तनहुँ कांग्रेसमा सदस्यता नवीकरणको बेवास्ता, प्रभावशाली नेताहरू नै अद्यावधिकबाट बाहिर
तनहुँ । नेपाली कांग्रेसमा यतिबेला क्रियाशील सदस्यता अद्यावधिक अभियान तीव्र रूपमा चलिरहेका बेला तनहुँका केही प्रभावशाली नेताहरूले भने हालसम्म आफ्नो सदस्यता नवीकरण नगरेको तथ्य सार्वजनिक भएको छ।
उपलब्ध विवरणअनुसार कांग्रेसका पूर्व केन्द्रीय सदस्य शंकर भण्डारी, पूर्व आमन्त्रित केन्द्रीय सदस्य पुष्प पराजुली तथा राष्ट्रिय सभा सदस्य जगत तिमिल्सेनाले अझैसम्म सदस्यता अद्यावधिक गरेका छैनन्। जिल्ला सदस्य डम्बर अधिकारीले पनि सदस्यता नवीकरण नगरेको जनाइएको छ।
पार्टीले संगठन सुदृढीकरण र आगामी महाधिवेशनलाई लक्षित गर्दै सदस्यता अद्यावधिकलाई विशेष प्राथमिकतामा राखिरहेको अवस्थामा जिम्मेवार नेताहरू नै अद्यावधिक प्रक्रियाबाट बाहिर रहनुले जिल्ला राजनीतिक वृत्तमा अनेक प्रश्न उठाएको छ।
यद्यपि, ती नेताहरूले सदस्यता किन अद्यावधिक नगरेका हुन् भन्ने विषयमा औपचारिक धारणा सार्वजनिक भएको छैन। उनीहरू समयमै नवीकरण गर्ने तयारीमा छन् वा कुनै असन्तुष्टिका कारण प्रक्रिया रोकेका हुन् भन्ने विषयमा पनि स्पष्ट जानकारी आएको छैन।
कांग्रेसभित्र सदस्यता अद्यावधिकको विषय अहिले व्यापक चासो र बहसको केन्द्र बनेको छ। कतिपयले यसलाई संगठनात्मक अनुशासनसँग जोडेर हेरेका छन् भने कतिपयले आन्तरिक राजनीतिक समीकरणको संकेतका रूपमा समेत विश्लेषण गरिरहेका छन्।
अब तनहुँका यी नेताहरूले कहिले सदस्यता नवीकरण गर्छन् भन्ने विषयलाई कांग्रेस वृत्तले चासोपूर्वक हेरिरहेको छ।


