कम्युनिस्ट पार्टीमा विरोधी किन सक्काइन्छन् ?
समाचार विश्लेषण । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई चुनौती दिदै आएका पूर्वउपाध्यक्ष डा. भीम रावललाई पार्टीबाटै निष्काशित गरिदिएका छन् । रावलले एमाले पार्टी कार्यालयको भवन निर्माण विवादास्पद व्यवसायी मीनबहादुर गुरुङमार्फत् गराउन खोजेकोमा विरोध गरेका थिए ।
रावल ओलीको कार्यशैलीका कटु आलोचक हुन् । उनलाई २०७९ को चुनावमा ओलीले टिकट रोकिदिएका थिए । ओलीले एकपछि अर्को विरोधीलाई पार्टीबाट हटाउने र राजनीति नै सक्याउने गरी कडा नीति लिइरहेका छन् ।
माओवादी अध्यक्ष प्रचण्डले पनि आफ्ना आन्तरिक प्रतिद्वन्द्वी यामप्रसाद गौतम आलोकलाई राजनीतिक रुपमा सक्याएको र उनको रहस्यमयी मृत्यु भएको विषय उठ्ने गरेको छ । प्रचण्डले विरोधीप्रति कडा नीति लिने क्रममा बादललाई पनि पेलेका थिए । डा. बाबुराम भट्टराईले त माओवादी नै छाडे ।
नेपालको मात्र नभई विश्व कम्युनिस्ट राजनीतिमा यस्ता घटना भइरहन्छन् । उत्तर कोरियामा कम्युनिस्ट शासक किम जोङ ऊनले आफ्ना विरोधीलाई समाप्त पारेका धेरै घटना भइसके । चीनका राष्ट्रपति सी चिनफिङले पनि आफ्ना प्रतिष्पर्धीलाई भौतिक रुपमै समाप्त पारिदिए ।
तत्कालिन सोभियत संघमा स्टालिनले आफ्ना विरोधीलाई समाप्त पारे । उनले परिवारका सदस्यको समेत हत्या गरे ।
कम्युनिस्ट पार्टीमा अध्यक्षको एकलौटी चल्छ । भन्नलाई सचिवालय, पोलिटब्यूरो, हाइकमाण्ड टोली जे भनेपनि अध्यक्षकै एकाधिकार रहन्छ । जसले उसको विरोध गर्छ ऊ सकिन्छ ।