११ मंसिर २०८३, शुक्रबार | November 27, 2026

मलेसिया प्रकरणमा सभामुखको तत्कालीन मन्त्रीकालमाथि प्रश्न


November 27, 2026
0
Shares

काठमाडौं । मलेसिया जाने नेपाली कामदारबाट स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा रकम असुलेर पठाइएको भनिएको प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान तीव्र बनाएको छ।

यसैक्रममा तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षासचिव एवं पूर्वमुख्यसचिव एकनारायण अर्याललाई बिहीबार नियन्त्रणमा लिइएको छ। उनी सचिव हुँदा शेरबहादुर कुँवर, डोलप्रसाद अर्याल र शरत्सिंह भण्डारी श्रममन्त्री थिए।

यसअघि यही प्रकरणमा तत्कालीन श्रममन्त्रीहरू रामेश्वर राय यादव र शेरबहादुर कुँवर, तत्कालीन श्रमसचिव विनोद केसीसहित १० जना पक्राउ परिसकेका छन्।

डोलप्रसाद अर्याल दोस्रोपटक श्रममन्त्री भएका बेला पनि मलेसियामा रकम पठाउन प्रक्रिया अघि बढाइएको विवरण सार्वजनिक भएपछि उनीमाथि समेत छानबिन हुनुपर्ने आवाज उठिरहेको छ।

विभिन्न सञ्चारमाध्यममा सार्वजनिक विवरण तथा अनुसन्धानसँग सम्बन्धित स्रोतलाई उद्धृत गर्दै आएका समाचारअनुसार अर्याल श्रममन्त्री रहेका बेला २०८० चैत २५ गते मन्त्रालयले नेपाल राष्ट्र बैंकलाई दुईवटा पत्र पठाएको थियो।

ती पत्रमा बायो मेडिकल सिस्टम ९बीएमएस० सेवा शुल्कबापत दुई किस्तामा २१ लाख ३१ हजार ७४० मलेसियन रिंगिट अर्थात् तत्कालीन विनिमय दरअनुसार करिब ७ करोड २९ लाख रुपैयाँ मलेसिया पठाउन विदेशी मुद्रा सटही सुविधा माग गरिएको उल्लेख छ।

डोलप्रसाद अर्याल २०८० फागुन २३ देखि २०८१ असार ३१ सम्म श्रममन्त्री थिए। यद्यपि, सीआईबी स्रोतका अनुसार उनी र अर्का तत्कालीन श्रममन्त्री शरत्सिंह भण्डारीलाई हालसम्म अनुसन्धानको दायरामा राखिएको छैन।

प्रतिक्रिया