२० पुस २०८१, शनिबार | January 4, 2025

घुमुवाले तनहुँमा मच्चाए आतंक,एसपी बयान दिंदैमा हैरान


January 1, 2025
2.6k
Shares

काठमाडौं ।  सूचना संकलनकै लागि नेपाल प्रहरीले सादा पोशाकमा परिचालन गर्ने गर्दछ । तर सादा पोशाकका प्रहरी सूचना संकलनमा भन्दा द्रब्य संकलनमा बढी केन्द्रित हुँदा संगठनको छविमै आघात पुग्ने गरेको छ । भारतसँग सीमा जोडिएका तराईका जिल्लामा घुमुवा प्रहरीलाई कार्यालय प्रमुखहरुले सूचना संकलनमा भन्दा पनि भन्सारछली गर्नेहरुसँग लाइन मिलाएर लाभ उठाउन खटाउने गरेको आरोप लाग्ने गरेको छ ।

तराईका जिल्लामा मात्र होइन, गण्डक प्रदेशको जिल्ला प्रहरी कार्यालय तनहुँमा पार्टीका नेताहरुको दबाबमा घुमुवा परिचालन गर्दा कार्यालय प्रमुखले नै हैरानी ब्यहोर्नुपरेको छ । प्रहरीको जागिरमा प्रवेश गरेदेखि नै तनहुँमा कार्यरत असई सन्त रिमाल,बरिष्ठ सई प्रकाश खत्री र घुमुवा सहायक हवल्दार भरत भुजेलको असुलीले सीमा नाघेको उजुरी गण्डकी प्रदेश कार्यालयमा परेपछि एसपी वीरेन्द्र शाही पटक पटक बयान दिन जानुपरेको छ । यसअघिका एसपी अपिल बोहरा हुँदा बाहिरिएका रिमाल र खत्रीलाई शाही सरुवा भएपछि कांग्रेस सांसद शंकर भण्डारीको दबाबमा पुनः घुमुवाका रुपमा राखिएको छ ।

तनहुँमा पुनः फर्किएका रिमाल र खत्री प्रहरी र एसपीको निर्देशन मान्नेभन्दा पनि शंकर भण्डारीको चाहनामा चल्ने गरेको आरोप छ । तनहुँका क्रसरदेखि, जुवा अखाडा र चेक बाउन्स र लेनदेनका मुद्दामा चलखेल गर्दैआएका बरिष्ठ सई प्रकाश खत्रीका बारेमा प्रदेशमा उजुरी परेको छ । दमौलीमा खेम गुरुङले संचालन गर्दैआएको जुवा अखाडाबाट हप्ता असुली गरी खत्रीले संरक्षण गर्दैआएको स्रोतले बताएको छ ।

त्यस्तै, असई सन्त रिमाल त सिपाहीमा भर्ना भएदेखि नै तनहुँमा घुमुवाका रुपमा कार्यरत रहेका छन् । जिल्ला प्रहरी कार्यालय तनहुँमा हवल्दार हुँदा असई रिमाल त गोबध गर्नेहरुसँग ६ लाख घुस लिएको आरोपमा कारबाहीस्वरुप सरुवा भएका थिए । गोबध प्रकरणमा भएको घुस लेनदेनको बिषय छरपष्ट भएपछि तनहुँका तत्कालीन एसपी सिद्धिबिक्रम शाह पनि तानिएका थिए । त्यसो त हवल्दार हुँदा उनी घाँसीकुवाको कोहिनुर होटलबाट अनैतिक क्रियाकलाप गरेकोमा रंगेहात समातिएका थिए ।

कांग्रेस नेताहरु र उनीहरुका निकटस्थ ब्यवसायीको लगानीका दर्ता नभएका र नवीकरण नभएका क्रसर उद्योगहरुमा घुमुवा रिमाल र खत्रीले घुस मागेपछि प्रदेश प्रहरी कार्यालयमा उजुरी परेको छ । घुमुवाका बारेमा थुप्रै उजुरी परेपछि प्रदेश प्रहरी कार्यालयले छानबिन सुरु गरेको स्रोतले बताएको छ । जसका कारण एसपी शाही नै प्रदेश प्रहरी कार्यालयमा बयान दिन जानुपरेको छ ।

स्थानीय कांग्रेसकै नेता–कार्यकर्ताहरुले एकका बिरुद्ध अर्कोलाई उजुरी दिएपछि एसपी शाही अप्ठेरोमा परेका छन् । विवादित घुमुवा राख्ने पक्षमा एसपी शाही नरहे पनि कांग्रेस सांसद शंकर भण्डारीको दबाबका सामु उनी निरीह देखिएका छन् ।

प्रतिक्रिया