के काँग्रेसले रवि लामिछानेलाई प्रधानमन्त्री प्रस्ताव गरेको हो ?
काठमाडौं, ४ चैत्र । नेपाली काँग्रेससहितको तत्कालीन सत्ता गठबन्धन टुटेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई प्रधानमन्त्रीको प्रस्तावको विषयले देशको राजनीतिलाई गर्माएको थियो । रास्वपा उपसभापति स्वर्णिम वाग्लेले प्रधानमन्त्री बनाइदेलान् भनेर भागी भागी हिंड्नुपरेको छ भनी काँग्रेस नेताहरुलाई व्यङ्ग्य पनि गरे ।
वाग्ले विगतमा काँग्रेसमा रहेर लाभको पदमा समेत बसेका थिए । उनी काँग्रेस छाडी रास्वपामा प्रवेश गरेका थिए । वाग्लेको यो भनाईले तरंग ल्यायो ।
वामपन्थी गठबन्धन बन्न लाग्दा काँग्रेस सभापति शेरबहादुर देउवाले प्रचण्डलाई बहुमतबाट रोक्न प्रयास गरेका थिए । तर उनी रवि लामिछानेलाई प्रधानमन्त्री बनाउने पक्षमा भने उभिएनन् । काँग्रेसभित्र एक पक्षले रविलाई साथ दिएर भएपनि प्रचण्डलाई धक्का दिनुपर्ने मत राखेका थिए । तर, देउवा माधव नेपाललाई प्रधानमन्त्री दिएर भएपनि वामपन्थी गठबन्धन रोक्ने प्रयासमा उभिए ।
जनता समाजवादी पार्टी केही समय रोकियो सरकारमा जान । देउवाले माधव नेपाललाई मनाउन सक्ने आशामा थिए उनी । तर, राप्रपाको पनि साथ चाहिन्थ्यो माधव नेपाललाई प्रधानमन्त्री बनाउन । त्यसपछि प्रचण्डलाई रोक्ने प्रयास विफल भयो ।
रवि लामिछाने पनि काँग्रेसरहितको गठबन्धनमै रहन तयार हुँदै आएका छन् । पहिलोपटक गठबन्धन बन्दा पनि लामिछाने माओवादी र एमालेसहितको गठबन्धनमा थिए । तर, प्रचण्डले गठबन्धन तोडेपछि रवि पनि सरकारबाट बाहिरिएका थिए ।
लामिछानेप्रति काँग्रेस आक्रामक बनेको छ अहिले । सहकारी ठगी प्रकरणमा रवि लामिछानेविरुद्ध काँग्रेस सदनमा कडा रुपमा उत्रिएको छ । उनको गृहमन्त्रीबाट राजीनामा मागिएको छ । सहकारी ठगी प्रकरणमा मुछिएका रविलाई कुनै हालतमा गृहमन्त्रीमा रहन दिन नहुने पक्षमा काँग्रेस देखिएको छ ।
काँग्रेसले लामिछानेलाई यसकारण पनि प्रधानमन्त्रीको प्रस्ताव गरेको पत्याउन मुश्किल देखिन्छ । उनीविरुद्ध काँग्रेस कठोर छ । लामिछाने पनि काँग्रेसविरुद्ध लक्षित रहेर काम बढाइरहेका छन् ।