देउवा पक्षको काठमाडौं सभापतिमा जयकृष्ण महर्जन सर्वसम्मत
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले काठमाडौं जिल्ला सभापतिको जिम्मेवारी युवा नेता जयकृष्ण महर्जनलाई दिएको छ ।
नेपाली कांग्रेसको १५औँ नियमित महाधिवेशनअन्तर्गत देउवा पक्षको काठमाडौं जिल्ला समितिको आज आयोजित घोषणा सभाबाट महर्जन सभापतिमा सर्वसम्मत मनोनित भएका हुन्। कार्यक्रममा प्रमुख अतिथि प्रकाशमान सिंहले उनलाई प्रमाणपत्र हस्तान्तरण गर्दै सभापतिको जिम्मेवारी प्रदान गरेका थिए।
देउवा पक्षले अधिकांश जिल्लामा अधिवेशन सम्पन्न गरी नयाँ नेतृत्व चयन गरिसकेको छ। तीमध्ये अधिकांश जिल्लामा सहमतिका आधारमा सभापतिसहित पदाधिकारी र कार्यसमिति चयन गरिएको बताइएको छ।
विद्यार्थी राजनीतिबाट कांग्रेसको मूल राजनीतिमा स्थापित महर्जन नेपाल विद्यार्थी संघ (नेविसंघ) का पूर्वकेन्द्रीय सदस्य तथा शंकरदेव क्याम्पसका पूर्वस्ववियु सभापति हुन्। उनले काठमाडौं क्षेत्र नम्बर ९ को क्षेत्रीय सभापतिको जिम्मेवारीसमेत दुई कार्यकाल सम्हालिसकेका छन्।
पार्टी संगठन निर्माण र गतिविधिमा सक्रिय महर्जनलाई यसअघि कांग्रेसको संस्थापन इतर समूहले १५औँ महाधिवेशनको तयारीका लागि काठमाडौं जिल्ला संयोजकको जिम्मेवारी दिएको थियो।
काठमाडौं जिल्ला सभापतिमा उनको मनोनयनलाई राजधानीमा देउवा पक्षको संगठन विस्तार र आगामी महाधिवेशनको तयारीसँग जोडेर हेरिएको छ। महर्जनको नेतृत्वमा काठमाडौंमा पार्टीको संगठनात्मक गतिविधि थप सक्रिय हुने अपेक्षा गरिएको छ।





