केन्द्रीय क्याम्पस कीर्तिपुरमा नेविसंघका ६ जना बागी उम्मेदवार,आधिकारिक उम्मेदवार को ?

काठमाडौं,२८ फागुन। केन्द्रीय क्याम्पस कीर्तिपुरमा नेविसंघका ६ जनाले बागी उम्मेदवारी दिएका छन् । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि उम्मेदवार छनोट गर्दा असन्तुष्टी जनाउँदै केन्द्रीय क्याम्पस कीर्तिपुरमा ६ जनाले नेविसंघबाट बागी उम्मेदवारी दिएका हुन् ।
बागी उम्मेदवारी दिनेमा अनोज कार्की, पद्मा भुसाल, नरेन्द्र साउद, पदम दाहाल, सनम ओली, अक्कल रानाभाट छन् । त्रिविमा उम्मेदवार छनोट गर्दा त्रिवि इकाई र केन्द्रबीच विवाद समेत उत्पन्न भएको छ । नेविसंघका त्रिवि इकाई सभापति विष्णु बडैलाले अनोज कार्कीलाई अध्यक्षको उम्मेदवार हुनेगरी निर्वाचन अधिकृतको कार्यालयलाई पत्र पठाए पनि केन्द्रले दीपकराज जोशीलाई उम्मेदवार बनाएको थियो ।
कार्की त्रिवि स्ववियुका उपसभापति हुन् । कार्कीले नेविसंघको तर्फबाट उम्मेदवारी दर्ता गरिसकेपछि केन्द्रले उम्मेदवार बनाएको जोशीलाई आधिकारिकता त्रिवि निर्वाचन समितिले खोज्यो । तर केन्द्रले भने जोशी नै आधिकारिक उम्मेदवार भएको निर्वाचन समितिलाई जानकारी दिएको थियो ।