११ मंसिर २०८३, शुक्रबार | November 27, 2026

बालेन सरकारविरुद्धको आन्दोलनको औचित्यमाथि प्रकाश रायमाझीको प्रश्न


November 27, 2026
0
Shares

काठमाडौं । राजनीतिक विश्लेषक प्रकाश रायमाझीले प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारविरुद्ध सडक आन्दोलन गर्नुपर्ने कुनै औचित्य नरहेको टिप्पणी गरेका छन्। उनले पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित पुराना राजनीतिक दलका नेताहरूले आफ्ना स्वार्थ र भ्रष्टाचार ढाकछोप गर्न जनतालाई आन्दोलनमा उतार्न खोजेको आरोपसमेत लगाएका छन्।

रायमाझीका अनुसार प्रचण्डलाई साथ दिनुपर्ने कुनै ठोस कारण जनतासँग छैन। उनले प्रश्न गरेका छन्, ‘प्रचण्डका कालो धन लुकाउन र उनले गरेका अपराध तथा कुकर्म ढाकछोप गर्न फेरि जनता सडकमा आइदिनुपर्ने हो रु’

उनले पुराना राजनीतिक दलहरूले देशलाई के दिए भन्ने प्रश्न गर्दै उनीहरूको पछि लागेर जनताले आन्दोलन गर्नुपर्ने अवस्था नरहेको बताए। बालेन सरकारविरुद्ध सडकमा उत्रिनुपर्ने कारणसमेत आफूले नदेखेको उनको भनाइ छ।

रायमाझीले अहिलेको राजनीतिक असन्तुष्टिको मुख्य कारण बिचौलियाको प्रभाव कमजोर हुनु रहेको दाबी गरेका छन्। विगतमा राजनीतिक नेता र बिचौलियाबीच स्वार्थको सम्बन्ध रहेको उल्लेख गर्दै उनले नेता र बिचौलिया एकअर्काका पूरक बनेर राज्यसत्ताको दुरुपयोग गर्दै आएको आरोप लगाए।

‘नेतालाई बिचौलिया चाहिन्थ्यो, बिचौलियालाई नेता चाहिन्थ्यो। राज्यसत्ता उनीहरूले नै प्रयोग गर्थे। अहिले बिचौलियालाई सास फेर्नसमेत गाह्रो भएको छ,’ उनले भने।

उनले बिचौलियाको प्रभाव घट्दैमा प्रजातन्त्र समाप्त भयो भन्न नमिल्ने तर्क गरे। नेपालको संविधान, जनता र संसदीय व्यवस्था यथावत् रहेको उल्लेख गर्दै उनले अहिलेको अवस्थालाई लोकतन्त्र समाप्त भएको रूपमा व्याख्या गर्नु गलत भएको बताए।

रायमाझीले ठेक्कापट्टामा हुने कमिसन, राजनीतिक संयन्त्रमार्फत हुने प्रभाव र राज्यका निकायमा दलहरूको पहुँच कमजोर हुँदै गएको दाबी गर्दै त्यसबाट लाभ लिँदै आएका समूह अहिले असन्तुष्ट बनेको टिप्पणी गरे।

‘सिंहदरबारमा दलहरूको प्रभाव कम भएको छ, ठेक्कापट्टामा कमिसन घटेको छ, बिचौलियाकरण र दलाली कम भएको छ। त्यसैले उनीहरू छटपटिएका हुन्,’ उनले भने।

उनले भ्रष्टाचार र अनियमिततामा संलग्न व्यक्तिहरूको संरक्षण हुन नहुने भन्दै राज्यलाई कमजोर बनाउने र स्वार्थका लागि राजनीति गर्ने समूहको विरोधलाई जनताको वास्तविक आवाजका रूपमा बुझ्न नहुने धारणा राखे।

रायमाझीले बालेन सरकारका कदमलाई लिएर भइरहेको विरोधको औचित्यमाथि प्रश्न उठाउँदै सरकारको विरोधका नाममा पुराना स्वार्थ समूहको प्रभाव पुनःस्थापित गर्ने प्रयास भइरहेको संकेत गरेका छन्।

प्रतिक्रिया