मोरङको श्री पञ्चायत माध्यमिक विद्यालयको भवन निर्माणको शिलान्यास

काठमाडौं, ५ वैशाख । मोरङको सुन्दरहरैँचा नगरपालिकास्थित श्री पञ्चायत माध्यमिक विद्यालयको विद्यालय भवन निर्माणको शिलान्यास भएको छ । शुक्रबार कोशी प्रदेशका सामाजिक विकास मन्त्री पाँचकर्ण राई, सुन्दरहरैँचा नगरपालिकाका मेयर केदार प्रसाद गुरागाई र काठमाडौँस्थित भारतीय दूतावासका द्वितीय सचिव गरिमा नौटियालले संयुक्त रूपमा भवन निर्माणको शिलान्यास गरे ।
कार्यक्रममा राजनीतिक प्रतिनिधिहरू, सरकारी अधिकारीहरू, सामाजिक कार्यकर्ताहरू र विद्यालयका शिक्षकहरू, विद्यार्थीहरू र उनीहरूका अभिभावकहरूको पनि उपस्थिति थियो । ‘नेपाल-भारत विकास सहयोग’ अन्तर्गत भारत सरकारको आर्थिक सहयोगमा २ करोड ८१ लाख रुपैयाँको परियोजना लागतमा श्री पञ्चायत माध्यमिक विद्यालयको विद्यालय भवन निर्माण भइरहेको छ । परियोजना मोरङ जिल्लाको सुन्दरहरैँचा नगरपालिका मार्फत कार्यान्वयन गरिँदैछ ।
श्री पञ्चायत माध्यमिक विद्यालय सन् १९६५ मा स्थापना भएको थियो । यस विद्यालयमा नर्सरीदेखि कक्षा १२ सम्म कक्षा सञ्चालन गरिएको छ । विद्यालयमा लगभग ७५० विद्यार्थीहरू छन् जसमध्ये ६०५ छात्राहरू रहेका छन् ।
कार्यक्रममा मन्त्री राई, मोरङको सुन्दरहरैँचा नगरपालिकाका मेयर, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा अन्य सरोकारवालाहरूले नेपाली जनताको लागि भारत सरकारले गरिरहेको विकास सहयोगको प्रशंसा गरे । उनीहरूले निर्माण हुने पूर्वाधारले मोरङको श्री पञ्चायत माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई राम्रो शिक्षा प्रदान गर्न मद्दत गर्ने विश्वास व्यक्त गरे ।