रिसाएका बामदेवलाई ओलीले यसरी फकाए
![](https://nepalipen.com/wp-content/uploads/2024/12/bamdev-oli.jpg)
काठमाडौं, २७ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले बारम्बार आफ्नो फोन नउठाएपछि बामदेव गौतम रुष्ट थिए । ओली सरकारले ल्याएको ६ वटा अध्यादेश पारित गर्न गौतमको भूमिका महत्वपूर्ण हुने भएपछि फेरि उनको खोजी भयो एमालेभित्र ।
ओलीले शुक्रबार बामदेवलाई बारम्बार फोन गरे । पाँचपटक सम्म बामदेवले फोन उठाएनन् । यसअघि गौतमले पाँचपटक फोन गर्दा पनि ओलीले उठाएका थिएनन् ।
हालै एमाले प्रवेश गरेका गौतमनिकटस्थ एक नेतालाई ओलीले खोजी गरे । बामदेवलाई मनाउन जिम्मा दिइयो । त्यसपछि ओलीले बामदेवलाई फोन गरे । दुवै नेताबीच शुक्रबार भएको कुराकानीका क्रममा बामदेव झोक्किए । पटक पटक फोन गर्दा पनि नउठाएको भने ।
ओलीले आफूहरु सुख दुःखको साथी भएको भन्दै गौतमलाई थामथुम पारे । त्यसपछि गौतम अध्यादेशमा साथ दिन तयार भएका छन् ।
एमाले प्रवेश गर्न ठिक्क परेका गौतमलाई रोकिएको थियो । त्यसपछि उनी रुष्ट भएका छन् । तर, ओलीले फेरि सम्बन्ध पुरानै अवस्थामा फर्काउन सकेका छन् ।