२३ असार २०८३, मंगलबार | July 7, 2026

देउवा परिवारमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धानको घेरा,जयवीरलाई ७ दिने पुर्जी


0
Shares

काठमाडौं । नेपाली राजनीतिमा ठूलो तरंग ल्याउने घटनाक्रम सार्वजनिक भएको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीर देउवालाई ७ दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिँदै पुर्जी जारी गरेको छ।

प्राप्त जानकारीअनुसार, विभागले सम्पत्ति शुद्धीकरणसम्बन्धी जाँचबुझका क्रममा केही विषयमा सोधपुछ गर्नुपर्ने भएकाले जयवीरलाई उपस्थित हुन भनेको हो। पुर्जी बुढानिलकण्ठस्थित देउवा निवासमा टाँस गरिएको बताइएको छ।
यति मात्र होइन, यसअघि नै विभागले शेरबहादुर देउवा र आरजु राणा देउवालाई पनि उपस्थित हुन बोलाइसकेको छ। देउवा दम्पतीले भने साउन मसान्तभित्र विभागमा उपस्थित हुने जानकारी विभागलाई दिएको स्रोतको भनाइ छ।

यो घटनाले देशको राजनीतिक वृत्तमा अनेक प्रश्न जन्माएको छ। लामो समय सत्ता र शक्तिको केन्द्रमा रहेको परिवारमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान अघि बढ्नु सामान्य प्रक्रिया मात्र हो कि ठूलो अनुसन्धानको सुरुआतरु यसको उत्तर भने आगामी अनुसन्धानले दिनेछ।
कानुनी रूपमा पुर्जी जारी हुनु दोषी ठहर हुनु होइन। यो अनुसन्धान प्रक्रियाको एक चरण हो, जहाँ सम्बन्धित व्यक्तिसँग तथ्य र विवरण बुझ्ने काम गरिन्छ। अन्तिम निष्कर्ष अनुसन्धान पूरा भएपछि मात्रै स्पष्ट हुनेछ।

तर राजनीतिक रूपमा यसको प्रभाव ठूलो हुन सक्ने विश्लेषण भइरहेको छ। सरकारले सुशासन र कानुनी शासनको प्रतिबद्धता दोहोराइरहेका बेला प्रमुख राजनीतिक नेतृत्वसँग जोडिएको परिवार अनुसन्धानको दायरामा आउनुले राजनीतिक बहसलाई थप तीव्र बनाएको छ। यसले कानुन सबैका लागि समान रूपमा लागू हुन्छ भन्ने सन्देश दिन्छ कि दिँदैन, त्यो आगामी प्रक्रियाले देखाउनेछ।

अब सबैको नजर सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको आगामी कदम, देउवा परिवारको उपस्थिती र अनुसन्धानबाट बाहिर आउने तथ्यतर्फ केन्द्रित छ।

प्रतिक्रिया