१२ श्रावण २०८२, आइतबार | July 27, 2025

भारतबाट पर्सा हुँदै काठमाडौं ल्याउन लागेको लागूऔषध सशस्त्र प्रहरीले यसरी लियो नियन्त्रणमा 


1.5k
Shares
काठमाडौं, ११ साउन । भारतबाट नेपाल छिराएर पर्सा हुँदै काठमाडौं ल्याउन लाग्दा लागूऔषधको ठूलो परिमाण भेटिएको छ । लागूऔषध स्कारपियो गाडीमा फल्स बटम बनाई ल्याइँदै थियो ।
सशस्त्र प्रहीले मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ हेवी चोकबाट साउन १० गते राती साढे ८ बजे नियन्त्रणमा लिएको  छ । उक्त घटनामा संलग्न चारजनालाई सशस्त्रले नियन्त्रणमा लिएको छ ।
नियन्त्रणमा लिईएकाहरुमा भारत घर बताउने ४३ वर्षिय शेख सपुर, १९ वर्षिय निसाव आलम, २५ वर्षिय ओसिम अहमद र २४ वर्षिय शेख गजुर छन् । चारैजनाले सुगौलीबाट पर्साको बीरगंजहुँदै काठमाडौतर्फ बीआर ०५ पीए ९०९३ नम्बरको भारतीय स्कारपियो गाडीको तीन वटा ढोकामा फल्स बटम बनाई लागूऔषध भित्राउँदै थिए । उनीहरुलाई विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन बेश कुलेखानीबाट सशस्त्र प्रहरी निरीक्षक अमृत थापाको कमाण्डमा खटिएको टोलीले नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिईएकाहरुमध्ये २४ वर्षिय शेख गजुर उक्त गाडीको चालक रहेका छन् ।
बरामद लागूऔषधमा नोफिन २ हजार ४ सय वटा, डाईजेपाम २ हजार ४ वटा, प्रोमेथाईजन हाईड्रोक्लोराईट २ हजार ४ सय वटा र ट्रमाडोल हाईड्रोक्लाराईड क्याप्सुल ५ वटा रहेको छ । नियन्त्रणमा लिएकाहरुलाई बरामद लागूऔषध तथा गाडीसहित आवश्यक कारवाहीको लागि   ईलाका प्रहरी कार्यालय भिमफेदीमा बुझाएको छ।
सीमा अपराधमा लागूऔषधको कारोबारीको सञ्जाल सक्रिय छ । त्यस्तो जालो तोड्न सशस्त्रले सीमामा कडाईका साथै गोप्य सूचना संकलन गरी संलग्नहरुलाई नियन्त्रणमा लिन थालेको छ ।

प्रतिक्रिया