१२ बैशाख २०८२, शुक्रबार | April 25, 2025

‘पूर्वराजा ज्ञानेन्द्रसँग प्रधानन्यायाधीश राउत’ को भेटको समाचार तत्काल हटाउन नेपाली पेनलाई सर्वोच्चको पत्र


31k
Shares

काठमाडौं, १२ वैशाख । सर्वोच्च अदालतले पूर्व राजा ज्ञानेन्द्र शाहसँग प्रधानन्यायाधीश प्रकाश मान सिंह राउतको भेटको समाचार तत्काल हटाउन पत्र पठाएको छ । नेपाली पेनलाई ११ वैशाखमा इमेलमार्फत् प्राप्त पत्रमा सर्वोच्चको १० वैशाखको आदेशअनुसार समाचार अविलम्ब हटाउन पत्र प्राप्त भएको हो ।

सर्वोच्चको पत्रमा अदालतको अवहेलना मुद्दामा देशको प्रधानन्यायाधीशलाई जोडेर सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनवाई भइरहेको विचाराधीन मुद्दाको विषयमा आपत्तिजनक र आधारहिन टिप्पणी गर्दै प्रकाशित समाचार न्याय व्यवस्था प्रति सर्वसाधारण्मा भ्रम सृजना गर्न सक्ने देखिएको भनिएको छ ।

नेपाली पेनले पनि पत्रको जवाफ पठाएको छ । जवाफमा सर्वोच्च अदालतको निर्देशित आदेशानुसार कार्य सम्पन्न भएको भनिएको छ ।

समाचारबारे नेपाली पेन डट कमविरुद्ध सर्वोच्च अदालतमा दायर मुद्दामा प्रधानसम्पादक डा. दीपेश केसी र सम्पादक सचिना बानियालाई बयानका लागि बोलाउन आदेश आएको छ । न्यायाधीशहरु अब्दुल अजीज मुसलमान र टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासले सबुत प्रमाणसहित ७ दिनभित्र अदालतमा बयानका लागि उपस्थित हुन आदेश दिएको थियो ।

नेपाली पेन डट कमका प्रधानसम्पादक डा. दीपेश केसीले सर्वोच्च अदालतको आदेश पालना गर्ने र संविधान र कानून अनुसार जस्तोसुकै सजाय भोग्न तयार भएको स्पष्ट पारेका छन् ।

 

प्रतिक्रिया