सुनिल भ्रष्टाचारी ठहरेको ३ दिनपछि विकल पौडेल माथि अर्को भ्रष्टाचार मुद्दा
काठमाडौं,९ वैशाख। विशेष अदालतले ‘नेसनल पेमेन्ट गेटवे’मा सुनिल पौडेललाई भ्रष्टाचारी ठहर गरेको तेस्रो दिन विकल पौडेलमाथि भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध आफ्नो ओहोदा ढाँटेर सार्वजनिक पद लिएको आरोपमा मुद्दा हालेको हो ।
सुरक्षण मुद्रण केन्द्रको खरिदमा भ्रष्टाचार मुद्दा लागेका विकलविरुद्ध अख्तियारले आइतबार विशेष अदालतमा अर्को भ्रष्टाचार मुद्दा दायर गरेको हो । उनीमाथि अख्तियारले अकुत सम्पत्ति आर्जनको विषयमा पनि अनुसन्धान गरिरहेको छ ।
अमेरिकाको कानुनी स्थायी आवासीय अनुमतिपत्र लिएका विकललाई उक्त कुरा ढाँटेर सार्वजनिक पदमा नियुक्ति खाएको पाइएपछि अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको हो । उनले अमेरिकाको पीआर लिएपछि सुरक्षण मुद्रण केन्द्रको दोहोऱ्याएर कार्यकारी निर्देशकमा नियुक्ति लिएका थिए । यो गैह्र कानुनी कार्य हो ।
श्रीमती डा। एलिना बस्नेतको नाममा अमेरिकामा घर किनेका विकल अहिले अख्तियारको हिरासतमा छन् । सिंगापुरस्थित ओम्नी ग्रुपको ब्याङ्कोटेक कम्पनीका काम गरिरहेका विकलले सुरक्षण मुद्रण केन्द्रको कार्यकारी र सुनिलले राष्ट्रिय सूचना प्रविधि केन्द्रको कार्यकारी निर्देशक हुँदै नेपाल टेलिकमको प्रबन्ध निर्देशक बन्न सफल भएका थिए । विदेशी कम्पनीमा काम गर्ने सुनिल र विकललाई सरकारी नियुक्ति दिएको स्वास्थ्य लाइभले खुलासा गरिसकेको छ ।