२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

कर्मचारीहरू त्रासमा : सुरक्षा माग गर्दै सामान्यद्वारा गृहमा पत्राचार


0
Shares

काठमाडौं, १९ वैशाख। राष्ट्रसेवक कर्मचारीमाथि विभिन्न पक्षबाट सांघातिक हमला हुन थालेपछि निजामती कर्मचारीहरू त्रसित बन्न पुगेका छन् । जनप्रतिनिधि तथा अमूक व्यक्तिहरूले विभिन्न वहानामा कर्मचारीहरू माथि आक्रमण गर्ने क्रम बढेको छ । जसमा देशभरमा सबैभन्दा बढी असुरक्षित विभिन्न स्थानीय तहमा कार्यरत प्रमुख प्रशासकीय अधिकृतहरू बन्न थालेका छन् ।

प्रमुख प्रशासकीय अधिकृतलगायतका कर्मचारीमाथि विभिन्न पक्षबाट सांघातिक हमला तथा कुटपिटको क्रम बढेको भन्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तीनै तहका कर्मचारीलाई सुरक्षा प्रत्याभूति गराउँदै शान्तिपूर्ण वातावरण निर्माण गर्न गृह मन्त्रालयलाई पत्राचार गरेको छ भने देशभरमा स्थानीय तहमा सतर्कता अपनाउन प्रमुख प्रशासकीय अधिकृतलगायतका कर्मचारीलाई आन्तरिक सर्कुलर समेत गरेको छ । विशेष गरी स्थानीय तहमा कार्यरत प्रमुख प्रशासकीय अधिकृतमाथि हातपात हुने गरेका घटना पछिल्लो समय बढ्दै गएको भन्दै त्यस्ता घट्ना रोक्न माग गर्दै सामान्य प्रशासन मन्त्रालयले गृहमन्त्रालयलाई पत्राचार गरेको हो ।

यसरी सरकारकै एउटा मन्त्रायले सुरक्षाको माग गर्दै अर्को मन्त्रालयलाई पत्राचार गर्नुपर्ने परिस्थिति सिर्जना भएको छ । यसले मुलुकको शान्ति सुरक्षाको अवस्थालाई समेत चुनौती दिएको छ ।

पछिल्लो समय महोत्तरीको बलवा नगरपालिकाकी उपप्रमुख रामदुलारी देवीले नगरपालिकाका प्रमु्ख प्रशासकीय अधिकृत प्रमोदकुमार ठाकुरमाथि बोतल प्रहार गर्दै दुव्र्यवहार गरेकी थिइन् । त्यसपछि पनि अन्य केही ठाउमा कर्मचारीहरू विभिन्न पक्षबाट कुटिँदै आएका छन् । पछिल्लो समय एक वडा अध्यक्षले उपसचिवस्तरका कर्मचारीलाई मुक्का हानेको तस्वीर समेत बाहिरिएको छ । यसरी जनप्रतिनिधिहरूले कर्मचारीमाथि कुटपिट गर्ने क्रम बढेपछि विभिन्न जिल्लामा कर्मचारीहरू आन्दोलित भइरहेका छन् । कर्मचारीहरू आन्दोलित हुँदा सेवा प्रवाह समेत प्रभावित हँुदै आएको छ ।

कर्मचारीहरूले आफूहरू दिनानुदिन असुरक्षित हुनुपरेको भन्दै त्यसको जानकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा गराएका थिए ।त्यसपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आइतबार गृह मन्त्रालयलाई पत्राचार गर्दै ७७ वटै जिल्लाको सुरक्षा निकायमार्फत आम कर्मचारीलाई सुरक्षित वातावरण मिलाइदिन आग्रह गरेको हो ।

सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सहसचिव कमल प्रसाद भट्ट्राइले कर्मचारीहरू कु्टिने र कार्यथलोमा असुरक्षित हुने वातावरण बढेपछि सुरक्षाको माग गर्दै गृह मन्त्रालयमा पत्राचार गरिएको जानकारी दिनुभयो । ‘राष्ट्रसेवक कर्मचारी माथि विभिन्न बहानामा कुटपिट हुँदा आम कर्मचारीको मनोबल गिर्न सक्छ, त्यस्तो अवस्थामा सर्भिस डेलिभरीमा नै गम्भीर समस्या आइपर्न सक्छ त्यसैले सुरक्षा निकाय यसका लागि संवेदनशील बन्नुपर्छ भन्ने हाम्रो माग हो ।’ मन्त्रालयका प्रवक्ता भट्टराइले नेपाल समाचारपत्र सँग भन्नुभयो । प्रवक्ता भट्टराइले ७ सय ५३ वटै स्थानीय तहमा सबै कर्मचारीलाई सजग हुन समेत आन्तरिक सर्कुलर गरिएको बताए ।

सामान्यले गृहमा लेखेको पत्रमा कर्मचारीमाथि कुटपिट गर्नेलाई कानुनअनुसार नियन्त्रणमा लिई कारबाही गर्नसमेत जानकारी गरिएको छ । जनप्रतिनिधिबाटैसमेत आक्रमण हुन थालेपछि कर्मचारीमा भय, त्रास र तनावयुक्त कार्य वातावरण उत्पन्न भएको पाइएको भन्दै त्यस्ता घटनामा संलग्न व्यक्ति, समूह तथा पक्षलाई नियन्त्रणमा लिई कानुनबमोजिम कारबाही गर्नसमेत पत्राचार गरिएको प्रवक्ता भट्टराईले जानकारी दिनुभयो ।

‘संघ, प्रदेश र स्थानीय तहमा कार्यरत कर्मचारीलाई विभिन्न पक्षबाट सांघातिक हमला र कुटपिट हुने गरेको विभिन्न सञ्चार माध्यम र सम्बन्धित कर्मचारीबाट जानकारी हुन आएको र त्यसबाट भय, त्रास र तनावयुक्त कार्य वातावरण उत्पन्न भएको पाइएकोले त्यस्ता घटनामा संलग्न व्यक्ति, समूह तथा पक्षलाई नियन्त्रणमा लिई कानुन बमोजिम कारबाही गर्ने व्यवस्था गरिदिन हुन अनुरोध गरिन्छ ।’ सामान्यले गृहमा लेखेको पत्रमा भनिएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जिल्ला स्थित सुरक्षा निकायमाथि असन्तु्ष्टि व्यक्त गरेको छ । उसले विभिन्न स्थानीय तहमा जनप्रतिनिधिहरू बाट प्रमुख प्रशासकिय अधिकृत लगायतका कर्मचारी कुटिँदा समेत जिल्लास्थित सुरक्षा निकायले कानुन अनुसार कारबाही गर्न नसकेको भन्दै सामान्य प्रशासन मन्त्रालयले असन्तुष्टि जनाएको हो ।

सामान्य प्रशासन मन्त्रालयका अनुसार जनप्रतिनिधिहरूले कानुनविपरीतका काम गर्न प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन दिने तर त्यस्ता कानुनविपरीतका काम नगर्ने अडान प्रमुख प्रशासकीय अधिकृतले लिदा उनीहरूमाथि हातपात हुने गरेको बताइएको छ । त्यसैले पनि अहिले कतिपय स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतहरू जान चाहेको देखिँदैन ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत प्रमुख प्रशासकिय अधिकृतमाथि मुद्दा चलाउने क्रम बढाएपछि पछिल्लो समय विभिन्न स्थानीय तहमा जनप्रतिनिधिहरूले दिने गैरकानुनी आदेशको प्रमुख प्रशासकीय अधिकृतहरूले अवज्ञा गर्ने गरेका छन् । यसैका कारण पनि जनप्रतिनिधि र कर्मचारीबीच द्वन्द्व हुने क्रम बढेको मन्त्रालयका अधिकारीहरूको भनाइ छ । समाचारपत्र

प्रतिक्रिया