७ कार्तिक २०८१, बुधबार | October 23, 2024

कृषि सचिवको मनोमानी,वन सचिवको भाग खोस्दै मनोनयनविना नै कोलम्बिया उडे


October 23, 2024
166
Shares

काठमाडौं,७ कात्तिक । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका कृषि सचिव डा. गोविन्दप्रसाद शर्मा वन सचिव जानुपर्ने एक वैदेशिक कार्यक्रममा आफैं गएका छन्। सरकारको मनोनयनविना र परराष्ट्र मन्त्रालयको अधिकारपत्र (क्रेडेन्सियल) विना नै कृषि सचिव शर्मा मनोमानी रूपमा कोलम्बियाको कालीमा पुगेका हुन्।

२१ अक्टोबरदेखि नोभेम्बर १ सम्म कोलम्बियाको कालीमा भइरहेको जैविक विविधता महासन्धिको १६औं पक्ष राष्ट्रको सम्मेलन ९कोप १६० मा भाग लिन कृषि सचिव शर्मा वन सचिवको भाग खोस्दै आफैं पुगेपछि उनी विवादमा तानिएका हुन् । वन सचिव जानुपर्ने कार्यक्रममा जबरजस्ती गएका तथा मनोनयनविना नै त्यसतर्फ गएको भन्दै सचिव शर्मामाथि सरकारले कारवाही गर्नुपर्ने माग वनका कर्मचारीहरूको छ।

अधिकारपत्र र सरकारको मनोनय नभएकाले उनले त्यहाँ भएको सम्मेलनमा नेपालको तर्फबाट कार्यक्रममा औपचारिक प्रतिनिधित्व गर्न र कार्यक्रममा भाग लिन भने पाउने छैनन्। यद्यपि, कृषि सचिव शर्मा घुमघाम गर्ने उद्देश्यले त्यहाँ पुगेको बताइएको छ । जसका कारण नेपालको बेइज्जत हुन सक्ने देखिएको छ।

स्रोतका अनुसार मन्त्रिपरिषद्ले दुई महिनाअघि नै सो सम्मेलनमा नेपालको तर्फबाट भाग लिनका लागि वन तथा वातावरण मन्त्रालयका सचिवले प्रतिनिधित्व गर्ने गरी निर्णय गरेको थियो । त्यतिखेर शर्मा वन सचिव भए पनि मन्त्रिपरिषद्ले निर्णय गर्दा वन सचिव जाने निर्णय गरे पनि सचिवको नाम भने किटान गरिएको थिएन।

यसैबीचमा तत्कालीन वन तथा वातावरण सचिव शर्माको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयमा सरुवा भएको थियो । शर्माको एक महिनाअघि नै कृषिमा सरुवा भएको थियो भने वन तथा वातावरण मन्त्रालयमा कृषि मन्त्रालयका सचिव डा। दीपक खरालको सरुवा भएको थियो । यस हिसाबले कोलम्बियामा भइरहेको कार्यक्रममा वन सचिव डा। खराल नै सहभागी हुनुपर्नेमा एक महिनाअघि नै वन मन्त्रालय छोडेका कृषि सचिव शर्मा जबरजस्ती आफैं गएका हुन्।

एकजना सचिव गइसकेपछि फेरि अर्को सचिव जान नहुने र विवाद हुने भन्दै वन सचिव डा। खराल भने आफैं जानुपर्ने कार्यक्रममा नगई ब्याक हुनुभएको थियो । केही समय अघिमात्रै वन तथा वातावरण मन्त्रालयमा समेत यो विषयमा छलफल भएको थियो।

वनमन्त्री ऐनबहादुर शाहीले समेत कृषि सचिव शर्मालाई टेलिफोन गरी सो कार्यक्रममा कृषि सचिव नभई वन सचिव नै जानुपर्ने भन्दै कृषि सचिवलाई नजान आग्रह गर्नुभएको थियो । तर, कृषि सचिव शर्माले आफूले सबै चाँजोपाजो मिलाएकाले आफैं जाने भन्दै वन मन्त्रीको आग्रहलाई समेत अटेर गर्नुभएको थियो।

वन मन्त्रालयका अधिकारीहरूले कृषि सचिव शर्मालाई मनोनयन स्वीकृत गर्दै परराष्ट्रबाट अधिकारपत्र लिएर जान आग्रह गरेका थिए तर उहाँले त्यसमा बेवास्ता गर्दै आफूखुसी कोलम्बिया गएपछि वन मन्त्रालयका अधिकारीहरू आश्चर्यमा परेका थिए ।

कृषि सचिव शर्माले औपचारिक कार्यक्रममा भाग लिन नपाउने भएपछि नेपालको आधिकारिक प्रतिनिधित्वसमेत नहुने र जैविक विविधतासम्बन्धी विभिन्न एजेन्डामा नेपालले आफ्ना कुराहरू प्रस्तुत गर्ने अवसर गुमाएको छ। उता, जबरजस्ती कार्यक्रममा गएका कृषि सचिव शर्मा भने विभिन्न घुमघाम र भेटघाटमा मात्रै व्यस्त भइरहेको बताइएको छ। समाचारपत्र

प्रतिक्रिया