२० आश्विन २०८३, मंगलबार | October 6, 2026

कांग्रेस केन्द्रीय सदस्यमा इ. ऋषि कोइरालाको उम्मेदवारी, भने– ‘मेरो होइन, हाम्रो कांग्रेस बनाउनुपर्छ’


October 6, 2026
332
Shares

काठमाडौं । नेपाल बीमा सर्भेयर संघका अध्यक्ष इ। ऋषि कोइरालाले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा खुलातर्फबाट उम्मेदवारी दर्ता गरेका छन्।

काठमाडौं क्षेत्र नम्बर १ बाट लोकप्रिय मतसहित महाधिवेशन प्रतिनिधिमा निर्वाचित कोइरालाले पार्टीभित्र पुस्तान्तरण, नवीन सोच र प्राविधिक ज्ञानसहितको नयाँ नेतृत्व आवश्यक रहेको भन्दै केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका हुन्।

कोइरालाले आफ्नो उम्मेदवारीलाई ‘मेरो होइन, हाम्रो कांग्रेस’ निर्माण गर्ने अभियानका रूपमा अघि सारेका छन्। उनले नवीन सोच र युवाको आवाजलाई ऊर्जाका साथ सम्बोधन गर्दै समयअनुकूल परिवर्तनको नेतृत्व गर्नुपर्नेमा जोड दिएका छन्।

उनका अनुसार राजनीतिमा पुस्तान्तरणको सन्देश दिनु, अग्रजको सम्मान कायम राख्नु, लोकतान्त्रिक चरित्रलाई थप बलियो बनाउनु तथा स्वस्थ राजनीतिक प्रतिस्पर्धाको संस्कार विकास गर्नु अहिलेको आवश्यकता हो।

कोइरालाले भनेका छन्, “अहिलेको विषम परिस्थितिमा नवयुवापुस्ताको परिवर्तनको आकांक्षालाई आत्मसात् गर्दै समयको पदचाप र गतिलाई बुझ्नुपर्छ। समयको आवश्यकता, विकासका सम्भावना र जनताको चाहना बुझेर समाजको नेतृत्व गर्न सक्ने नयाँ पुस्तालाई कांग्रेसले अघि बढाउनुपर्छ।”

उनले नेपाली कांग्रेसप्रति जनताको आकर्षण बढाउन पार्टीको नैतिक धरातल बलियो बनाउनुपर्ने धारणा राखेका छन्। त्यसका लागि इमानदार, निस्कलंक, परीक्षण नभएको र प्राविधिक क्षेत्रको ज्ञान तथा अनुभव भएको नयाँ पुस्तालाई नेतृत्वमा अवसर दिनुपर्ने उनको भनाइ छ।

अग्रजको अनुभव र नयाँ पुस्ताको ऊर्जा दुवैलाई समेटेर कांग्रेसलाई समयअनुकूल रूपान्तरण गर्नुपर्ने कोइरालाको जोड छ। निष्ठा र आदर्शको संरक्षण गर्दै लोकतान्त्रिक संस्कारलाई बलियो बनाउने तथा पार्टीलाई सबैको साझा संगठनका रूपमा विकास गर्ने लक्ष्यसहित आफूले उम्मेदवारी दिएको उनले बताएका छन्।

बीमा तथा प्राविधिक क्षेत्रमा लामो अनुभव हासिल गरेका कोइराला नेपाल बीमा सर्भेयर संघको नेतृत्वमा समेत सक्रिय छन्। पार्टी राजनीतिमा प्राविधिक तथा पेशागत क्षेत्रबाट नयाँ पुस्ताको प्रतिनिधित्व आवश्यक रहेको बताउँदै उनले आफ्नो उम्मेदवारीलाई त्यसैको निरन्तरताका रूपमा प्रस्तुत गरेका छन्।

 

 

प्रतिक्रिया