‘रूपान्तरणको आवश्यकताको सत्य स्वीकार गर्न नसक्नेहरु पछाडि परिसके’

काठमाडौं,४ कात्तिक । आर्थिक विश्लेषक एवं आर्थिक विश्लेषक ऋषभ भट्टराईले रूपान्तरणको आवश्यकताको सत्य स्वीकार गर्न नसक्ने व्यक्ति वा शक्ति, नवीन यात्रामा पछाडि परिसकेको टिप्पणी गरेका छन् ।
लोकप्रिय सामाजिक संजाल फेसबुकमार्फत बैंकर समेत रहेका भट्टराईले लेखेका छन्, ‘वहुलवाद हाम्रो समाजको आधारभूत मूल्य हो, र “विविधतामा एकता” त्यस मूल्यको जीवन्त अभिव्यक्ति हो। पार्टीभित्र पनि विभिन्न धार, दृष्टिकोण र बहुल विचारहरू विद्यमान छन्— यो यथार्थता सबैले स्वीकार गर्नैपर्छ।’
तर अहिले पार्टीहरू मात्र होइन, देशका मुख्य संस्थाहरू समेत सामान्य टालटुले सुधारले पुग्ने अवस्थामा नरहेको भन्दै उनले मक्किँदै गएको संरचनाले अब थेग्न नसक्ने स्पष्ट पारेका छन् । रुपान्तरण आजको अपरिहार्य आवश्यकता भएको उनको ठहर छ।
‘रूपान्तरण सबैको एजेन्डा बनेको छ भने, त्यसको बाटोबारे हुने स्वस्थ बहसलाई सकारात्मक र स्वाभाविक रूपमा लिनु जरुरी छ। “वादे वादे जायते तत्वबोधः”—अर्थात्, वाद–विवादमै सत्यको उदय हुन्छ। स्वस्थ बहस र विचार–विमर्शले मात्र जोखिम घटाउॅंदै संस्थागत रूपान्तरणलाई सम्भव बनाउँछ। यो रूपान्तरणको आवश्यकताको सत्य स्वीकार गर्न नसक्ने व्यक्ति वा शक्ति, नवीन यात्रामा स्वयम् पछाडि परिसकेका हुनेछन्।’–उनले लेखेका छन् ।