८ जेष्ठ २०८२, बुधबार | May 22, 2025

नुवाकोटमा विवादित बन्यो काँग्रेस क्रियाशील सदस्यता नवीकरण


51.6k
Shares

काठमाडौं,७ जेठ । नेपाली काङ्ग्रेस नुवाकोटको राजनीति पछिल्लो समय दुई ठुला परिवारको वरिपरि घुमिरहेको छ । पार्टीका केन्द्रीय नेता द्धय अर्जुन नरसिंह केसी र डा.रामशरण महत परिवारले नुवाकोटको राजनीतिमा रजाइ गरीरहेका छन् । नेताहरु पटक–पटक मन्त्री हुने, सबै अवसर आफै लिने, एस आराम गर्ने तर उनीहरुलाई जिताउन भोट हाल्ने कार्यकर्ताको अवस्था जहिल्यै उस्तै रहेको छ ।

केसी र महत परिवारबीचको खिचातानीले नुवाकोट कांग्रेसको आन्तरिक राजनीति र त्यहाको विकासमा ठुलो असर गरेको छ । क्रियासिल सदस्यता नविकरणमा पनि त्यस्तै समस्या दोखिएको छ । कांग्रेसमा वडादेखि केन्द्रसम्म नै गुटबन्दी हावी हुँदा त्यसको प्रभाव अधिवेशनदेखि महाधिवेशनसम्म पर्न सक्छ । पार्टीलाई सवस्र्व ठान्ने कार्यकतालाई सदस्यता नविकरण नहूदा धेरै नै असर पर्छ ।

सदस्यता नविकरणको सिकार भएका छन्,नुवाकोटका भिमसेन खड्का । शिवपुरी गाउँपालिका–५ का स्थानीय खड्का ०५१ सालदेखि कांग्रेसको राजनीतिमा सक्रिय छन् । पार्टीका लागि भनेर उनले ज्यानको बाजी राखेर क्षेत्र नम्बर १ मा पहिलो पल्ट कांग्रेसलाई जिताउन महत्वपुर्ण भूमिका खेलेका थिए । उनी पूर्व क्षेत्रिय सहसचिव हुन् र हाल क्षेत्रीय प्रतिनिधि पनि हुन् । पार्टीका लागि लामो समय खर्चिएका उनको यसपटक भने क्रियासिल सदस्यता नै नविकरण हुनै पाएन । उनी केसी परिवार निकट मानिन्छन् ।

भिमसेन खड्का

उनका अनुसार डा.प्रकाशशरण महत परिवार निकट वडा सभापति रामकृष्ण थापाले खड्काको सदस्यता नविकरण गर्न रोक लगाएका हुन् । थापाले नगर सभापतिलाई नविकरणका लागि सदस्यहरुको नामावली पठाउदा खड्का बाहेकको नाम मात्र पठाएको उनको आरोप छ । सदस्यता नविकरण गर्न नपाएकोमा खड्काले आफुमाथि ठुलो अन्याय भएको भन्दै अत्यन्तै दुख लागेको गुनासो पोखे । उनले भने,“अत्यन्तै दुख लागेको छ, यत्रो वर्ष पार्टीमा गरेको दुख पुरै खेरा गयो । म माथि अन्याय भयो । म माथि व्यक्तिगत रिस साधियो ।” खड्काले गत स्थानीय चुनावमा असहयोग गरेको नचाँहिदो आरोप लगाएर थापाले पावर देखाएको बताए । र, उनले सदस्यता नविकरण नगर्नुको कारण लिखित रुपमा कसैले आफुलाई नदिएको जानकारी दिए । खड्काले विरासतको राजनीति गर्न नहुने तर्क गर्दै भने,“रामकृष्ण थापा सभापति उसकै बावुले बनाएका हुन् । बुवाकै ठुलो आर्शिबादले सभापति भएको हो । विरासतको राजनीति हामीलाई स्विकार्य छैन् ।” महत पक्षको नभएकोले पनि आफुमाथि विभेद भएको उनले गुनासो गरे । “म प्रकाश शरण महत पक्षको नभएकोले म माथि अन्याय गरियो ।”–उनले भने ।

वडा सभापति थापा गत स्थानिय निकायको निर्वाचनमा वडाध्यक्षको कांग्रेसतर्फका उम्मेदवार थिए । उक्त चुनावमा थापा नेकपा एमालेका उम्मेदवार रेशम तामाङ्गसँग ८७ मतले पराजित भएका थिए । सो निर्वाचनमा थापाले आफुलाई असहयोग गरेकोले आफु हारेको आरोप खड्कामाथि लगाएका थिए । वडा सभापति थापाका बुवा प्रेम बहादुर थापा यसअघिका वर्षसम्म सो वडाको नेतृत्व गर्दै आएका थिए । लामो समयसम्म उनी वडा सभापति थिए । बुवा प्रेमले नै आफ्ना छोरालाई सभापति बनाउन सहयोग गरेका थिए ।

यसबारे वडासभापति थापाले नेपाली पेनसँग कुरा गर्दै भने,“उहाँले गएको स्थानीय चुनावमा पार्टीको उम्मेदवारमाथि अन्र्तघात गरेको हुनाले साधारण सदस्य समेत नरहने गरी कारबाही गरिएको हो ।” थापाले अघिल्लो वर्ष आफ्ना बुवा र पछिल्लो पटक आफु वडाध्यक्षको उम्मेदवार हुदाँ खड्काले असहयोग गरेकाले कारबाही स्वरुप सदस्यता नविकरण नगरिएको बताए । उनले भने,“१५० जना सदस्य रहेको कार्यसमितिले उहाँलाई कारबाही गर्ने निर्णय गरेको हो ।” केसी पक्षको नै भनेर कारबाही नगरिएको दाबी गरे ।  यसबारे बुझ्न खोज्दा नगर सभापति कविराज गुरुङ्गको फोन उठेन ।

नेपाल तरुणदल केन्द्रीय सदस्य संजिव गुरुङ्गले नेताहरु कै कारण पार्टीको अवस्था खस्किदै गएको बताए । वडादेखि केन्द्रसम्म नेतृत्व गुटबन्दीमा लाग्दा कार्यकर्ताको मनोबल घट्दै गइरहेको टिप्पणी गरे । उनले भने,“नेताहरु अब पनि नसच्चिने हो भने यसको परिणाम भयंकर हुनेछ ।”

कांग्रेसको क्रियाशील सदस्यता फर्म जिल्लामा पठाएपनि पार्टीको समूहगत समस्याले तल्लो तहसम्म वितरण हुन नसकेको र गुटबन्दी कै कारण नवीकरणमा समस्या आएको देखिन्छ ।

 

प्रतिक्रिया