रास्कोट नगरपालिकाको राजनीतिले कालिकोटको ध्यान तान्यो : मेयरका आकाङ्क्षी बढ्दै,जातीय समीकरणले राजनीतिक माहोल तरङ्गित
कालिकोट। कालिकोट जिल्लाको सदरमुकामदेखि करिब ६७ किलोमिटर दूरीमा रहेको रास्कोट नगरपालिका पछिल्लो समय जिल्लाकै राजनीतिक चर्चाको केन्द्र बनेको छ। स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा यहाँ विभिन्न राजनीतिक दलबाट मेयर पदका आकाङ्क्षीहरू बढ्दै गएका छन्।
यससँगै नगरपालिकाको राजनीतिक माहोल पनि दिनप्रतिदिन तातिँदै गएको देखिन्छ। रास्कोट नगरपालिकामा आगामी निर्वाचनलाई लक्षित गर्दै विभिन्न दलका नेताहरूले आफ्नो राजनीतिक सक्रियता बढाएका छन्। विशेषगरी २०७४ र २०७९ सालका स्थानीय निर्वाचनमा मेयर पदका प्रत्यासी उम्मेदवारहरूसमेत पुनः राजनीतिक प्रतिस्पर्धामा चासो देखाउन थालेपछि चुनावी समीकरण थप रोचक बन्दै गएको छ।
यद्यपि, पछिल्लो समय रास्कोटको राजनीतिमा विकास, सुशासन र जनताको आवश्यकता भन्दा जातीय समीकरणको चर्चा बढी हुन थालेको स्थानीय राजनीतिक वृत्तमा देखिन्छ। सामाजिक सञ्जालमा भइरहेका बहस तथा अभिव्यक्तिहरूलाई हेर्दा केही व्यक्तिहरू पार्टीगत विचार र राजनीतिक सिद्धान्तभन्दा जातीय पहिचानलाई प्राथमिकता दिँदै अघि बढेको देखिन्छ। रास्कोट नगरपालिकामा ठकुरी, ब्राह्मण, क्षेत्री तथा दलित समुदायको उल्लेख्य उपस्थिति रहेको छ।
विभिन्न समुदायबीच राजनीतिक प्रतिनिधित्व र प्रभावको विषयले पनि चुनावी बहसलाई थप जटिल बनाएको छ। केही राजनीतिक विश्लेषक तथा स्थानीय जानकारहरूका अनुसार जातीय समीकरणले निर्वाचनको परिणाममा प्रभाव पार्न सक्ने सम्भावना देखिए पनि यसको वास्तविक निर्धारण मतदाताको निर्णयबाट हुनेछ। जातीय राजनीतिले प्राथमिकता पाउँदै जाँदा नगरपालिकाको समग्र विकास, शिक्षा, स्वास्थ्य, सडक, रोजगारी र सुशासनका मुद्दा ओझेलमा पर्ने हो कि भन्ने चिन्ता पनि व्यक्त हुन थालेको छ। राजनीतिक दलहरूबीचको प्रतिस्पर्धा स्वाभाविक भए पनि जातीय आधारमा समाज विभाजित हुने अवस्था आउनु लोकतान्त्रिक अभ्यासका लागि चुनौती बन्न सक्छ।
यसै सन्दर्भमा स्थानीय सुरेश बहादुर शाहीले रास्कोटका सोझा–साझा नागरिकहरू राजनीतिक अन्योलमा परेको बताएका छन्। उनका अनुसार अहिलेको राजनीतिक वातावरणमा जनताले विकास र जनहितका मुद्दालाई प्राथमिकता दिने नेतृत्व छनोट गर्न कठिनाइ महसुस गरिरहेका छन्। रास्कोट नगरपालिकाको आगामी राजनीतिक दिशा कस्तो हुने भन्ने विषय अहिले कालिकोट जिल्लाकै चासोको विषय बनेको छ।
जातीय समीकरण, दलगत प्रतिस्पर्धा र व्यक्तिगत आकाङ्क्षाबीच रास्कोटका मतदाताले विकास, सुशासन र जनताको हितलाई केन्द्रमा राखेर निर्णय गर्नेछन् कि राजनीतिक ध्रुवीकरणले चुनावी परिणामलाई प्रभावित पार्नेछ—त्यसको उत्तर आगामी निर्वाचनले दिनेछ। रास्कोटको राजनीति अहिले एउटा महत्वपूर्ण मोडमा छ। यहाँको चुनावी प्रतिस्पर्धा केवल मेयर पदको दौड मात्र नभई सामाजिक सद्भाव, राजनीतिक परिपक्वता र विकासप्रतिको जनअपेक्षाको पनि परीक्षा बन्ने देखिन्छ।





