स्पोर्ट्स कन्क्लेभ–२०२६’ सम्पन्न गरेको छ। कार्यक्रममा नेपाली खेलकुदमा महिलाको उपलब्धि, चुनौती र अवसरबारे गम्भीर छलफल गर्दै समावेशी तथा सशक्त खेल वातावरण निर्माण गर्नुपर्नेमा जोड दिइएको थियो।
राजधानीमा आयोजित कार्यक्रममा खेलकुदमा महिलाले सामना गरिरहेका अवरोधहरू हटाउने, नेतृत्व विकास, लचिलोपन तथा खेलकुदमार्फत आर्थिक सशक्तीकरणका विषयमा व्यापक विचार–विमर्श गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै बागमती प्रदेशकी युवा तथा खेलकुद मन्त्री उर्मिला नेपालले महिला खेलाडीहरूको प्रतिभालाई राज्यले प्राथमिकता दिँदै आवश्यक नीति तथा कार्यक्रम अघि बढाइने बताउनुभयो। उहाँले ब्ल्क्ँ सँग आगामी दिनमा सहकार्य गर्दै महिला खेलकुद प्रवर्द्धनमा थप पहल गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
त्यसैगरी उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष भवानी राणाले महिला नेतृत्व, आर्थिक सशक्तीकरण र खेलकुदबीचको सम्बन्धबारे चर्चा गर्दै खेलकुद पर्यटनको विकासमा निजी क्षेत्रको सक्रिय सहभागिता आवश्यक रहेको बताउनुभयो।
राष्ट्रिय खेलकुद परिषद्का कार्यकारी सदस्य सुवर्ण श्रेष्ठले राष्ट्रिय खेलकुदको विकासका लागि सबै सरोकारवालाबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै यस्ता कार्यक्रमले एकताको सन्देश प्रवाह गर्ने बताउनुभयो।
निर्मला फाउण्डेसनका अध्यक्ष निर्मला भण्डारीले अपाङ्गता भएका व्यक्तिहरूका लागि अनुकूलित खेलकुदको महत्वबारे प्रकाश पार्दै समावेशी खेल संरचना विकास गर्नुपर्नेमा जोड दिनुभयो। मोटरस्पोर्ट्स खेलाडी प्रज्ञा कँडेलले आफ्नो खेल यात्रा सुनाउँदै महिलाले निरन्तर मेहनत र साहसका साथ अघि बढेमा अन्तर्राष्ट्रिय स्तरमा पनि सफलता हासिल गर्न सकिने बताउनुभयो।
कार्यक्रमको मुख्य आकर्षण “बाधा हटाउँदै : खेलाडी यात्रा र लचिलोपन” शीर्षकको प्यानल छलफल थियो। पहिलो सत्रमा राष्ट्रिय टोलीका चर्चित महिला खेलाडीहरू दिपा शाही ९फुटबल०, पुजा महतो ९क्रिकेट०, सुमित्रा रेग्मी ९भलिबल०, ओलम्पियन सन्तोषी श्रेष्ठ ९एथलेटिक्स० तथा कराते खेलाडी आरिका गुरुङले आफ्नो खेल यात्रा, चुनौती र सफलताका अनुभव साझा गरेका थिए । उनीहरूले समाजिक धारणा, पारिवारिक दबाब र पूर्वाधार अभावजस्ता कठिनाइका बाबजुद निरन्तर अभ्यास र आत्मविश्वासले सफलताको बाटो खोल्न सकिने अनुभव सुनाएका थिए।
प्यानलको दोस्रो सत्रमा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, जिल्ला समन्वय समिति प्रमुख सन्तोष बुढाथोकी, तारकेश्वर नगरपालिका उपप्रमुख सिर्जना बुर्लाकोटी, महिला खेल विज्ञ सुलोचना सिजाख्वा तथा खेलकुद पत्रकार मञ्च अध्यक्ष निरञ्जन अधिकारीले नेपालमा महिला खेलकुदको विकास, नीति सुधार, प्रशिक्षण अवसर र खेल पूर्वाधार विस्तारका विषयमा आफ्ना धारणा राख्नुभयो।
नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले खेलकुद नीतिमा समयानुकूल सुधार गर्दै महिला खेलाडीलाई थप अवसर उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो। उहाँले ब्ल्क्ँ ले महिला खेलकुद प्रवर्द्धनका लागि गरेको पहल प्रशंसनीय रहेको उल्लेख गर्दै आगामी दिनमा नेपाल ओलम्पिक कमिटी र फाउण्डेसनबीच सहकार्य विस्तार हुने बताउनुभयो।
त्यसैगरी जिल्ला समन्वय समिति प्रमुख सन्तोष बुढाथोकीले स्थानीय तहबाटै खेलाडीलाई अवसर र प्लेटफर्म उपलब्ध गराउनुपर्नेमा जोड दिँदै स्थानीय , प्रदेश तथा संघ सरकार राष्ट्रिय खेलकुद परिषद् र ओलम्पिक कमिटीबीच समन्वय आवश्यक रहेको बताउनुभयो।
तारकेश्वर नगरपालिका उपप्रमुख सिर्जना बर्लाकोटीले नेपाली खेलकुद क्षेत्रमा महिलाले अझै विभिन्न चुनौती सामना गर्नुपरेको उल्लेख गर्दै महिला खेलाडी सशक्तीकरणका लागि स्थानीय सरकारका तर्फबाट आवश्यक पहल गरिने बताउनुभयो । खेल विज्ञ सुलोचना सिजाख्वाले धेरै महिला खेलाडीले परिवार र खेलकुद करियरबीच सन्तुलन कायम गर्न संघर्ष गर्नुपर्ने अवस्था रहेको औँल्याउनुभयो।
कार्यक्रममा फाउण्डेसनका कार्यकारी निर्देशक सञ्जय अधिकारीले स्वागत मन्तव्य राख्दै नेपालमा महिला खेलकुदलाई अझ व्यवस्थित र अवसरमूलक बनाउने लक्ष्यका साथ फाउण्डेसनले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभयो।
कार्यक्रमकै क्रममा ब्ल्क्ँ ले आगामी जेठ महिनामा छायानाथ अल्ट्रा म्याराथन आयोजना गर्ने घोषणा समेत गरेको छ। आयोजकका अनुसार यो प्रतियोगिता विशेष गरी महिला धाविकाहरूका लागि महत्वपूर्ण प्लेटफर्म बन्ने अपेक्षा गरिएको छ, जसले दुर्गम क्षेत्रका महिलालाई एन्डुरेन्स तथा ट्रेल खेलकुदमा सहभागी हुने नयाँ अवसर प्रदान गर्ने विश्वास गरिएको छ।
उपलब्ध तथ्याङ्कअनुसार नेपालमा संगठित खेलकुदमा केटीहरूको सहभागिता करिब ८ प्रतिशत मात्र रहेको छ भने केटाहरूको सहभागिता करिब २८ प्रतिशत पुगेको छ। यही असन्तुलनलाई कम गर्दै महिला खेलकुदको आवाज बलियो बनाउने उद्देश्यले यस्तो कन्क्लेभ आयोजना गरिएको आयोजकले जनाएको छ।


