१३ असार २०८२, शुक्रबार | June 27, 2025

काठमाडौं–१४ को फोटो तथा भिडियोग्राफी र भिडियो इडिटिङ तालिम सम्पन्न


4k
Shares

काठमाडौं,१३ असार । काठमाडौं महानगरपालिका १४ नंं. वडा कार्यालयले नेपाल पेन काठमाडौं मिडियासँगको सहकार्यमा फोटो तथा भिडियोग्राफी र भिडियो इडिटिङ तालिम भव्य रुपमा सम्पन्न गरेको छ ।

१४ नं.वडाभित्रका युवाहरुलाई सिप सिकाउने र आत्मनिर्भर बनाउने उद्देश्यले ५ दिने फोटो तथा भिडियोग्राफी (असार ४–८) र १० दिने भिडियो इडिटिङ प्रशिक्षण कार्यक्रम (असार ५–१३ गते)को संयुक्तरुपमा कलंकीस्थित जनपथ माध्यमिक विद्यालयको सभाहलमा शुक्रबार समापन गरिएको हो ।

कार्यक्रममा मंगलादेवी सिंह फाउण्डेशनका अध्यक्ष सिर्जना सिंह प्रमुख अतिथि थिइन भने काठमाडौं क्षेत्र ९ का नेपाली कांग्रेसका सभापति जयकृष्ण महर्जन विशेष अतिथि थिए । १४ नं.वडाका अध्यक्ष सुमन श्रेष्ठले कार्यक्रमको अध्यक्षता गरेका थिए । अतिथिहरुमा जनपथ माविकी प्रधानध्यापक हिरादेवी श्रेष्ठ, प्रशिक्षक अजय शर्मा, वडा सचिव जयदेव घिमिरे, वडा सदस्य अच्युत सापकोटा,समाजसेवी बिनोद डंगोल थिए ।

 

कार्यक्रममा बोल्दै प्रमुख अतिथि सिंहले भिडियोग्राफी,इडिटिङ तालिम अत्यन्तै राम्रो र समय सान्दर्भिक भएको बताइन् । यो तालिमले सहभागीहरुलाई आत्मनिर्भर बनाउनेमा पनि आफु बिस्वस्त भएको बताउँदै उनले भनिन्, “विशेष गरी काठमाडौं शहर संस्कृतिको धरोहर हो । यहाँकै संस्कृतिलाई मात्र विश्व बजारमा बिक्रि गर्न सकियो भने मात्र पनि जिविको पार्जन गर्न सकिन्छ । भिडियो फोटो खिचेर पनि आय आर्जन गर्न सक्नुहुन्छ ।” आगामी दिनमा पनि १४ नं. वडालाई युवा वर्गलाई लक्षित सो तालिमलाई एड्भान्स रुपमा लैजान पनि श्रेष्ठले सुझाव दिइन् ।

त्यसैगरी, विशेष अतिथि जयकृष्ण महर्जनले वडाले दिंदै आएको अन्य तालिम भन्दा भिडियोसम्बन्धि प्रशिक्षण कार्यक्रम उत्कृष्ट रहेको बताए । वर्तमान युग टेक्नोलोजीको भएको भन्दै उनले युवामुखि कार्यक्रमलाई प्राथमिकतामा राख्न पनि वडालाई सल्लाह दिए । प्रशिक्षण कार्यक्रममा सहभागीमध्ये केहीलाई मात्र एड्भान्स कोर्ष गराएर यो क्षेत्रमा स्थापित गराउन सकियो भने पनि वडाको ठुलो उपलब्धी हुने उनको भनाइ थियो । आगामी दिनमा सो शिर्षकमा बजेट छुट्टाएरै तालिम लिएकाहरुलाई नै एड्भान्स कोर्ष गराउनु पर्नेमा उनले जोड दिए ।

आगामी ०८२/०८३ को बजेटमा भिडियोग्राफी तथा फोटोग्राफी र भिडियो इडिटिङको एड्भान्स कोर्षलाई समेट्ने गरी बजेट बिनियोजन गर्ने १४ नं. का वडाध्यक्ष सुमन श्रेष्ठले प्रतिबद्धता व्यक्त गरे । फोटो तथा भिडियोले आय आर्जनमा महत्वपुर्ण भुमिका खेल्ने भन्दै उनले यी कार्यक्रमलाई वडाले अगाडी बढाउने स्पष्ट पारे । त्यसका लागि युवाहरुले पनि विकासको काममा चासो राखेर वडालाई सल्लाह सुझाव दिन आग्रह गरे ।

यसैगरी, कार्यक्रममा बोल्दै जनपथ माध्यमिक विद्यालयकी प्रधानध्यापक हिरादेवी श्रेष्ठले यस्ता उपलब्धीमुलक कार्यक्रम आफ्नो स्कुलमा आयोजना गरेकोमा खुशी व्यक्त गरिन् । वडालाई धन्यवाद दिदैं उनले आगामी दिनमा पनि आफ्नो विद्यालयबाट हुनसक्ने सहयोग गर्ने प्रतिवद्दता जाहेर गरिन ।

समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रशिक्षक अजय शर्माले भिडियो तथा फोटोग्राफी र इडिटिङ कोर्ष बहुउपयोगी भएकाले सबैलाई आवश्यक भएको बताए । फेसबुक,युट्युबले पनि मर्निटाइज गर्न थालेको उल्लेख गर्दै उनले हावामा उडेको डलर (डिजिटल रेमिट्यान्स)लाई हातमा लिन यो तालिमबाट सहयोग पुग्ने उनले धारणा राखे ।

नेपाल पेन काठमाडौं मिडियाका अध्यक्ष संजिब कार्कीले १५ दिने प्रशिक्षण कार्यक्रमलाई भव्य रुपमा सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिएका थिए । तालिममा सहभागी प्रशिक्षार्थीहरुले सो कार्यक्रमबाट धेरै कुरा सिकिएको भए पनि पुर्ण नभएकोले आगामी दिनमा एड्भान्स कोर्सको व्यवस्था गराउन वडालाई आग्रह गरेका थिए ।

कार्यक्रमको सञ्चालन प्रशिक्षक मनोज राजभण्डारीले गरेका थिए भने स्वागत मन्तव्य वडा सदस्य अच्युत सापकोटाले राखेका थिए । कार्यक्रममा दुवै तालिममा सहभागी ३५ जना प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गरिएको थियो । शुक्रबार सम्पन्न सो कार्यक्रममा बाक्लो रुपमा वडाबासीहरुको उपस्थिति थियो ।

प्रतिक्रिया