‘डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँ’
काठमाडौँ, २४ मङ्सिर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै गम्भीरतापूर्वक लाग्नुपर्नेमा जोड दिनुभएको छ । सञ्चारिका समूह नेपालले सोमबार काठमाडौमा आयोजना गरेको ‘लैंगिक हिंसा र सञ्चार माध्यमको भूमिका’ विषयक अन्तरक्रियामा मन्त्री खरेलले डिजिटल हिंसाबाट जोगिन पत्रकार महिलाहरुको दोहोरो जिम्मेवारी रहेको बताउनुभयो ।
मन्त्री खरेलले भन्नुभयो,“म पत्रकार महिला साथीहरुलाई आग्रह गर्न चाहन्छु, तपाँइहरुको दोहोरो जिम्मेवारी छ, ‘पहिला आफू सुरक्षित रहने र यस क्षेत्रलाई सुरक्षित राख्ने’ पनि दायित्व छ । त्यसैले हाम्रा कन्टेन्ट, स्टोरीहरु र एडभोकेसीहरु कम्तिमा डिजिटल हिसाहावाट मुक्त गर्ने किसिमको हुनुपर्यो ।”
सञ्चारमन्त्री खरेलले अहिले लैंगिक हिंसाको प्रवृत्ति र शैली परिवर्तन भएकाले त्यसबाट सुरक्षित रहेर डिजिटल हिंसा विरुद्धका अभियान सञ्चालन गर्न जरुरी भएको उल्लेख गर्नुभयो । “तपाँई परिवारमाझ हुनुहुन्छ, आफु सुरक्षित रहेको अनुभूति गर्नुहुन्छ, तर तपाँइको मोबाइलमा आइरहेका सामाजिक सञ्जालका विभिन्न सामग्रीले तपाँईलाई असुरक्षित महशुस गराउनसक्छ । त्यसैले डिजिटल माध्यमबाट हुने हिंसाको बहस सुरु गर्नु अपरिहार्य छ । किनकी प्रविधिले सहजतासँगै त्रास पनि ल्याएको छ, यसको सहि सदुपयोग गरिनुपर्छ ।”
मन्त्री खरेलले देश र समाज विस्तारै समतालाई आत्मसाथ गर्दै समानताको बाटोमा अघि बढिरहेको तथा आज हरेक हिसावले महिलाहरु राजनीतिक, निजामती, पत्रकारितामा तथा समाजका विभिन्न पद र प्रतिष्ठाहरुमा आइराख्दा यसले ठूलो अर्थ दिने उल्लेख गर्नुभयो ।
सञ्चारमन्त्री खरेलले प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटघाटको संयोजको प्रसङ्ग जोड्दै अगाडि थप्नुभयो,“संयोगले त्यो भेटघाटको चाजोपाँजो मिलाउने सन्दर्भमा दुई ऐतिहासिक व्यक्तित्वहरुसँग अन्तरंग कुराकानी भयो । त्यसक्रममा पूर्वराष्ट्रपति भण्डारीले भन्नुभयो,‘थाहा छ जगदीशजी तपाँइहरु पुरुष, हामी महिला । तपाँइहरुले एउटा सिन्को भाच्दा, हामीले तीनवटा सिन्का भाच्नुपर्छ, हामी त्यति दुःख गरेर आएका छौँ, त्यसमा नेपाली महिलाहरुले आफ्नो करियरको लागि जीन्दगीमा गरेको संघर्षको प्रतिक हो ।”
उहाँले ‘आज जो जति महिला पत्रकारहरुले संघर्ष गरेर यहाँसम्म आउनुभएको छ, तपाँइहरुको संघर्ष नेपाली सञ्चारमाध्यमको लागि अनुपम, अद्धितीय र विशेष छ’ भन्नुभयो । सरकारका प्रवक्ता समेत रहनुभएका सञ्चारमन्त्री खरेलले सरकारले निर्धारित समयभित्रै निर्वाचन सम्पन्न गर्ने तथा जेनजी आन्दोलनको भावना अनुरुप सुशासन कायम र भ्रष्ट्राचार नियन्त्रणका लागि तीब्रताका साथ काम गरिरहेको उल्लेख गर्नुभयो । उहाँले भ्रष्ट्राचार र अनियमिततासम्बन्धी ठूला प्रकृतिका २५ भन्दा बढी फाईल सरकारले अगाडि बढाइसकेको जानकारी दिनुभयो ।
सञ्चार मन्त्रालयका सचिव राधिका अर्यालले पछिल्लो समय डिजिटल हिंसा बढिरहेको भन्दै यसको न्यूनीकरणका लागि सबै एकजुट भएर लाग्नुपर्ने खाँचो औंल्याउनुभयो । उहाँले लैंगिक हिंस मानवअधिकारको बाधक भएको बताउनुभयो । सञ्चारिका समूहका अध्यक्ष कमला पन्थीले डिजिटल हिंसा विरुद्ध सञ्चार माध्यमको भूमिका प्रभावकारी हुनुपर्नेमा जोड दिनुभयो । क्रियाशील पत्रकार महिला ९डब्लुडब्लुजे० का अध्यक्ष रामकला खड्का र प्रेस काउन्सिल नेपालका सदस्य निमा काफ्लेलगायतले कार्यस्थलको हिंसा कायमै रहेको र डिजिटल हिंसा पनि बढिरहेको उल्लेख गर्नुभयो ।


