१९ आश्विन २०८३, सोमबार | October 5, 2026

विपद् व्यवस्थापनमा सरकार ‘सम्झौता नगरी’ खटिरहेको प्रधानमन्त्री शाहको दाबी


October 5, 2026
0
Shares

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भदौ १० गतेयता आएको बाढीपहिरोलगायत विपद्बाट प्रभावित क्षेत्रमा सरकार कुनै पनि किसिमको सम्झौता नगरी उद्धार, राहत तथा व्यवस्थापनमा निरन्तर खटिरहेको बताएका छन्।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को २१औँ बैठकमा प्रधानमन्त्री शाहले संघ, प्रदेश र स्थानीय सरकारबीचको समन्वयमा विपद् व्यवस्थापनका काम अघि बढिरहेको जानकारी दिए।

बैठकमा गण्डकी, बागमती, मधेश र कोशी प्रदेशका मुख्यमन्त्रीहरूको समेत सहभागिता थियो। मुख्यमन्त्रीहरूलाई लक्षित गर्दै प्रधानमन्त्री शाहले उपलब्ध स्रोतसाधन र जनशक्ति अधिकतम परिचालन गरेर प्रभावित क्षेत्रमा काम भइरहेको बताए।

‘हामीले उपलब्ध स्रोत साधन र जनशक्ति परिचालन गरी चाँडोभन्दा चाँडो विपद् व्यवस्थापनको काम सक्दैछौँ। त्यसैले यस विषयलाई लिएर ढुक्क हुन आग्रह गर्दछु,’ प्रधानमन्त्री शाहले भने।

उनले भोटेकोशी–त्रिशूली क्षेत्रसँगै गण्डकी र अन्य क्षेत्रमा आएको बाढीपहिरोबाट भएको क्षतिको अध्ययन गरी त्यसको व्यवस्थापनमा सरकार केन्द्रित रहेको बताए। क्षतिको यथार्थ विवरण संकलनसँगै प्रभावित क्षेत्रको पुनःस्थापना र आवश्यक व्यवस्थापनका कामलाई समेत तीव्रता दिइने उनको भनाइ थियो।

प्रधानमन्त्री शाहले आगामी दिनमा विपद्को जोखिम न्यूनीकरणलाई प्राथमिकतामा राख्दै पूर्वसूचना प्रणालीलाई थप सुदृढ बनाउने सरकारको तयारी रहेको बताए। हिमपहिरोको जोखिम न्यूनीकरणका लागि पनि आवश्यक काम अघि बढाइरहेको उनले जानकारी दिए।

विपद्को समयमा आफ्नो ज्यान जोखिममा राखेर उद्धार तथा राहतमा खटिएका राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, स्वयंसेवक, राजनीतिक दलका प्रतिनिधि तथा विभिन्न क्षेत्रबाट सहयोग गर्ने सबैप्रति प्रधानमन्त्री शाहले कृतज्ञता व्यक्त गरे।

बैठकले विपद् व्यवस्थापनमा संघ, प्रदेश र स्थानीय तहबीच थप प्रभावकारी समन्वय गर्दै प्रभावित नागरिकलाई शीघ्र राहत तथा पुनःस्थापनामा केन्द्रित हुने सन्देश दिएको छ।

प्रतिक्रिया