प्रवासको अनुभव बोकेर कांग्रेस केन्द्रीय सदस्यमा शालिकराम गौतम
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नेदरल्यान्ड्सबाट महाधिवेशन प्रतिनिधि रहेका युवा नेता शालिकराम गौतमले केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्।
गौतमले नेपाली कांग्रेसको जनसम्पर्क समिति क्लस्टरअन्तर्गत युरोप कोटाबाट केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गर्न लागेका हुन्। कांग्रेसको १५औँ महाधिवेशनमा प्रवासमा रहेका जनसम्पर्क समितिबाट ६ जना केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था गरिएको छ।
गौतमले आफूलाई पार्टीको बदलिँदो आवश्यकता र प्रवासमा रहेका नेपालीका मुद्दालाई पार्टीको मूलधारसँग जोड्ने उद्देश्यले उम्मेदवारी दिन लागेको बताएका छन्।
उनको मुख्य एजेन्डामा कांग्रेसलाई समयसापेक्ष, गतिशील र युग सुहाउँदो बनाउने, विदेशमा रहेका नेपालीको ज्ञान, सीप र अनुभवलाई पार्टी निर्माणमा उपयोग गर्ने तथा विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार सुनिश्चित गर्न पहल गर्ने विषय छन्।
त्यस्तै, गैरआवासीय नेपालीले उठाउँदै आएको दोहोरो नागरिकताको अधिकार कार्यान्वयनका लागि निरन्तर पहल गर्ने उनको प्रतिबद्धता छ।
‘रूपान्तरित तथा युवाको बाहुल्य रहेको पार्टीलाई समयसापेक्ष, गतिशील र युग सुहाउँदो बनाउने उद्देश्यसहित उम्मेदवारी दिने निर्णयमा पुगेको छु,’ गौतमले भने।
गौतम कांग्रेसको राजनीतिमा लामो समयदेखि सक्रिय छन्। उनी १३औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधि तथा १४औँ महाधिवेशनमा महासमिति सदस्य थिए। प्रवासमा रहेर पनि कांग्रेसको संगठन निर्माणमा सक्रिय रहेका उनी नेपाली कांग्रेस बेल्जियम जनसम्पर्क समितिको महामन्त्री हुँदै नेदरल्यान्ड्स जनसम्पर्क समितिको महामन्त्री र सभापतिसम्म भएका छन्।
२०३८ सालमा बागलुङमा जन्मिएका गौतम विद्यार्थी जीवनदेखि नै कांग्रेसको नीति र विचारसँग जोडिएका थिए। रेस्टुरेन्ट व्यवसायमा समेत संलग्न उनी लामो समयदेखि प्रवासमा रहेर पार्टीको संगठनात्मक गतिविधिमा सक्रिय रहँदै आएका छन्।
पार्टीका पूर्वसभापतिहरू सुशील कोइराला, रामचन्द्र पौडेल र शेरबहादुर देउवासँग राजनीतिक सम्बन्ध बनाएका गौतम कांग्रेसको विशेष महाधिवेशनका अभियन्तासमेत हुन्।
आफ्नो उम्मेदवारीलाई उनले व्यक्तिगत पदको आकांक्षाभन्दा प्रवासमा आर्जन गरेको अनुभव र ज्ञानलाई पार्टीको हितमा उपयोग गर्ने अवसरका रूपमा व्याख्या गरेका छन्।
‘मेरो उमेर र अनुभव पार्टीमा लगानी गर्ने मन छ, कर्मभूमिमा बसेर जन्मभूमिको सेवा गर्ने मन छ,’ उनले भने।


