केन्द्रीय समिति बैठकपछि तोषिमा कार्की आक्रोसित

काठमाडौं,२४ साउन । रास्वपाकी सांसद डा.तोषिमा कार्कीले सह–महामन्त्री पदमा आफ्नो दाबी नरहेको स्पष्ट पारेकी छिन् । पार्टीको केन्द्रीय समितिको शनिबार बसेको बैठकमा आफुले विधिको प्रश्न उठाएको समेत बताएकी छिन् ।
शनिबार साझ सामाजिक सञ्जालमार्फत कार्कीले बैठकमा एजेन्डामै नभएको कुरा निर्णय प्रस्ताव आएपछि अस्वीकार गरेको बताउदै आफुलाई कुनै पदको लोभ नभएको उल्लेख गरेकी छिन् ।
‘पार्टीले रिक्त रहेको सह–महामन्त्रीको पदमा थप गृहकार्य सहित विधिसम्मत रुपले इच्छुक–योग्य महिलाहरुबाट नियुक्ति गर्नुपर्छ भन्ने मेरो मत हो।’–उनले लेखेकी छिन् ‘केन्द्रीय समिति बैठकमा भएको छलफलको नालीबेली सबै बाहिर आउन जरुरी छैन। पार्टी विधिपूर्वक चल्न र पार्टीभित्रको लोकतान्त्रिक पद्धति बलियो बनाउन केन्द्रीय समिति बैठकहरूमा घनिभूत छलफल र संवाद हुने गर्छ र त्यो जरुरी पनि छ।’
बैठकमा उठेका विषयमा केही मिडियाले कार्कीले सह महामन्त्रीमा पद लोलुपता देखाएको भन्दै समाचार प्रशारण गरेका थिए ।
“केन्द्रिय समितिमा मैले विधिको प्रश्न उठाएको हुँ व्यक्तिको विरोध गरेको होईन। साथै, रिक्त सह–महामन्त्रीमा मेरो दावी होईन।
हिजोको केन्द्रीय समिति बैठकमा एजेन्डामै नभएको कुरा निर्णय प्रस्ताव आएपछि हामीले अस्वीकार गरेका हौँ। पार्टीले रिक्त रहेको सह–महामन्त्रीको पदमा थप गृहकार्य सहित विधिसम्मत रुपले इच्छुक–योग्य महिलाहरुबाट नियुक्ति गर्नुपर्छ भन्ने मेरो मत हो।
केन्द्रीय समिति बैठकमा भएको छलफलको नालीबेली सबै बाहिर आउन जरुरी छैन। पार्टी विधिपूर्वक चल्न र पार्टीभित्रको लोकतान्त्रिक पद्धति बलियो बनाउन केन्द्रीय समिति बैठकहरूमा घनिभूत छलफल र संवाद हुने गर्छ र त्यो जरुरी पनि छ।
केहि संचार माध्यम र सामाजिक सन्जालमा मलाई जोडेर खबरहरु जसरी आयो, त्यसमा मैले पार्टी पंक्ति र आम शुभेच्छुकहरुलाई स्पष्ट पार्नुपर्छ भन्ने लाग्छ। मैले सहमहामन्त्रीको पदमा प्रस्तावित व्यक्तिको विरोध जनाएको होइन। केन्द्रीय समितिमा एजेन्डा अनुरुप राखिने प्रस्ताव र निर्णयको विधि सच्याउन आग्रह गरेको हो। र राम्रो कुरो, यसलाई पार्टी सचिवालय र पदाधिकारीहरूले सकारात्मक रूपमा लिनुभयो र एजेन्डा फिर्ता गरी थप गृहकार्य साथ आउने निर्णय भएको छ। यसकारण पनि मैले गर्वका साथ भन्ने गरेको छु, राष्ट्रिय स्वतन्त्र पार्टी आन्तरिक लोकतन्त्र र विधिमा विश्वास गर्ने पार्टी हो।
कृपया कसैले पनि गलत भास्य बनाएर मलाई पद–लोलुप जस्तो नदेखाइदिनु होला। यो सह–महामन्त्री पदमा मेरो कुनै दाबी छैन। म आम जनता समक्ष पुगेर चुनाव लडेर सांसद निर्वाचित भएको हुँ। पार्टी भित्र पनि अधिवेशनमा पदाधिकारीहरु निर्वाचित भएरै आउनुपर्छ भन्ने नीति÷निर्णय स्थापित गर्न विधान संशोधनमा मैले खेलेको भूमिकाबारे यहाँहरु जानकार नै हुनुहुन्छ। त्यसैले मैले कुनै पदमा दावी गर्नुपरे म चुनाव मार्फत नै आउनेछु। राष्ट्रिय स्वतन्त्र पार्टीलाई यहाँहरुले गरिरहनुभएको माया, शुभेक्षा र शुभाशिर्वादको लागि सधैँ आभारी छु। धन्यवाद।”