२३ असार २०८३, मंगलबार | July 7, 2026

ब्रेकिङ एक्सपोज: एपीएफ स्कुलमै ११ करोडको खेल ! नक्कली हस्ताक्षरदेखि साथीको खातासम्म पैसा पुगेको आरोप


0
Shares

काठमाडौं। देशकै सुरक्षा निकायसँग सम्बन्धित शैक्षिक संस्था एपीएफ स्कुलभित्र करोडौं रुपैयाँको आर्थिक अनियमितता भएको आरोपले सनसनी मच्चिएको छ।

कीर्तिपुरस्थित एपीएफ स्कुलकी लेखा अधिकृत, सशस्त्र प्रहरी निरीक्षक कल्पना गुरुङ र उनका सहयोगी टासी भन्ने लीलाबहादुर लामालाई काठमाडौं जिल्ला अदालतले अनुसन्धानका लागि सात दिन हिरासतमा राख्न अनुमति दिएको छ।

उनीहरूमाथि ठगी र आपराधिक लाभ ९एक्सटर्सन० सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

आरोप के छ ?

अनुसन्धानका अनुसार एपीएफ स्कुलको आम्दानी सशस्त्र प्रहरीको केन्द्रीय कल्याणकारी कोषमा जम्मा हुनुपर्ने रकम गुरुङले आफ्ना सहयोगी लीलाबहादुर लामाको बैंक खातामा पठाएको आरोप छ। प्रारम्भिक अनुसन्धानले करिब ११ करोड रुपैयाँ हिनामिना भएको आशंका देखाएको छ।

यति मात्र होइन, रकम स्थानान्तरणका क्रममा स्कुलका तत्कालीन समादेशक एसएसपी (हाल डीआईजी) दिग्विजय सुवेदीको नक्कली हस्ताक्षर प्रयोग गरिएको आरोप समेत अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ।

प्रहरी स्रोतका अनुसार कनेक्ट आईपीएस प्रयोग गरेर रकम लीलाबहादुर लामासँग सम्बन्धित तीन कम्पनी—एमडी एडभेन्चर ट्राभल एण्ड टुर्स, हाम्रो टिकट प्रालि र एमडी होलिडे प्रालि—को खातामा पठाइएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ।

सशस्त्र प्रहरी बलका डीआईजी युवराज अर्यालको नेतृत्वमा बनेको छानबिन समितिको सिफारिसपछि शनिबार साँझ दुवै जनालाई पक्राउ गरिएको थियो।

अब सबैको चासो एउटै छ—के यो ११ करोडको खेल दुई जनामै सीमित थियो, वा यसको जालो अझ माथिसम्म फैलिएको छरु प्रहरीले घटनाको थप अनुसन्धान जारी रहेको जनाएको छ।

प्रतिक्रिया