१० माघ २०८२, शनिबार | January 24, 2026

प्रयोगशालाबाट संसदतर्फ : कैलाली–५ मा आनन्द चन्दको नयाँ यात्रा


January 24, 2026
664
Shares

काठमाडौं । कुनै समय पाटन बहुमुखी क्याम्पसको प्रयोगशालामा विद्यार्थीलाई जैविक रसायनशास्त्र पढाइरहेका आनन्द चन्द आज फरक जिम्मेवारी बोकेर मैदानमा छन्। दशकौँदेखि शिक्षा, अनुसन्धान र जनस्वास्थ्य अभियानमा सक्रिय चन्द अब प्रतिनिधिसभा निर्वाचनमा कैलाली–५ बाट उम्मेदवार बनेका छन्—राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को तर्फबाट।

पुर्ख्यौली थलो बैतडी भए पनि चन्दको जीवन यात्रा कैलालीसँगै जोडिएको छ। परिवारसँगै कैलाली झरेपछि उनले यही भूमिलाई कर्मथलो बनाए। हाल धनगढी उपमहानगरपालिका–८ का बासिन्दा चन्दलाई यहाँका नागरिकले शिक्षक, अनुसन्धानकर्ता र जनस्वास्थ्य अभियन्ताका रूपमा चिन्छन्—परम्परागत राजनीतिज्ञका रूपमा होइन।

१७ वर्षभन्दा बढी समय त्रिभुवन विश्वविद्यालय अन्तर्गत पाटन बहुमुखी क्याम्पसमा उपप्राध्यापकका रूपमा बिताएका चन्द जैविक रसायनशास्त्रमा स्नातकोत्तर हुन्। त्रिभुवन विश्वविद्यालय र अमेरिकाको नर्थ क्यारोलिना ए एन्ड टी स्टेट युनिभर्सिटीको सहकार्यमा पीएचडी अध्ययन पूरा गरेका उनी अध्ययन–अनुसन्धानमै रमाउने व्यक्ति हुन्। उनका अनुसन्धानहरू अन्तर्राष्ट्रिय जर्नलहरूमा प्रकाशित छन्।

तर चन्दको परिचय कक्षाकोठामा मात्र सीमित रहेन। उनले लामो समयदेखि सुर्तीजन्य पदार्थ नियन्त्रण र नसर्ने रोगविरुद्धको अभियानमा अग्रणी भूमिका खेल्दै आएका छन्। सुर्तीजन्य पदार्थमा चित्रसहित चेतावनी, सार्वजनिक स्थलमा धूम्रपान निषेध, तथा सुर्तीजन्य पदार्थको विज्ञापन नियन्त्रणजस्ता नीतिमा सरकारलाई दबाब दिनेदेखि नीतिगत सहयोगसम्म उनी सक्रिय रहे।

राजनीतिमा उनको प्रवेश आकस्मिक होइन। “नीति गलत हुँदा त्यसको असर प्रत्यक्ष जनस्वास्थ्यमा पर्छ,” भन्ने विश्वासका साथ उनी अहिले नीति निर्माणकै केन्द्र—संसद—सम्म पुग्ने प्रयासमा छन्। यही कारण रास्वपाले कैलाली–५ मा उनलाई उम्मेदवार बनाएको बताइन्छ।

कैलाली–५ मा नेपाली कांग्रेसबाट नरनारायण शाह र नेकपा ९एमाले०बाट प्रेम आले जस्ता स्थापित राजनीतिक अनुहार प्रतिस्पर्धामा छन्। यस्तो अवस्थामा चन्दको उम्मेदवारीलाई परम्परागत राजनीतिभन्दा फरक पृष्ठभूमि, फरक एजेन्डा र फरक शैलीको प्रतिनिधित्वका रूपमा हेरिएको छ।

शनिबारदेखि प्रचारमा उत्रिएका चन्द जनस्वास्थ्य, शिक्षा, सुशासन र प्रमाणमा आधारित नीति निर्माणलाई आफ्नो मुख्य एजेन्डा बताउँछन्। नाराभन्दा तथ्य, भाषणभन्दा समाधान र व्यक्तिभन्दा प्रणाली परिवर्तनमा जोड दिने उनको भनाइ छ।

प्रयोगशालामा सत्य खोज्ने वैज्ञानिक दृष्टि र सडकदेखि नीतिनिर्माणसम्म संघर्ष गरेको अभियन्ता अनुभव लिएर संसद छिर्ने आनन्द चन्दको यात्राले कैलाली–५ को चुनावलाई यसपटक फरक अर्थ दिने संकेत देखिएको छ।

प्रतिक्रिया