८ आश्विन २०८१, मंगलबार | September 24, 2024

टुँडीखेलमा युवाहरूको आक्रोश देशमा राजनीतिक परिवर्तनको आवश्यकता


August 28, 2024
2.9k
Shares

संजिब गुरुङ्ग । हरेक समय र कालखण्ड परिवर्तनसँगै नेपाली भूमिमा थुप्रै राजनीतिक परिवर्तन भए तर नेताहरुको मनस्थिति बदलिएको देखिदैन् । नयाँ पार्टी हरेक वर्ष नयाँ नेतृत्वका साथ जन्मिएको देखिए पनि नेतृत्वमा रहेका अनुहारहरू भने पुरानै देखिन्छन् ।

पुरानै शैलीमा पुरानै तरिकाबाट रूपान्तरित समाजलाई पुरानै ढङ्गले चलाउन खोज्नु पनि मुर्खता हो । समय सँगसँगै बदलिएको सोच, बदलिएका नीतिसँगै परिवर्तित समाज र मनोभावनाहरु परिवर्तन सँगै राजनीतिक दलहरूका नेताहरु परिवर्तन हुन नसक्दा आज समाजमा आम युवा वर्गहरूमा वितृष्णा ब्यापक बढ्दै गइरहेको छ ।

त्यसको पछिल्लो उदाहरण हो, मंगलबार टुडिखेलमा गौरापर्व मनाइरहँदा अथितिको रूपमा आथित्यता ग्रहण गर्न पुगेका प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व प्रधानमन्त्री शेरबहादुर देउवालाई केही युवा जथ्ताले गालीगलौज गर्दै सरकारको विरुद्ध नारा लगाउनु ।

आज देशमा परिवर्तन खोजेको देखिन्छ यदि सत्ता पक्ष होस् वा प्रतिपक्षमा बस्ने अग्रजहरू नसच्चिने हो भने कतै विद्रोहको नाममा अराजक भिडहरूले देशमा अशान्ति पैदा गर्ने पो हो कि यो ठूलो चिन्ताको विषय हो ।
अराजक भिडहरूले ल्याएको परिवर्तनबाट देशमा दिगो शान्ति नहुने यो पक्का छ । हरेक सत्तामा रहेका सत्तापछि होस् या प्रतिपक्षमा रहेका प्रतिपक्ष सरकारी निकायका सुरक्षामा अहोरात्र खटिएका सुरक्षा प्रमुखहरू अब जिम्मेवारी भूमिकामा प्रस्तुत हुने बेला आएको छ।

मंगलबारको घटना अराजक गतिविधिको एउटा सङ्केत मात्रै हो । भनिन्छ, आगोको झिल्को सानो भएपनि भयावह रुप लिन सक्छ । सानो कुरा भन्दै आवाज दबाउनु भन्दा बेलैमा समाधान गर्नुपर्ने आजको टट्कारो आवश्यकता हो । कहिलेकाहीँ ठूलो रूपमा परिणत भई देश र जनताको लागि अहितकारी कारक बन्न पनि सक्छ ,त्यसैले सचेत नागरिक भई सचेतनाका साथ देशमा शान्ति सुव्यवस्था कायम गर्न अहिलेको आवश्यकता हो । अंहमता र दमनले भरिएको राजनीति नेपाली भूमिमा छाइरहँदा मै ठूलो मै सर्वे सर्वा म जस्तो कोही छैन्, भनिरहँदा अहमताको राजनीतिको छिट्टै अन्त्य हुनेछ ।

नयाँ युवाहरूको जोस र जागरलाई कुल्चिन्ने प्रयत्न मात्र गरियो भने यसको अन्त्य पक्का हुनेछ,सत्तापक्ष र विपक्षमा रहेका विपक्षी दललाई आग्रह हो । जनताले परिवर्तन खोजिरहेको छ, देशमा परिवर्तनको खाँचो छ, नेपालीसँग धैर्य गर्ने साहस छ, धैर्य गरिरहेको छ तर ती इमान्दार नागरिकहरुको भावनामाथि खेलवाड गर्नेहरुको पनि बाक्लै जमात छ ।

अब सरकार चलाउने नेतृत्वले विचार गर्दा हुन्छ, नत्र यसले कतै दुर्घटना त निम्त्याउने होइन । यदि नेतृत्व तहले दम्भ र अंहमता मात्र बोकिरहने हो भने संयम न अपनाउने हो भने अबको युवाहरू त्यसै चुप लागेर बस्ने छैनन्, कुनै न कुनै माध्यम हेरिरहेको छ । परिवर्तन आजको आवश्यकता हो र परिवर्तित समाज निर्माणको बाटो जहिले पनि खुला रहनुपर्छ। जय होस्

(गुरुङ नेपाल तरुण दलका केन्द्रीय सदस्य हुन् ।)

 

प्रतिक्रिया