नागरिक लगानी कोषलाई ‘ए प्लस’ रेटिङ
काठमाडौं । आईसीआरए (इक्रा) नेपाल लिमिटेडले नागरिक लगानी कोषलाई ‘ए प्लस रेटिङ’ प्रदान गरेको छ । कम्पनीले कोषलाई आईसीआरएएनपी–आईआर ‘ए प्लस’ रेटिङ प्रदान गरेको हो ।
यो रेटिङ प्राप्त गर्नेलाई वित्तीय दायित्वहरूको समयमै सेवा गर्ने सन्दर्भमा पर्याप्त सुरक्षा भएको संस्था मानिन्छ । आईसीआरए नेपालको मूल्यांकन समितिले उक्त निर्णय गरेको हो ।
२०४७ सालमा स्थापना भएको नागरिक लगानी कोषले २०४८ माघ १ गतेदेखि सेवा सुरु गरेको थियो ।
कोषले कर्मचारी बचत वृद्धि अवकाश कोष, उपदान तथा पेन्सन योजना, लगानीकर्ता अवकाश कोष योजना, राष्ट्रसेवक कर्मचारीको जीवन बीमा कोष, नागरिक एकांक योजना, नागरिक पेन्सन योजना र नेपाल कृषि अनुसन्धान परिषद् बीमा कोष जस्ता कार्यक्रम सञ्चालन गरिरहेको छ । हाल कोषमा करिब ७ लाखभन्दा बढी सहभागी हुनुहुन्छ ।


