नेपाली कांग्रेसको चौराहामा चार धार : वैचारिक संघर्ष, नेतृत्वको खोज र भविष्यको बहस
राजनीतिक विश्लेषण । नेपालको सबैभन्दा पुरानो लोकतान्त्रिक दल नेपाली कांग्रेस आज केवल संगठनात्मक संकटमा मात्र छैन, यो गम्भीर वैचारिक संक्रमणको चरणमा पनि पुगेको छ । एक समय प्रजातन्त्र, राष्ट्रियता, समाजवाद र मेलमिलापको साझा चौतारी बनेको यो पार्टी अहिले विभिन्न राजनीतिक, सांस्कृतिक र पुस्तागत धारहरूबीचको बहसको केन्द्र बनेको छ ।
पार्टीभित्र देखिएका मतभेद केवल व्यक्ति वा पदको प्रतिस्पर्धा मात्र होइनन् । ती नेपालको राज्य व्यवस्था, धर्म, राष्ट्रियता, आर्थिक विकास, लोकतन्त्रको स्वरूप र भविष्यको राजनीतिक मार्गबारेका फरक दृष्टिकोणका अभिव्यक्ति हुन् । आज नेपाली कांग्रेसभित्र मोटामोटी चारवटा धार देख्न सकिन्छ, जसले आगामी वर्षहरूमा पार्टीको दिशा तय गर्न सक्ने सम्भावना राख्छन्।
१) गगन थापाको उदार–प्रगतिशील धारः
सभापति गगन थापा पछिल्लो दशकमा नेपाली कांग्रेसभित्र सबैभन्दा चर्चित युवा नेताका रूपमा स्थापित भएका छन्। उनले सामाजिक लोकतन्त्र, संघीय गणतन्त्र, धर्मनिरपेक्षता र आधुनिक राज्य व्यवस्थाको पक्षमा निरन्तर बहस गर्दै आएका छन्।
शहरी मध्यमवर्ग, शिक्षित युवा र सामाजिक सञ्जालमार्फत राजनीति बुझ्ने पुस्तामा उनको प्रभाव देखिन्छ। उनले पार्टीलाई आधुनिक, प्रतिस्पर्धी र नीतिमुखी बनाउनुपर्ने आवश्यकता औंल्याउँदै आएका छन्।
तर यही समूहमाथि विभिन्न आलोचनाहरू पनि हुने गरेका छन्। आलोचकहरूका अनुसार यो समूहले परम्परागत कांग्रेसी आधारलाई कमजोर बनाउँदै अत्यधिक प्रगतिशील र वाम झुकावको राजनीति गरिरहेको छ। केहीले यसलाई “राजनीतिक बामीकरण“ को प्रयासका रूपमा व्याख्या गर्छन्। पार्टीभित्र वैचारिक असहमतिप्रति पर्याप्त सहिष्णुता नदेखाएको, संगठनभन्दा सार्वजनिक भाषण र छविमा बढी केन्द्रीत भएको तथा विषयगत बहसलाई गैरसरकारी संस्थामुखी बनाएको आरोप पनि यो समूहमाथि लाग्ने गरेको छ।
धर्म, संस्कृति र परम्परागत कांग्रेसी मूल्यप्रति पर्याप्त संवेदनशीलता नदेखाएको आरोपले समेत यो धारलाई चुनौती दिइरहेको छ।
यो धारमा पनि ४ समुहको स्वार्थ गठबन्धन र रुख तथा चार तारासँगको भावनात्मक प्रेमले काम गरेको देखिन्छ । यसमा विशेष त सभापतिसँगै विद्यार्थी राजनीति र एनजीओमा सहकार्य गरेका मानिसहरु र सनातन कांग्रेस राजनीतिमा सकृय राजनीतिकर्मीहरु नै छन् । एउटै परिवार र समुहले मात्रै फाईदा लिएको भनेर विरोध गरेर पार्टी सत्तामा आएको भए पनि त्यो पारिवारिक तथा हेल्लो इफेक्टको प्रेमबाट सभापति तथा पदाधिकारी मुक्त देखिदैनन्।
आफ्नो समुहमा भएर राजनीतिक विश्लेषण गर्ने वा समुहमा नभएका नेता कार्यकर्ता तथा वुद्विजिविलाई खुइल्याउन साइवर सेना प्रयोगको सुरुवात तत्कालीन युवा गगनले नै गरेको र त्यहि सर्दै नयाँ पार्टीका कार्यकर्तामा पुगेको बताउने गरिएको छ । पेलेर जाने रणनीतिमा देखिएका सभापति गुट बाम तथा नयाँ पुस्तालाई आफ्नो बनाउने ध्यानमा पनि देखिन्छन् ।
२) मेलमिलाप र परम्परागत कांग्रेसको धारः
पार्टी सभापति शेरबहादुर देउवाको वरिपरि देखिने अर्को धार परम्परागत कांग्रेसवादको प्रतिनिधित्व गर्ने प्रयासमा देखिन्छ । यो समूहले वीपी कोइरालाको राष्ट्रिय मेलमिलापको सिद्धान्तलाई पुनः सान्दर्भिक बनाउन खोजेको देखिन्छ ।
यस धारका समर्थकहरू कांग्रेसको ऐतिहासिक पहिचान, राष्ट्रिय एकता, मध्यमार्गी राजनीति र सहमतिको संस्कृतिलाई पुनर्जीवित गर्नुपर्ने आवश्यकता औंल्याउँछन्।
हालका राजनीतिक घटनाक्रम, राष्ट्रिय पहिचानसम्बन्धी बहस र सांस्कृतिक प्रश्नहरूले यस समूहभित्र समेत नयाँ सोच जन्माउन थालेको देखिन्छ । धर्मनिरपेक्षता र संघीयताका पक्षमा सक्रिय रहेका केही नेताहरूले समेत राज्यका केही व्यवस्थाको समीक्षा गर्नुपर्ने धारणा सार्वजनिक गर्न थालेका छन्। डा. शेखर कोइरालाले पार्टीभित्र एकताको प्रयास गर्दै आएका छन्। तर लामो समयसम्म सन्तुलन खोज्ने प्रयास गरेका उनी अहिले निर्णायक राजनीतिक मोडमा पुगेका देखिन्छन्। विमलेन्द्र निधि, डा. शशांक कोइराला, पूर्णबहादुर खड्कालगायत नेताहरू विभिन्न तहमा यस धारसँग जोडिएको मानिन्छन्।
यद्यपि यस समूहभित्र पनि नेतृत्व, उत्तराधिकार र रणनीतिबारे स्पष्टता अझै देखिएको छैन। यो धारमा पुराना नेताको सङ्ख्या उल्लेखनिय भएको कारण भ्रष्टाचार र अनियमिततासँग जोडेर खुइल्याईने गरिएको छ। यो धारमा पनि सनातन कांग्रेस संस्कृति भन्दा आफन्तवाद हावी भएको टिप्पणी बजारमा यत्रतत्र सुनिन्छ ।
३) हिन्दू राष्ट्र र सांस्कृतिक राष्ट्रवादको धारः
महासमिति बैठकमा ठूलो संख्यामा हस्ताक्षर संकलन गरेर हिन्दू राष्ट्रको बहसलाई पार्टीभित्र स्थापित गर्ने प्रयास भएको थियो। त्यसयता कांग्रेसभित्र सांस्कृतिक राष्ट्रवादको धार स्पष्ट रूपमा देखिन थालेको छ।
यो समूह धर्मनिरपेक्षताको पुनरावलोकन, हिन्दू राष्ट्रको बहस तथा संवैधानिक राजतन्त्रबारे खुला छलफलको पक्षमा रहेको देखिन्छ । पार्टीका केही युवा नेताहरूले सनातन संस्कृति, धार्मिक पहिचान र राष्ट्रिय सभ्यताको संरक्षणलाई आफ्नो राजनीतिक एजेन्डा बनाएका छन्।
हिजोको खुम बहादुर खड्काले लिएका सनातन धर्म र संवैधानिक राजतन्त्रको मुद्दा निकट देखिने यो धारको नेतृत्व पुर्वमन्त्रीहरु शंकर भण्डारी, लक्ष्मण घिमिरे साथै लोकेश ढकाल, डाक्टर श्यामचन्द्र अधिकारी लगायत हुने बताइन्छ।
यद्यपि संगठनात्मक रूपमा यो समूह अत्यन्त बलियो देखिँदैन, तर पार्टीभित्रको वैचारिक बहसमा यसको उपस्थिति उल्लेखनीय छ।
यो विचारले सनातन कांग्रेस र आम नेपालीलाई आफुतिर तान्न सक्छन् पनि। आगामी दिनमा पार्टीभित्रै आफ्नो स्थान बलियो बनाउने वा वैकल्पिक राजनीतिक मार्ग रोज्ने प्रश्न यस समूहका लागि महत्त्वपूर्ण बन्न सक्छ।
४) असल लोकतन्त्र र मानवतावादी युवा धारः
पछिल्लो समय कांग्रेसभित्र अर्को नयाँ धारको संकेत पनि देखिन थालेको छ। यो कुनै औपचारिक गुट वा संगठन होइन, बरु वैचारिक र नैतिक राजनीतिको खोजीमा रहेका केही युवा व्यक्तित्वहरूको प्रयासका रूपमा यसलाई बुझ्न सकिन्छ।
यो धारले पुरानो पुस्ताको अनुभवलाई सम्मान गर्दै नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्नुपर्ने आवश्यकता औंल्याउँछ । सुशासन, न्याय, अनुशासन, कानुनी राज्य, उत्पादनमुखी अर्थतन्त्र, राष्ट्रियता र मानवीय राजनीतिलाई यसले जोड दिन्छ । यो एउटा आवाज बनेर आएको छ जसले कांग्रेस मात्रै होइन आम जनताको भावना समेत समेटेर जिम्मेवार राजनीतिक शक्ति निर्माणमा काम गर्न सक्छ। कांग्रेसले नै यो विचारको नेतृत्व गरोस् भन्ने चाहाने सनातन कांग्रेस युवा नेता युवराज बस्ताकोटीले यस विचार वाहिर ल्याएका छन्।
राष्ट्रियता , मानवता, नेपाली लोकतन्त्र र आर्थिक क्रान्तिको मार्गलाई नेपाली राष्ट्रिय राजनीतिकले समात्नुपर्ने धारणा उहाँको पाईन्छ । पार्टी भित्र रचनात्मक क्षमताका बौद्धिक युवा भएर पनि अवसरबाट वञ्चित पारिएका धर्तीपुत्र बस्ताकोटी विकल्पमा जिम्मेवार राजनीतिक काँध जस्तो देखिन्छन् । भूराजनीतिक प्रभाव र आन्तरिक राजनीतिक किचलो बुझेका यी मानिस निजी क्षेत्र मैत्री आर्थिक व्यवस्थाका पक्षधर हुन् ।
सरकारले उचित नीति बनाउने, जनताको नैतिकता सहितको व्यवसायिक चरित्र निर्माण गरेर मात्रै देश विकास हुन्छ भन्ने दृष्टिकोण दिने पहिलो युवा नेता बस्ताकोटी आम जेनजी पुस्ताको पक्षमा काम गर्न सक्ने सिद्धान्त बोकेर अगाडि बढ्नुपर्ने बताउछन् ।
यस्तै कर्णालीका नेता भूपेन्द्र जङग शाही, धर्म शाही, कुन्दन काफ्लेहरु राजनीतिको नयाँ नेतृत्व बन्ने गरि अगाडि बढेको प्रस्ट देखिन्छन् ।
हरित क्रान्ति, आर्थिक पुनर्जागरण, नेपाली स्रोतको उपयोग, युवाको भविष्य सुरक्षा तथा नैतिक राजनीतिको पुनस्र्थापनाजस्ता विषय यस धारका बहसका केन्द्रमा देखिन्छन्। यस समूहका केही व्यक्तित्वहरूले राजनीतिक दस्तावेज निर्माण, दीर्घकालीन आर्थिक दृष्टिकोण र शासन सुधारबारे बहस अघि बढाउने प्रयास गरिरहेका देखिन्छन्। उनीहरू पार्टीभित्र निष्पक्षता, आन्तरिक लोकतन्त्र र जिम्मेवार राजनीतिक संस्कृतिको पक्षमा उभिन खोजिरहेका छन्। यद्यपि यो धार अझै प्रारम्भिक अवस्थामा रहेको छ । यसको भविष्य संगठन निर्माण, वैचारिक स्पष्टता र जनस्तरसम्म पुग्ने क्षमतामा निर्भर रहनेछ।
कांग्रेस कुन दिशामा ?
नेपाली कांग्रेस अहिले केवल नेतृत्व परिवर्तनको बहसमा छैन। पार्टी वास्तवमा आफ्नो आत्मा, आफ्नो वैचारिक आधार र आफ्नो भविष्यको दिशाबारे बहस गरिरहेको छ । रुख र ४ ताराको प्रेमले मुस्किलले बाँचेको कांग्रेस भारतीय कांग्रेस जस्तो बनेर सत्ता बाहिरी राजनीतिमा सिमित होला वा प्रजा परिषद होला !
एकातिर आधुनिक सामाजिक लोकतन्त्रको आग्रह छ। अर्कोतिर राष्ट्रिय मेलमिलाप र मध्यमार्गी कांग्रेसवादको परम्परा छ । अर्को कोणबाट सांस्कृतिक राष्ट्रवाद र सनातन पहिचानको प्रश्न उठिरहेको छ भने नयाँ पुस्ताले नैतिकता, सुशासन र आर्थिक पुनर्जागरणको बहस गरिरहेको छ।
यी सबै धारहरू कांग्रेसभित्र लोकतान्त्रिक रूपमा प्रतिस्पर्धा गर्न सके भने कुनै दिन राम्रो नतिजामा पुग्न पनि सक्छ।
– सचिना बानियाँ


