६ आश्विन २०८१, आइतबार | September 22, 2024

रवि लामिछाने सत्ताकै चास्नीमा डुब्दै


415
Shares

काठमाडौं, १६ चैत्र । रवि लामिछानेले पुराना दलहरुप्रतिको असन्तुष्टिलाई आफ्नो शक्ति वृद्धिको आधार बनाएका छन् । उनले कुनै नयाँपन दिन सकेका छैनन् । मात्र असन्तुष्टिको फाइदा लिइरहेका छन् । सरकारमा दुईपटक प्रवेश गरिसकेका छन् रवि । उनले दुवैपटक काम कम चर्चा बढी पाउने गतिविधि देखाए । अमेरिकामा बैंकहरुको ऋण लिएर नेपाल छिरेका लामिछानेले सुरुमा बुद्ध नेपालमा जन्मिएको भनी कार्यक्रम चलाए । बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने विषय वास्तवमा कुनै विषय नै थिएन । बुद्ध नेपालमै जन्मिएका थिए । उनले नेपाली जनताको भावनामा खुबै खेले । टेलिभिजन कार्यक्रममार्फत् चर्चामा पुगेका उनले नेटवर्क व्यवसायीसँग सम्पर्क बनाए । यही सम्पर्कका माध्यमले उनले दल खोल्ने नेटवर्क नै तयार गरे ।

समयले रविलाई उपप्रधानमन्त्री दुई पटक बनाइसकेको छ । तर, उनी काम कम चर्चा धेरैमा रमाउन थालेका छन् । उपप्रधानमन्त्री भएलगत्तै उनले सुन तस्कर समाउने अभियान चलाए । माओवादीका प्रभावशाली नेताहरु नै पक्राउ परे । तर, विभिन्न बहानामा उनीहरुलाई उन्मुक्ति दिने क्रम चलिसकेको छ । लामिछानेले सुन तस्करीमा अनुमानको भरमा विभिन्न व्यक्तिलाई कारबाही चलाउने सम्मको चेतावनी दिए । उनले सुन तस्करी छानविनका लागि अर्को समिति नै बनाउन लगाएका छन् । समितिले अब को को नयाँ व्यक्तिलाई पक्राउ गर्छ भन्ने चासो रहेको छ । प्रमाणभन्दा अनुमानको भरमा लान्छना लगाउने प्रवृत्ति लामिछानेका देखिएको छ ।

सीआईबीमा रहँदै कारबाही सिफारिशमा परेका एआइजी किरण बज्राचार्य, एसपी सञ्जयसिंह थापा र डिएसपीहरु रुगम कुँवर र दुर्गा दाहालमाथि थप छानविन र कारबाहीको नियत रविमा देखिन्छ । यसका लागि गृहको कानून महाशाखाका सहसचिव भरतमणि रिजाल नेतृत्वको तीन सदस्यीय समिति बनेका छन् जसमा डिआइजी भीमप्रसाद ढकाल र गृहका उपसचिव रामबहादुर शाही छन् । यो समितिले कारबाही थप बढाउने उद्देश्य राखेको छ । यसमा पनि रविले स्टन्टनै मार्न खोजेका छन् ।

सहकारी ठगी प्रकरणमा मुछिएका जीबी राईलाई कुनै हालतमा पक्राउ गर्ने भन्दै रविले बोलेका छन् । तर, जीबी राईको नाममा रेड कर्नर नोटिश जारी भएपनि पक्राउ परेका छैनन् । राई रविका पुराना व्यवसायिक साझेदार हुन् । यसबारे प्रमाणहरु नै सार्वजनिक भइसकेको छ । गृहमन्त्रालय संवेदनशील मन्त्रालय हो । गृहमन्त्रीको अभिव्यक्ति निकै महत्वपूर्ण हुन्छ । तर, रविले स्टन्टका लागि कडा अभिव्यक्ति दिदै हिंडेका छन् । उनी फेरि चर्चामाथि चर्चा कमाउन चाहन्छन् । चर्चा बटुलेर लोकप्रीय हुने र मिसन २०८४ भन्दै हिंडिरहेका छन् । रोचक त यो छ कि रवि लामिछानेसँग राजनीतिमा आवश्यक पर्ने कुनै बलियो राजनीतिक सिद्धान्तको धरातल छैन । उनको धरातल भनेको क्षणिक चर्चा नै हो । यो तलमाथि भएमा रविको राजनीतिक तासको घर जस्तै गर्लामर्गुलुम्म ढल्नसक्छ । उनलाई सरकारमा रहेका दलहरुले सत्ताको चास्नीमा डुबाउन खोजिरहेका छन् ।

प्रतिक्रिया