इम्बोस्ड नम्बर प्लेट बहिष्कार गरी जडान अवज्ञा गर्न आजदेखि ज्ञापनपत्र बुझाउने

काठमाडौं, ९ भदौ । देवनागरी लिपीको नेपाली भाषालाई समाप्त पार्ने खेलअन्तर्गत सरकारले इम्बोस्ड नम्बर प्लेट जडानको लागि उर्दी जारी गरेको भन्दै जाग नेपाली अभियानले आपत्ति जनाएको छ । आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै जाग नेपालीका संयोजक डा.दिपेश केसीले देवनागरी लिपीलाई मेटाएर जात, जाति, भाषा भाषी समुदायलाई छिन्नभिन्न पार्ने र एकआपसमा लडाएर देशलाई रगतको आहालमा परिणत गर्ने खेल भइरहेको बताए ।
‘देवनागरी लिपी यो देशको एकताको प्रतीक हो । तराईको एउटा मधेशीले पनि यो लिपी बुझ्छ, पहाडको पहाडीले पनि यो लिपी बुझ्छ र हिमालको एउटा हिमालीले पनि यो लिपी बुझ्छ, चिन्छ । यो लिपीलाई मेटाएर यो देशको जात, जाति, भाषा भाषी समुदायलाई छिन्नभिन्न पारेर, लडाएर यो देशलाई रगतको आहालमा डुबाउन खोजिएको छ । यो देशमा हामी हामीलाई लडाउने खेल भइरहेको छ,’– उनले भने ।
जाग नेपाली अभियानले नेपालको धर्म, संस्कृति, परम्परा, भाषा, लिपिमाथि योजनाबद्ध आक्रमण हुँदै आएको बताएको छ । नेपालको गौरवशाली सम्पदाहरु नै सखाप पारेर नेपाल र नेपालीको अस्तित्व समाप्त पार्ने ग्रान्डडिजाइनको पछिल्लो तारो देवनागरी लिपी बनेको जाग नेपाली अभियानको निष्कर्ष छ ।
इम्बोस्ड नम्बर जडानको सन्दर्भमा राज्यका जिम्मेवार निकायमा रहेकाहरुलाई नै प्रभावित पारिएको र अरबौं कमिशनको खेल भएको जाग नेपाली अभियानको ठहर छ ।
‘पहिचान मेट्नेगरी योजनावद्ध रुपमा भएका पड्यन्त्रको पछिल्लो कदम अनुसार केपी शर्मा ओली नेतृत्वको सरकारलाई प्रभावित पारेर यातायात व्यवस्था विभागले १ असोज २०८२ बाट अनिवार्य इम्बोस्ड नम्बर प्लेट जडानको उर्दी जारी गरेको छ । नेपालीहरुको महान चाड दशैंको मुखमा पारेर लिपि नै नामेट पार्ने यो कदम इतिहासकै ठूलो राष्ट्रघात हो,’– जाग नेपाली अभियानले भनेको छ ।
यस्तो धम्कीबाट विचलित नभई रोमन लिपिको इम्बोस्ड नम्बर प्लेट बहिष्कार गरी जडान अवज्ञा गर्नसमेत अपिल गरिएको छ । नेपाल र नेपालीको अस्तित्व अनि सार्वभौमिकतासँग जोडिएको देवनागरी लिपि जोगाउन आम नागरिक, पेशाकर्मी, समाजसेवीका अलावा संघसंस्थाहरुलाई एकतावद्ध भई आन्दोलनमा उत्रन र साथ दिनसमेत जाग नेपाली अभियानले आग्रह गरेको छ ।
जाग नेपाली अभियानले इम्बोस्ड नम्बर लागू गराउने निर्णयको विरुद्धमा विभिन्न संघर्षका कार्यक्रमहरु पनि सार्वजनिक गरेको छ । संघर्षका कार्यक्रमअन्तर्गत भदौ ९ र १० गते विभिन्न राजनीतिक दल र संघसंस्थालाई ज्ञापनपत्र बुझाउने, ११ गते समाजका विभिन्न संस्था र व्यक्तित्वहरुसँग परामर्श र भाद १३ गते थप आन्दोलनका कार्यक्रम घोषणा गरिने बताइएको छ ।
त्यसैगरी, अधिवक्ता रामेश्वर राउतले जनतालाई संविधानले दिएको भाषा, साहित्य र संस्कृतिको अधिकार सरकारले हडप्न खोजेको बताए । इम्बोस्ड नम्बर लागू गराउने क्रममा ५ खर्ब, ४५ अर्ब ५५ करोड रुपैयाँ राज्यकोष हिनामिना भएको उनको दाबी छ । २ सयमा बन्ने मोटरसाइकलको नम्बर प्लेटलाई ३ हजार ५ सय र २ सय ५० मा बन्नेलाई ६ हजार ५ सय निर्णारण गरिएको उनले बताए ।
नेपाल स्वतन्त्र नागरिक सञ्जालका संयोजक दिनेश सुवेदीले इम्बोस्ड नम्बर जडानको नाममा देवनागरी लिपीलाई समाप्त पार्न खोजिएको बताए । राष्ट्रको आत्मा भाषा रहेको बताउँदै उनले यसलाई समाप्त गर्ने खेलअन्तर्गतको श्रृङ्खला भइरहेको दाबी गरे । ‘२०८२ असोज १ गतेदेखि इम्बोस्ड नम्बर अनिवार्य रुपमा जडान गर्नुपर्छ भनेर नेपाल सरकारले सूचना निकालेको छ । यो अत्यन्तै आपत्तिजनक विषय हो । इम्बोस्ड नम्बर जडान गर्नु आपत्तिजनक कुरा होइन । आपत्तिजन कुरा के हो त भन्दा नेपाली भाषा निमिट्यान्न पार्न खोजियो । देवनागरी भाषा त्यसमा समाप्त पार्न खोजियो,’– उनले भने ।