३ कार्तिक २०८१, शनिबार | October 19, 2024

ओली र देउवा आफ्ना दलमा रहेका सहकारी ठगको संरक्षणमा


October 19, 2024
581
Shares

काठमाडौं, ३ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले सहकारी ठगी प्रकरणको छानविनमा जोड मात्र दिएन आरोपीलाई धमाधम पक्राउ गर्न थाल्यो । रोचक त यो छ कि पक्राउ पर्नेमा अधिकांश गैर काँग्रेस र गैर एमालेनिकटस्थ छन् ।

देशमा ३० हजारभन्दा बढी सहकारी रहेकोमा अधिकांशको संचालनमा काँग्रेस र एमालेका नेता कार्यकर्ता, तिनका परिवारका सदस्य वा विश्वासपात्र छन् । ठगी प्रकरणमा पनि उनीहरुकै आसेपासो छन् । ठगी गरेर फरार हुनेमा पनि उनीहरु नै बढी छन् ।

सहकारी ठगी प्रकरणमा रवि लामिछानेको नाम निकै चर्चामा आयो । उनीनिकट जीबी राई पनि फरार भए । तर, फरार हुने धेरैजसोमा काँग्रेस र एमालेनिकट नै छन् ।

काँग्रेस उपसभापति धनराज गुरुङ ललितपुरको मितेरी सहकारीको करोडौं ठगीमा मुछिएका छन् । उनकी पत्नी ज्योति गुरुङ यही प्रकरणमा फरार भएपछि डिभोर्स नै गरे । तर, उनीहरुबीच अमेरिकामै भेटघाट हुने गरेको तथ्य बाहिरिइसकेको छ । आर्थिक व्यवस्थापन पनि भइरहेको छ ।

काँग्रेस नेतृत्वको सरकार भएकाले धनराजमाथि अनुसन्धान बढेन । उनकी पत्नी ज्योति गुरुङलाई पक्राउ गर्न पनि सरकारले चासो देखाएन । काँग्रेस सभापति शेरबहादुर देउवाको दबाबमा धनराजमाथि अनुसन्धान रोकिएको छ । देउवा आफ्ना कार्यकर्ता ठगीमा संलग्न भएमा संरक्षणमा लागेका छन् ।

एमाले सांसद समेत रहेका सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइराला पनि मोरङको उमागौरी सहकारीको १४ करोड ५६ लाख हिनामिना प्रकरणमा संलग्न पाइएकी छिन् । उनलाई जोगाउन राज्यशक्ति नै लाग्यो । सहकारीको १० वर्षको अवधिको काजगपत्र नै गायब पारिएको छ । उनीमाथि अनुसन्धान नगर्न पत्राचार समेत भयो ।

उमागौरी सहकारी स्थापना ऋषिकेश पोखरेलले नै गरेका थिए । उनले पत्नी अञ्जलालाई संचालक समितिमा राखे । अहिले पनि उक्त सहकारीको अध्यक्ष ऋषिकेश निकट एमाले कार्यकर्ता शम्भुप्रसाद रौनियार छन् ।

देशमा सहकारीको खरबौं ठगी भएको छ । त्यस्ता सहकारीका संचालकमध्ये अधिकांश काँग्रेस र एमालेका कार्यकर्ता छन् । माओवादी कार्यकर्ताको पनि संलग्नता देखिन्छ । तर, शक्तिको आँडमा उनीहरुलाई उन्मुक्ति दिन खोजिएको छ । प्रधानमन्त्री केपी ओली सहकारी ठगीमा संलग्न आफ्ना नेता कार्यकर्ता र तिनका परिवारका सदस्यको संरक्षणमा लागेका छन् ।

प्रतिक्रिया