निर्वाचनमा भाग लिन र ४० प्रतिशत युवा प्रतिनिधित्व सुनिश्चित गर्न कांग्रेस आवद्ध युवाहरुको माग

काठमाडौं, ९ असोज । नेपाली कांग्रेसको विभिन्न संगठनमा आवद्ध युवाहरुले आगामी फागुन २१ मा घोषणा भएको प्रतिनिधिसभाको निर्वाचनमा भाग लिन आफ्नो पार्टीसहित सबै राजनीतिक दलमा आग्रह गरेका छन् । आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै नेपाल विद्यार्थी संघ, नेपाल तरुण दललागयतका विभिन्न संगठनका पूर्व पदाधिकारीहरुले आसन्न निर्वाचनमा भाग लिन आफ्नो दललगायत सबै राजनीति दललाई आग्रह गरेका हुन् ।
त्यस्तै, आम निर्वाचनमा पार्टीको तर्फबाट ४० प्रतिशत युवा उम्मेदवारको प्रतिनिधित्व सुनिश्चित गरी स्वच्छ छवि भएका क्षमतावान व्यक्तिलाई उम्मेदवार बनाउनसमेत माग गरिएको छ । त्यस्तै, पार्टीको १५औं महाधिवेशन विधानबमोजिम २०८२ मंसिरभित्र गर्न केन्द्रीय समितिको बैठक डाकी आवश्यक तयारी गर्न पनि आग्रह गरिएको छ । यदि महाधिवेशन हुन नसकेको खण्डमा केन्द्रीय समितिलार्य भंग गरी ६ महिनाभित्र महाधिवेशन सम्पन्न गर्नेगरी महाधिवेशन आयोजक समिति गठन गर्नसमेत माग गरिएको छ । आयोजक समितिमा भएका सदस्यहरुले महाधिवेशनमा भाग लिन नपाउने व्यवस्था गर्न पनि माग गरिएको छ ।
त्यस्तै, कांग्रेस भित्र र बाहिर भ्रष्टाचार उन्मुलन अभियान युवाहरुको अगुवाइमा सञ्चालन गर्न, जेन–जी आन्दोलनको क्रममा भएको भौतिक क्षतिमा निःशुल्क रुपमा इन्जिनियरिङका काम सुरु गर्न र सहयोग गर्नसमेत भनिएको छ ।
नेपाल विद्यार्थी संघका पूर्व अध्यक्ष एवं संविधान सभा सदस्य रञ्जित कर्णले पार्टी सकिने कि सच्चिने भन्ने विषम परिस्थितिमा रहेको बताए । उनले कांग्रेसले आफूलाई परिस्कृत गर्न नसकेको खण्डमा जनताबाट बहिस्कृत हुनुपर्ने पनि बताए । ‘आज हामी सकिने कि सच्चिने ? जनताको अपेक्षाअनुसार हामीले काम गर्न सकेनौं भने, आफूलाई हामीले परिवर्तन गर्न सकेनौं भने जनताबाट हामी बहिस्कृत हुनुपर्ने हुन्छ । अब हामीसँग कुनै किसिमको समय छैन । कांग्रेसभित्र पनि हामीले केही परिवर्तन गर्नुपर्ने हुन्छ,’– उनले भने ।
उनले जेन–जी पुस्ताको आन्दोलन आफूहरुको पनि आन्दोलन रहेको बताए । उक्त आन्दोलनलाई आफूहरुको पूर्ण स्वागत रहेको पनि उनले बताए । नेपाल विद्यार्थी संघका पूर्व अध्यक्ष कर्ण, कोशी प्रदेशका पूर्व मुख्यमन्त्री एवं नेविसंघकापूर्व केन्द्रीय सदस्य केदार कार्की, नेपाल तरुण दलका पूर्व महासचिव भूपेन्द्रजंग शाही, नेविसंघका पूर्व कोषाध्यक्ष बद्री अर्याल, नेविसंघका पूर्व उपाध्यक्ष विजुला वर्मा, नेविसंघका पूर्व उपाध्यक्ष पुष्पकुमार शाही, नेविसंघका पूर्व महामन्त्री सरोजकुमार थापा, आदिवासी जनजाति महासंघका महामन्त्री मनहरि श्रेष्ठ, नेविसंघका पूर्व महामन्त्री दीपक भट्टराई, नेविसंघ पूर्व उपाध्यक्ष नवीन राई, मोति भण्डारीलगायतले मागप्रति ऐक्यवद्धता जनाएका छन् ।