२५ पुस २०८२, शुक्रबार | January 10, 2026

कार्पेट बिछ्याएझैँ थुम्का–थुम्कामा फैलिएका इलामको कन्याम चिया बगान !


January 8, 2026
0
Shares

इलामको सुर्योदय नगरपालिकामा अवस्थित कन्याम—जहाँ प्रकृतिले आफैंलाई सबैभन्दा सुन्दर रूपमा प्रस्तुत गरेको छ।

मेची राजमार्गमै पर्ने कन्याम देशकै प्रमुख पर्यटकीय स्थलहरूमध्ये एक हो। बाह्रै महिना आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लागिरहने यो स्थान विशेष गरी हरियाली चिया बगानका कारण सबैको मन जित्न सफल भएको छ।

कार्पेट बिछ्याएझैँ थुम्का–थुम्कामा फैलिएका चिया बगान,लस्करै उभिएका धुपीका बोट,
र नाकबेली परेका बाटाहरू—यिनै दृश्यले इलामको परिचय दिन्छ,र कन्याम त्यसैको उत्कृष्ट उदाहरण हो।
कन्यामबाट श्रीअन्तु, समालबुङ, पशुपतिनगरको हरियाली दृश्य र मौसमले साथ दिए सगरमाथा र कुम्भकर्ण जस्ता विश्वप्रसिद्ध हिमालहरूको मनोरम झल्को पनि देख्न सकिन्छ।

कन्यामको बीच भागमा रहेको लभडाँडा पर्यटकको विशेष आकर्षण हो।यहाँ पिकनिक स्पट, दृश्यावलोकन स्थल,र घोडचढी जस्ता मनोरञ्जनात्मक सेवाहरू उपलब्ध छन्।
गर्मी छल्न झापा, मोरङ, सुनसरीलगायत तराईका जिल्लाबाट र छिमेकी देश भारतबाट समेत ठूलो सङ्ख्यामा पर्यटकहरू यहाँ वनभोज र घुमफिरका लागि आउँछन्।
चिसो सिरेटो,क्षण–क्षणमा बहकिने भुँइकुहिरो इलामको मौसम आफैंमा एउटा अनुभव हो,
जसले आगन्तुकसँग लुकामारी खेलेझैँ लाग्छ।

इलाम केवल गन्तव्य होइन,यो प्रकृतिले कोरेको क्यानभास हो। सायद यही सौन्दर्यले कवि भूपी शेरचनलाई भन्न बाध्य बनायो—“देशभर नै अली–अली इलाम छरिदिन मन लाग्यो।”

घुमफिरका सौखिनहरूका लागि इलाम सधैं खुला आमन्त्रण हो—कहिले कन्यामको चिया बगानमा हराउन,कहिले श्रीअन्तुमा झुल्कँदो घाम हेर्न,र कहिले माइपोखरीको सौन्दर्यमा रमाउन।

इलामको स्वागतद्वार सानो पाथीभराबाट सुरु हुने यो यात्रा अन्ततः तपाईंलाई
कन्यामको काखमै ल्याएर छाड्छ—जहाँ प्रकृति, शान्ति र सौन्दर्य एकैसाथ अनुभूति गर्न सकिन्छ।

प्रतिक्रिया