२० पुस २०८१, शनिबार | January 5, 2025

मछली बजार जस्तो !


December 30, 2024
1.7k
Shares

मानिसहरु जतासुकै बोलेका, हल्ला गरेका मात्र सुनिन्छन!
त्यति मात्र कहाँ हो र छिमेकीमा २/३ जना छोराछोरी छन् । उनीहरु कोही एसईईको तयारीमा छन् । कोही ८ कक्षाको परीक्षाको तयारी छोरो इन्जिनियरको अन्तिम वर्ष, विदेशमा जाने सपना देखेर मेहनत गरेर पढिराखेको छ, विदेश नगए फेरि छिमेकीले के भन्लान्,छिमेकीलाई पनि शान देखाउनै पर्यो, मेरो छोरो विदेशमा छ भनेर धाक जो लाउनु छ । यता अर्को छिमेकी घरमा पूराण शुरु भएछ, टोलै थर्काएर माईक नै लगाएर पूराण लगाएका छन् । पूराण जस्तो कुरा फेरि भगवान् रिसाउनु होला बोल्नु भएन । छोरो उतापट्टी रिसाएर तमास छ, मम्मी मैले कसरी पढ्नु यस्तो हल्लामा मेरो परीक्षा छ, माइकको आवाजले पढेको केही बुझ्दिन, गएर भन्दिनुहोस् न त्यो छिमेकीलाई माइक नलगाई गर्नु भनेर !

बाबु तिमीले भन्नु भन्दा अगाडि नै मैले सोच्या थिएँ तर के गर्नु भगवानको कुरा, पूराणजस्तो कुरा कसरी नगर्नु भन्नु तिमी नै यसो मिलाएर पढ न है पाप लाग्छ हामीलाई नै फेरि ।
ऊफ ! यो काठमाण्डु पनि कस्तो भै सक्यो हेर्दा हेर्दै ! एउटाले पुराण बजाएको छ अर्को उतापट्टी होलि रे भन्दै गीत घन्काऊछ ! मगन्तेहरु घर–घरमा भजन लगाएर माग्न आउँछन्, कोही किड्नी उपचार गर्नु पर्यो भन्दै वेदनाका गीत बजाएर आउँछन् । कोही आज एकादशी भन्दै भजन लगाएर आउँछन् । ८/१० बर्ष अगाडि बाजा बजाएर माग्ने चलन थिएन अहिले त खपिसक्नु छैन् ! मम्मी त्यो कागज वोटल भन्दै कराएर गिदी खाइसक्यो । एउटा मात्र हो र दिनभरी २/३ सय जना आउँछन् । हाम्रोमा कागज बोटल त छैन् फेरि किन घरिघरी आउँछन् ।अस्ति बाटोमा भेटेर कागज बोटल छैन् अब देखि नआउनु भन्दा पनि आइरहन्छ र वरिपरि सबैतिर विचार गरेर जान्छ के खोज्छ कुन्नी हाम्रोमा सिसीटिभी त छ नि मम्मी छैन् भने राख्नु पर्छ है । यिनीहरुको भर हुन्न नि ।

 

लुलु धेरै गनगन नगर परीक्षा छ भनेको होइन माइक बज्न छोडे जस्तो छ गएर पढ् । माइक बज्न छोडेर के गर्नु ग्याँस बनाउने, चक्कुमा धार लगाउने, फलफूल, तरकारी भनेर अर्को थरी कराई रहेका छन् मम्मी हजुरले बजारमा गएर ल्याए हुन्न यी सामान कि तिनीहरुसंग फोन लिएर फोनबाट नै अर्डर गर्नुस् । यिनीहरुले कराएर मेरो कानको जाली नै फुटिसक्यो।

विदेशमा कस्तो शान्त हुन्छ रे मेरो साथी जापानमा छ यार यहाँ त्यसरी हल्ला गर्यो,अरुलाई डिस्टर्व गर्यो भने त पुलिसमा रिपोर्ट गरिदिन्छन्,त्यहाँ त्यस्तो गर्न पाइन्छ भन्दै थियो मैले कुरा गर्दा । यहाँका त पुलिस पनि खोई केहि गर्दैनन् । त्यहि भएर म विदेश नै जान्छु यस्तो हल्लामा कसरी पढ्नु ?

होईन हुँदैन् होला नि सधैं हल्ला !

सधै हल्ला छ मम्मी सधै,रिसर्च गर्नुछ केहि गर्न पाईन् दिमाख खाई सक्यो !

कान्छी छोरी उता पढि राखेकी छ । साथीसँग कुरा गर्दै छे

के भो तिमीलाई चै नानु ?

ए होइन, मेरी साथी अस्ति दमक गएकी थिई उसको मम्मीले त्यहाँ सस्तो कुर्था पाईन्छ भनेर पसलमा लगेर जानु भएको रे पसलमा लुगा फेर्ने फिटीगं रुममा पैसाको व्याग राखेर बाहिर अर्को लुगा छान्न निस्किनु भएछ अनि फर्केर जाँदा त पर्स नै छैन् । पसलेलाई सोध्दा खोई मलाई थाहा छैन् भन्छ रे त्यहाँ पसलेका काम गर्ने कामदार मात्र तलमाथि गरिरहेका थिए रे अरु कोही थिएनन रे । लुगा सस्तो भनेर जानु भएको रे त्यस्तो पो गर्दा रहेछन् । कोही लुगा पसल रेडिमेड पसल गएर किन्ने भए भने यो सबैलाई भन्दिनु चनाखो हुनु पर्ने रहेछ भन्दै हुनुहुन्थ्यो रे त्यही कुरा गर्या क्या मम्मी ।

ए हो हो जहाँ सुकै लुट नै लुट छ यहाँ काठमान्डुमा मात्र हो र अस्ति मेरो साथी नि पूर्व गएकी थिई पथरी पुगेपछि एउटा मगन्ते जस्तो बनेर गाडी चढेछ अनि अर्को चै २/३ सय दिदै थियो रे एउटाले २ सय दिए पछि फेरि अर्कोले १००/५० गर्दै बस भरि पैसा उठाएछ र त्यही कतै जङ्गलमा झर्दो रैछ र फेरि अर्को बस चढेर अरु बस यात्रीसँग त्यसरी नै पैसा मागे पछि उसले यसो बुझ्दा त बस ड्राईभरसँग नै मिलेमतो गरेर मगन्तेको भेष बनाएर माग्दा रहेछन् ! लुट्न पनि कतिले मात्र लुट्ने हो हाम्रो देशमा त खोई ?

नेतादेखि मगन्तेसम्मले भ्याएका छन् कतै पो अछुत छैन त !
होनि त्यही भएर छिमेकीहरु गल्ली गल्लीमा देखिन्छन ! हाम्राले चाँही बाहिरका गल्ली भरे । उजाड भूमि दुबइ,कतार सबै हाम्राले नै बनाए । आफ्नो देशमा पो काम गर्न लाज लाग्छ त अरुको देशमा त जे गरे नि भै हाल्छ नि कसैले चिन्दैन् !

अस्ति एउटालाई सिक्किममा भारी बोकिरहेको भेट्या थिएँ । ए सिक्किम आउनु भएको रहेछ । नेपाल कता हो नि अनि । नेपाल नजाने भन्या काम छैन हजुर के गर्नु भन्दै थियो भारी बोक्ने काम त पाई हालिन्छनी भन्या नेपालमा त कसरी भारी बोक्ने काम गर्नु लाज हुन्छ सबैले चिन्छन् फेरि फलानाले भारी बोक्ने काम गर्दोरहेछ भन्ने थाहा भयो भने ईज्जत जान्छ यहाँ कसैले चिन्दैनन् ! अस्ति रामकुमारी झांक्रीले भनेको सुन्नु भएन हजुरले ? बिहान बिहान आँखा चिप्रा पारेर भाँडा माझ्न कुद्ने होला विदेश बसेर अनि हामीसँग धाक लगाउने भनेर । कामको ईज्जत छैन् हाम्रो देशमा सानो तिनो काम गर्दा गिल्ला गर्छन अनि कसरी गर्नु ?

ठूल्ठूला पोष्टमा भएकाहरु, मन्त्री, सांसद पो सबै कुम्ल्याएर पारितिरको बैंकमा खाता खोलेर उतै लुकाउछन् । हामी त यस्तै भारी बोकेर पनि आफ्नै देश मा पुर्याउँछौँ , खाली धेरै नपढेकोले गतिलो काम पाईदैन भनेर यहाँ आएर काम गरी राखेको छु ।

होनी त्यो त तर यो भन्दा त गतिलो काम आफ्नै देशमा पाईन्छ । यहाँ किन मरिहत्ते गर्नु हुन्छ भनेर मात्र भन्या मैले । के मरिहत्ते गर्नु हजुर उता कतार, अरब, दुबईमा त्यत्रो पचास डिग्रीमा गएर ज्यानको बाजी लगाएर त नेपालीले कस्तो सुन्दर बनाएका छन अरे भन्ने सुन्छु म पनि ! नेपालीको जातै त्यस्तै हो के ?आफ्नोमा गर्न लाज लागे पनि अरुको मा त मरिहत्ते गरेर गर्छौं ! त्यस्तै सिकाए पूर्खाहरुले नै के गर्नु ?

होईन अब त्यसो भनेर हुन्न पारिका आएर सडक भरि पसल खोलेर,पानी पुरी बेचेर, हजाम भएर पनि करोडौ कुम्ल्याई सके ! काठमाण्डौ जतासुकै पारीकाले भरिएका छन् पहाड धरि छोडेनन सबै सेठ बनेर पो बसेका छन त अहिले त कहाँ त्यति मात्र हो र गाउँगाउँमा धान काट्ने, धान रोप्ने, खेतमा काम गर्ने सबै बिहारदेखि पो आउँदा रहेछन त । हाम्रातिरका त सबै कतार, अरब, दुबई मलेसिया, कोरिया, जापान गए रे । प्रायको घर–घरमा बाबु आमा मात्र छन् । छोरा छोरी सबै विदेश,कोही गई सके कोही जाने क्रममा छन । मेरो छिमेकीले छोरोलाई नजा विदेश भन्या रे आमा चाँहीलाई धाक देखाउन पनि विदेश नै पठाउनु पर्ने । त्यहि भएर पारिकाले भरे नि के गर्नु । पहाड त रित्तो भई सकेछ, मधेश, काठमाडौँ पनि बिस्तारी रित्तो हुने क्रममा छ बोर्डर खुल्ला छ अरुको आउछ र उनै त आउँछन ।

अब माथि बसेका टाउकेहरुलाई केही मतलब छैन भने हामीले मात्र के गर्नु र ? हाम्रो हातमा त केही नै छैन् ।

टाउकेलाई नी केही मतलब छैन, आफू बाँचुन्जेल पावर र कुर्सीको मतलब हो । यिनलाई देशको माया रत्तिभर छैन, भएको भए जथाभावी नागरिकता बाँड्थे र देशै सिध्याउने गरि ?

अनि प्रजातन्त्र हामीले ल्याएको भनेर खुब धाक लगाउँछन त ?

प्रजातन्त्र ल्याए भनेर के गर्नु अब देश नै आफ्नो रहने हो/हैन भन्ने भैसक्यो । देश मछली बजार जस्तो भएको छ । सबै आफ्ना–आफ्ना धुन मा छन्। कहीँ नियम कानुन छैन् । एउटा एता बुरुक्क उफ्रिन्छ, अर्को उता उफ्रिन्छ,प्रणालीगत सुधार, ब्यबस्था कतै छैन् । हा हा र हु हु मात्र छ । जता ततै लुट मात्र। पिडितले न्याय कहिले पाउँदैन। २५ बर्ष अगाडि जसरी चलेको थियो अहिले नि त्यसरी नै चलेको छ । पहाड रित्तो भै सक्यो । आफ्ना जनतालाई अरब,कतार पठाएको छ आफूहरु चाँही उपरखुट्टी लगाएर खाएको छ । कुनै सुधार छैन, कुनै नीति छैन । देशलाई कसरी सुरक्षित गर्ने कुनै दृष्टिकोण छैन, प्राकृतिक प्रकोपबाट देशलाई कसरी जोगाउने कुनै पूर्व तयारी छैन् । सहर व्यवस्थित नगर्दा, नदी नालालाई नै अतिक्रमण गरेर घर बनाउँदा अस्ति राजधानीमा नै कत्रो जात्रा भो । राजधानी जस्तो ठाउँमा बाढीले मान्छे मरे भने सुन्नु पर्दा कस्तो भो ? नौ जवानलाई कसरी आफ्नो देशमा रोक्ने, ब्रेन ड्रेन कसरी रोक्ने कुनै नीति छैन् । अनि यस्तो पाराले देश कसरी बच्ला र ? तै पशुपतिनाथले बचाइ दिए भने मात्र ।
पशुपतिनाथले पनि कसरी बचाउनु उहाँ पनि कब्जामा नै हुनुहुन्छ । राम राम भन्नु भन्दा बाहेक केही गर्न नसकिने भइयो । उफ ! सार्है पीडा हुन्छ !!

दुर्गा ढकाल
हाल : बेलायत

प्रतिक्रिया