११ मंसिर २०८३, शुक्रबार | November 27, 2026

बैंक खाता रोक्का हुने चेतावनीपछि सम्पर्कमा आए ४७ ठगीका आरोपित, ११ सय अझै फरार


November 27, 2026
415
Shares

काठमाडौं । वैदेशिक रोजगारीमा पठाइदिने प्रलोभन देखाएर श्रमिकको रकम ठगी गर्नेविरुद्ध वैदेशिक रोजगार विभागले बैंक खाता रोक्का गर्ने चेतावनी दिएपछि ४७ जना आरोपित विभागको सम्पर्कमा आएका छन्।

विभागले ठगीमा संलग्न रहेको आरोपमा पक्राउ पुर्जी जारी भएका व्यक्तिहरूलाई ३५ दिनभित्र उपस्थित हुन निर्देशन दिएपछि उनीहरू सम्पर्कमा आएका हुन्। विभागको सम्पर्कमा पुगेका ४७ जनाले पीडित श्रमिकसँग मिलापत्रसमेत गरिसकेको विभागले जनाएको छ।

विभागले गत कात्तिक १९ गते पक्राउ पुर्जी जारी भएका व्यक्तिहरूलाई पत्राचार गर्दै तोकिएको समयभित्र उपस्थित नभए ठगीमा प्रयोग भएका बैंक खाता रोक्का गर्ने चेतावनी दिएको थियो।

विभागको तथ्याङ्कअनुसार वैदेशिक रोजगार ठगीसम्बन्धी कसुरमा हालसम्म १ हजार २१८ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। तीमध्ये ४७ जना मात्रै विभागको सम्पर्कमा आएका छन् भने बाँकी १ हजार १७१ जना अझै फरार सूचीमा छन्।

तोकिएको ३५ दिनको समयसीमाभित्र उपस्थित नभएका आरोपितहरूको बैंक खाता रोक्का गर्ने प्रक्रिया अघि बढाउन विभागले सम्बन्धित शाखालाई निर्देशन दिइसकेको छ। म्याद समाप्त भएलगत्तै बैंक खाता रोक्काका लागि नेपाल राष्ट्र बैंकमा पत्राचार गरिने विभागको तयारी छ।

वर्षौँदेखि पक्राउ पुर्जी जारी भए पनि विभागको सम्पर्कमा नआएका ठगीका आरोपितलाई कानुनी दायरामा ल्याउन वित्तीय कारोबार रोक्का गर्ने रणनीति अघि सारिएको हो।

बैंक खाता रोक्का हुने चेतावनीपछि ४७ जना सम्पर्कमा आए पनि अझै ठूलो सङ्ख्यामा आरोपित फरार रहेकाले विभागले अब उनीहरूमाथि वित्तीय कारोबारमार्फत दबाब सिर्जना गर्ने तयारी गरेको छ।

प्रतिक्रिया