महिला कलाकारको हितमा भ्यानिटी भ्यानबारे बोल्दा मजाक बनाइयो : नीति शाह,अभिनेत्री
हालै मेरो एउटा भनाइ सामाजिक सञ्जालमा धेरै चर्चामा आएको छ। धेरैले यसबारे आ–आफ्नो धारणा व्यक्त गर्नुभएको देखेकी छु, त्यसैले म केही कुरा स्पष्ट गर्न चाहन्छु।हामीलाई नेपाल चलचित्र विकास बोर्डका कार्यकारी अध्यक्ष दिनेश डीसी सरले, सूचना तथा सञ्चार प्रविधि मन्त्रालयको तर्फबाट, नेपाली चलचित्र उद्योगका समस्या, अवसर र सुधारका उपायबारे छलफल गर्न निमन्त्रणा गर्नुभएको थियो। केहीले भन्नुभयो कि मैले बोल्ने विषय त्यहाँको लागि उपयुक्त थिएन, तर म स्पष्ट भन्न चाहन्छु ।।
त्यो नै सही समय र ठाउँ थियो। हामीलाई उद्योगका समस्या र सुधारका विषयमा बोल्न बोलाइएको थियो, र मैले त्यसैबारे बोलेँ। त्यो अवसरमा मैले एउटा सानो अनुभव बाँडेकी थिएँ। हामी काठमाडौं बाहिर छायांकन गर्दै थियौं। मसँग एक भारतीय मोडेल थिइन्, जसले वाशरूम र भ्यानिटी भ्यानबारे सोधिन्। दुर्भाग्यवश, त्यहाँ भ्यानिटी भ्यान थिएन, र हामीले आफ्नो टिमको भाडाको बसभित्रै कपडा फेर्नुपर्यो। यही हाम्रो काम गर्ने वास्तविक अवस्था हो, र मैले यो कुरा आदरणीय मन्त्री जगदीश खरेल सरलाई आफ्नो अनुभवका रूपमा बाँडेकी थिएँ। हाम्रो देशमा संगीत भिडियो, चलचित्र छायांकनका क्रममा विशेषगरी महिलाहरूका लागि आधारभूत सुविधा नहुँदा पर्ने समस्या देखाउन चाहेको हो।
मैले यो पनि सुझाव दिएकी थिएँ कि यदि सम्भव भए, यस्ता भ्यानिटी भ्यान वा आधारभूत सुविधा बनाउन केही सहयोग वा कोषको व्यवस्था गर्न सकिन्छ। म जान्दछु, यो प्रत्यक्ष रूपमा मन्त्रालयको जिम्मेवारी होइन, तर उहाँले निजी निर्माण कम्पनीहरूले यस्ता सुविधा खरिद गर्न सकून् भनेर सरकारी करमा छुट दिने विषयमा विचार गर्ने बताउनुभयो, जुन सुन्न पाउँदा मलाई खुशी लाग्यो। मेरो उद्देश्य महिला कलाकारको पक्षमा बोल्नु थियो। किनभने म आफैंले र धेरै महिलाले यस्ता समस्या पटक–पटक भोगेका छौं। कहिलेकाहीँ छायांकनका क्रममा हामी गाउँ–टोलका घरहरूमा गएर कपडा फेर्न अनुमति माग्नुपर्छ, र कहिलेकाहीँ सम्भव नभए भाडा बसमा कपडा फेर्नुपर्छ। यस्तो अवस्था कुनै पनि कलाकारका लागि सहज होइन।
अब म सोध्न चाहन्छुरु जब हामीलाई यी विषयमा छलफल गर्नकै लागि निमन्त्रणा गरिएको थियो, तब सम्बन्धित निकायलाई यस्ता समस्या बताउनमा के गलत छरु मेरो उद्देश्य केवल आफ्नो अनुभव साझा गर्नु र ती महिला कलाकारहरूको आवाज बन्नु हो, जसले यस्ता कठिनाइहरू भोग्छन् तर बोल्ने अवसर पाउँदैनन्। दुःखको कुरा, जब यस्ता विषयहरू उठाइन्छन्, धेरैले त्यसलाई मजाकको रूपमा लिन्छन् वा तोडमोड गर्छन्। केहीले भन्छन्, भ्यानिटी भ्यान वा उचित परिवर्तन कक्ष बनाउनु मन्त्रीको काम होइन, उहाँसँग ठूला जिम्मेवारी छन्। तर म यो भन्न चाहन्छु कि कलाकारले काम गर्ने वातावरण सुरक्षित, सम्मानजनक र सहज बनाउनु पनि हाम्रो उद्योगको जिम्मेवारी हो। र चलचित्र उद्योग सूचना तथा सञ्चार प्रविधि मन्त्रालयअन्तर्गत पर्नाले, यस्तो विषय उहाँहरूसमक्ष राख्नु पूर्ण रूपमा उचित हो।
सफा शौचालय र निजी रूपमा कपडा फेर्ने सुरक्षित स्थान कुनै विलासिता होइन, यो आधारभूत अधिकार हो। शहर होस् वा गाउँ, महिला कलाकारहरूले यस्ता सुविधा पाउनुपर्छ। यद्यपि केही ठाउँमा भ्यानिटी भ्यान वा टेन्ट उपलब्ध हुन सक्छन्, ती धेरै कम छन्, र प्रायः हामीसँग कुनै विकल्प हुँदैन।त्यसैले, यस्ता विषयलाई हाँसो वा हल्का रूपमा नलिई, यसलाई कलाकारको गरिमा, सुरक्षा र पेशागत सम्मानसँग जोडिएको विषयको रूपमा लिन आवश्यक छ। हामी सबै मिलेर चलचित्र क्षेत्रमा काम गर्ने सबै कलाकारका लागि आधारभूत सुविधा सुनिश्चित गर्न सक्यौं भने, त्यो सम्पूर्ण उद्योगकै सम्मान हुनेछ। नीति शाहको वालबाट


