इ. रबिन्द्र अधिकारी कांग्रेस केन्द्रीय सदस्यमा भिड्दै
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा इन्जिनियर तथा पेशागत क्षेत्रका युवा नेता इ. रबिन्द्र अधिकारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
तनहुँ क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित अधिकारीले असोज १८ गतेदेखि हुने महाधिवेशनमा पेशागत विज्ञ कोटाबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिन लागेका हुन्।
व्यास नगरपालिका–८ बाट पेशागत विषयविज्ञतर्फ क्षेत्रीय प्रतिनिधि चयन भएका अधिकारी भारी मतसहित केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका थिए। इन्जिनियरिङ पेसा, विद्यार्थी राजनीति र पेशागत संगठनमा लामो समयदेखि सक्रिय अधिकारीले आफ्नो अनुभव र विशेषज्ञतालाई पार्टीको नीति निर्माण र निर्णय प्रक्रियासँग जोड्ने उद्देश्यले उम्मेदवारी घोषणा गरेको बताएका छन्।
‘पेशागत विज्ञताको अनुभव पार्टीको नीति निर्माणमा’
अधिकारीका अनुसार कांग्रेसको विधानले कानून, चिकित्सा, इन्जिनियरिङ, स्वास्थ्य, चार्टर्ड एकाउन्टेन्सी, पत्रकारिता, शिक्षण, प्राध्यापनलगायत विभिन्न पेशागत क्षेत्रका विज्ञलाई पार्टीको मूलधारमा सहभागी गराउने व्यवस्था गरेको छ। यस्तो व्यवस्थाले ज्ञान, दक्षता र अनुभवलाई राजनीतिक निर्णय प्रक्रियासँग जोड्ने अवसर प्रदान गर्ने उनको भनाइ छ।
“पेशागत क्षेत्रबाट हासिल गरेको ज्ञान, अनुभव र विशेषज्ञतालाई राजनीतिक जिम्मेवारीसँग जोडेर पार्टीको नीति निर्माणमा योगदान पुर्याउनु आवश्यक छ,” अधिकारीले भनेका छन्।
सम्पत्ति मूल्यांकनकर्ता इन्जिनियरहरूको छाता संगठन नेपाल भ्यालुयर्स एशोसिएशन (एनभिए) का वर्तमान सचिवसमेत रहेका अधिकारीले पेशागत क्षेत्रको प्रतिनिधित्व गर्दै कांग्रेसभित्र आफ्नो भूमिका प्रभावकारी बनाउने बताएका छन्।
उनी उदयपुर सिमेन्ट उद्योग लिमिटेडका पूर्व विज्ञ सञ्चालक समेत हुन्। उद्योगमा उनले करिब एक वर्ष कार्यवाहक अध्यक्षको जिम्मेवारीसमेत सम्हालेका थिए।
विद्यार्थी राजनीतिदेखि पेशागत नेतृत्वसम्म
अधिकारी विद्यार्थी राजनीतिबाट कांग्रेसमा सक्रिय भएका हुन्। उनी नेपाल विद्यार्थी संघ, एड्भान्स कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्टका संस्थापक सदस्य तथा पूर्व इकाई अध्यक्ष र स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) का कोषाध्यक्षका रूपमा काम गरिसकेका छन्।
इन्जिनियरिङ पेसासँगै विद्यार्थी राजनीति र पेशागत संगठनमा सक्रिय रहँदै आएका अधिकारीको उम्मेदवारीलाई कांग्रेसको नीति निर्माणमा पेशागत अनुभव, प्राविधिक ज्ञान र नयाँ पुस्ताको प्रतिनिधित्वका रूपमा हेरिएको छ।
अधिकारीले पार्टीको निर्णय प्रक्रियामा पेशागत क्षेत्रको आवाजलाई बलियो बनाउँदै विकास, पूर्वाधार, अर्थतन्त्र तथा प्राविधिक नीतिमा विज्ञताको प्रयोग बढाउने लक्ष्यसहित केन्द्रीय सदस्यमा उम्मेदवारी दिन लागेको बताएका छन्।


