२६ माघ २०८२, सोमबार | February 9, 2026

सिन्धुपाल्चोक–२ : तीन ठूला दललाई टक्कर दिँदै राप्रपाका युवा नेता गोपिकृष्ण चौलागाईं


February 9, 2026
8.5k
Shares

सिन्धुपाल्चोक–२ मा प्रतिनिधिसभा सदस्य निर्वाचनको माहोल दिनप्रतिदिन तातिँदै गएको छ। आगामी निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले इन्जिनियर पृष्ठभूमिका युवा नेता ई। गोपिकृष्ण चौलागाईंलाई उम्मेदवारका रूपमा अघि सारेपछि यहाँको राजनीतिक समीकरण नयाँ मोडमा प्रवेश गरेको छ। नेपाली कांग्रेस, नेकपा एमाले , नेकपा र राष्ट्रिय स्वतन्त्र पार्टीजस्ता ठूला राजनीतिक शक्तिसँग प्रत्यक्ष प्रतिस्पर्धामा उत्रिएका चौलागाईंले छोटो समयमै निर्वाचन क्षेत्रमा बलियो प्रभाव जमाउन सफल भएका छन्।

भौतिक पूर्वाधार विकास, सुशासन, रोजगारी सिर्जना र युवामैत्री नीतिलाई मुख्य एजेन्डा बनाएर चुनावी मैदानमा होमिएका चौलागाईं अहिले गाउँ–गाउँ, टोल–टोल पुग्दै मतदातासँग प्रत्यक्ष संवादमा जुटिरहेका छन्। देशको राजनीति क्रमशः ‘जेन–जी’ पुस्तातर्फ मोडिन थालेको वर्तमान सन्दर्भमा, युवा पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने राप्रपाको रणनीतिले सिन्धुपाल्चोक–२ मा नयाँ उत्साह र भरोसा जगाएको छ। उनको घरदैलो अभियानले राप्रपाका नेता–कार्यकर्तामा मात्र होइन, सर्वसाधारण मतदातामा समेत सकारात्मक माहोल सिर्जना गरिरहेको छ।

राप्रपाका पूर्व अध्यक्ष तथा प्रभावशाली नेता पशुपतिशमशेर जबराको राजनीतिक विरासत थाम्ने चुनौती अहिले चौलागाईंको काँधमा आएको छ। जबराले आफ्नो उत्तराधिकारीका रूपमा अघि सारेका युवा नेताका रूपमा चिनिएका उनी पार्टीभित्र मात्रै होइन, जिल्लावासीबीच पनि आशालाग्दा र भरोसायोग्य नेताका रूपमा स्थापित हुँदै गएका छन्। संगठन निर्माण, नीति निर्माण र जनसम्पर्कमा लामो अनुभव बटुलेका चौलागाईं नगर सदस्य, जिल्ला सदस्य हुँदै बागमती प्रदेश सदस्यको जिम्मेवारी सफलतापूर्वक निर्वाह गरिसकेका अनुभवी नेता हुन्।

इन्जिनियरिङ पृष्ठभूमिका चौलागाईंले करिब एक दशक सञ्चार क्षेत्रमा समेत काम गरेका छन्। प्रविधि, विकास र जनचासोका विषयलाई नजिकबाट बुझ्ने उनको अनुभवले उनलाई अन्य उम्मेदवारभन्दा पृथक र व्यवहारिक नेता बनाएको छ। उनी नेपाल इन्जिनियर्स एसोसिएसनका उपमहासचिव पदका उम्मेदवारसमेत रहिसकेका छन्। सरकारी विद्यालयबाट अध्ययन गरी छात्रवृत्तिमा उच्च शिक्षा हासिल गरेका चौलागाईं शैक्षिक रूपमा पनि अब्बल मानिन्छन्। जीवनका हरेक चुनौतीलाई अवसरका रूपमा लिने उनको संघर्षशील स्वभाव नै आजको राजनीतिक यात्राको बलियो आधार बनेको छ।

राजनीतिसँगै समाजसेवामा पनि उत्तिकै सक्रिय चौलागाईं आर्थिक रूपमा सक्षम भएसँगै सामाजिक काममा निरन्तर अग्रसर हुँदै आएका छन्। बाटोघाटो निर्माण, मन्दिर संरक्षण, विपन्न परिवारलाई सहयोग, आपत्–विपत्मा साथ दिनेजस्ता कार्यमा उनी सधैं अग्रमोर्चामा देखिन्छन्। उनको राजनीतिक दर्शन एकै वाक्यमा प्रस्ट हुन्छ—
“भ्रष्टाचार गरेर खानु भनेको आमाको रगत खानु सरह हो।”
यो भनाइले उनको नैतिकता, इमानदारी र नेतृत्वशैलीलाई स्पष्ट रूपमा उजागर गर्छ।

यसपटकको निर्वाचनमा सिन्धुपाल्चोक–२ मा मुख्य प्रतिस्पर्धा नेपाली कांग्रेसका उम्मेदवारसँग हुने देखिए पनि नेकपा र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरूले मत विभाजन गर्ने सम्भावना उच्च छ। यस्तो अवस्थामा राप्रपाका उम्मेदवार चौलागाईं बलियो वैकल्पिक शक्तिका रूपमा उदाउँदै गएका छन्। स्थानीय तहमा बढ्दो समर्थन, युवापुस्ताको आकर्षण र विकासप्रति स्पष्ट दृष्टिकोणका कारण उनी ठूला दलका लागि चुनौती बनेका छन्।

मतदाताका दृष्टिले अहिले सिन्धुपाल्चोक–२ नयाँ राजनीतिक विकल्पको खोजीमा रहेको देखिन्छ। अनुभव, युवा ऊर्जा र विकासमुखी नीतिलाई एकसाथ बोकेको ई। गोपिकृष्ण चौलागाईंको उम्मेदवारीले यहाँको चुनावी परिदृश्यलाई गतिशील, प्रतिस्पर्धात्मक र आशापूर्ण बनाएको छ। निर्वाचनको अन्तिम निर्णय मतपेटिकाबाटै आउने भए पनि, उनको चुनावी उपस्थितिले सिन्धुपाल्चोक–२ लाई यसअघिभन्दा निकै रोचक र अर्थपूर्ण बनाएको छ।

युवा नेता चौलागाईंको सक्रियता, स्पष्ट दृष्टिकोण र जनतासँगको घनिष्ठ सम्बन्धका कारण यसपटक सिन्धुपाल्चोक–२ मा राप्रपाले समेत ऐतिहासिक नतिजा हासिल गर्न सक्ने बलियो सम्भावना देखिन थालेको राजनीतिक विश्लेषकहरूको ठहर छ। चुनाव नजिकिँदै जाँदा यहाँको प्रतिस्पर्धा अझ कडा र रोमाञ्चक बन्दै जाने निश्चित छ।

प्रतिक्रिया