दुर्गा पक्राउ, कम्बोडियामा ओलीको धनबारे खबर छाप्ने ज्याकार्डलाई के ?
काठमाडौं, ४ मंसिर । कम्बोडियामा प्रधानमन्त्री केपी शर्मा ओलीको अरबौं लगानीको तथ्यप्रमाण भन्दै दुर्गा प्रसाईँले सार्वजनिक गरेको कागजागत नक्कली भएको नेपाल प्रहरीको सीआइबीको निष्कर्ष छ । सीआईबीका निर्देशक एआइजी दिपक थापाले नक्कली कागजात भएकै आधारमा प्रसाईँलाई पक्राउ गरिएको बताएका छन् ।
ओली प्रधानमन्त्री छन् र सीआइबी उनको निर्देशन अनुसार चल्छ नै । प्रसाईँले सार्वजनिक गरेको कागजातको विषय भविष्यमा अदालत सम्म पुग्ला नै । तर, कम्बोडियामा ओलीको लगानीको दाबीसहित रिपोर्ट त ४ वर्ष अघि नै भएको थियो ।
सँसारकै प्रभावशाली मध्येका खोजपत्रकार रोलान्ड ज्याकार्डले ग्लोबल वाच एनलिसिसमा ओलीसँग जोडिएका व्यक्ति र सम्पत्तिबारे रिपोर्टमा उल्लेख गरेका छन् । ग्लोबल वाच एनलिसिसमा १२ जुलाई सन् २०२० मा ज्याकार्डको बाइलाइनमा प्रकाशित गरेको रिपोर्टमा ओलीले कम्बोडियाको टेलिकम्युनिकेशन क्षेत्रमा लगानी गरेको खुलासा छ । ओलीनिकट व्यवसायी आङ छिरिङ शेर्पा लगानीको डिलमा सक्रिय भएको उल्लेख गरेका छन् । शेर्पा दिवंगत भइसके र ओलीका खास विश्वासपात्र थिए । शेर्पाको परिवारका सदस्यलाई स्पेनको राजदूत समेत बनाइदिएका थिए ओलीले । उनको व्यवसायलाई लाभ हुनेगरी क्याबिनेटबाटै कतिपय निर्णय गराएका थिए ।
ओलीको कम्बोडियामा लगानीका लागि तत्कालीन चिनियाँ राजदूत हु छुन्ताईले भूमिका खेलेको र कम्बोडियामा त्यहाँका प्रधानमन्त्री हुन सेनले हस्तक्षेप नै गरेको रिपोर्टमा भनिएको छ । बो जियानगेओ नामका चिनियाँ कूटनीतिज्ञले कम्बोडियामा बसेर सहजीकरण गरेको उल्लेख छ ।
यो खबर गलत हो भने अझै पनि इन्टरनेटमार्फत् वेवसाइटमा हेर्न सकिन्छ । ओली र उनको दल एमालेले उक्त खबरविरुद्ध कुनै कदम चाल्न सकेको छैन । ज्याकार्ड त्यस्तो देशका नागरिक हुन् जहाँ भ्रामक खबर छाप्ने वा प्रकाशित गर्नेलाई कडा सजाय र जरिवाना समेत हुन्छ । अर्थात् उनी फ्रान्सेली नागरिक हुन् ।
फ्रान्समा सन् २०१८ पछि भ्रामक समाचार प्रकाशित गर्ने पत्रकारलाई एक वर्ष जेल र ७५ हजार यूरो अर्थात् नेपाली एक करोडसम्मको जरिवानाको व्यवस्था छ । त्यस्ता भ्रामक समाचार हटाइने कानून छ त्यहाँ । फेक न्युज एक्ट इमानुअल म्याक्रोन राष्ट्रपति छँदा नै २०१८ मा फ्रान्सको संसदले पारित गरेको थियो । तर, ओलीको विषयमा खबर भ्रामक हो भने २०२० को उक्त खबर अझैसम्म हटाइएको छैन । न त ज्याकार्डलाई कारबाही नै भएको छ ।
त्यसो त सँसारका सनसनीपूर्ण भ्रष्टाचार र संगठित अपराधको घटनाबारे खुलासा गर्छन ज्याकार्ड । सत्ता चलाउनेहरुको कर्तुतहरुको पनि सप्रमाण खुलासा गर्छन् । उनी कुनैबेला तत्कालीन फ्रान्सका राष्ट्रपति ज्याक सिराकका सल्लाहकार टोलीमा थिए । ज्याकार्ड आतंकवादको अध्ययनमा खप्पिस छन् । सँसारमा आतंकवाद कसरी चलिरहेको छ र कहाँ कहाँ पैसा कसरी लगानी भइरहेको छ भन्ने खुलासा गर्छन् ।