पोर्चुगलका मुख्य प्रशिक्षक मार्टिनेजले किन दिए पदबाट राजीनामा ?
काडमाडौं । पोर्चुगलका मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले विश्वकपबाट टोली बाहिरिएसँगै आफ्नो पदबाट औपचारिक रूपमा बाहिरिने घोषणा गरेका छन् ।
विश्वकपको अन्तिम–१६ मा स्पेनसँग १–० ले पराजित भएपछि स्पेनी प्रशिक्षक मार्टिनेजले आफ्नो कार्यकाल समाप्त भएको बताएका हुन् ।
उनले आफ्नो सम्झौता सकिएको र अब पोर्चुगल फुटबल महासंघले नयाँ प्रशिक्षक नियुक्त गरेर नयाँ युग सुरु गर्ने समय आएको बताएका छन् ।
खेलपछि सञ्चारकर्मीसँग कुरा गर्दै मार्टिनेजले आफूले पोर्चुगलको जिम्मेवारी एउटै लक्ष्यका साथ सम्हालेको बताए, त्यो थियो विश्वकप जित्नु ।
तर लक्ष्य पूरा गर्न नसकेकाले अब नयाँ प्रशिक्षकलाई जिम्मेवारी दिने समय आएको उनको भनाइ थियो ।
मार्टिनेजले साढे तीन वर्षको कार्यकालमा आफूलाई विश्वास र पूर्ण साथ दिएको पोर्चुगल फुटबल महासंघप्रति आभार व्यक्त गरे ।
उनले महासंघका अध्यक्ष पेड्रो प्रोएन्सालाई विशेष धन्यवाद दिँदै उच्चस्तरमा प्रतिस्पर्धा गर्न आवश्यक सबै सुविधा उपलब्ध गराइएको बताए ।


