ट्राफिक नियम मिच्ने ३१ चालकको लाइसेन्स निलम्बनको सिफारिस
काठमाडौं । राजधानीमा ट्राफिक नियमलाई खेलाँची बनाउँदै पटक–पटक उल्लङ्घन गर्ने ३१ जना सवारीचालकमाथि कडा कारबाही प्रक्रिया अघि बढाइएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले १६ पटकसम्म ट्राफिक नियम तोडेको भेटिएपछि उनीहरूको सवारीचालक अनुमतिपत्र ९लाइसेन्स० ६ महिनाका लागि निलम्बन गर्न यातायात व्यवस्था विभागलाई सिफारिस गरेको हो।
ट्राफिक प्रहरीका अनुसार जरिवाना तिरेर उम्किने मानसिकतामा रहेका चालकहरूले एउटै गल्ती बारम्बार दोहोर्याउँदै सार्वजनिक सुरक्षामाथि चुनौती खडा गरेपछि यसपटक कडा कदम चालिएको हो। प्रहरी प्रवक्ता नवराज अधिकारीका अनुसार पाँच पटकभन्दा बढी ट्राफिक नियम उल्लङ्घन गर्ने चालकको लाइसेन्स छ महिनासम्म निलम्बन गर्न सकिने कानुनी व्यवस्था अनुसार कारबाही अगाडि बढाइएको हो।
१६ पटकसम्म नियम मिच्दा पनि चेतना नआएपछि ‘लाइसेन्स खोस्ने’ तहको कारबाही
सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ ले स्पष्ट रूपमा बारम्बार नियम उल्लङ्घन गर्नेलाई लाइसेन्स निलम्बन गर्न सकिने व्यवस्था गरेको छ। तर, यसअघि जरिवानामै सीमित कारबाही हुँदा धेरै चालकले त्यसलाई सामान्य रूपमा लिँदै आएका थिए।
प्रहरीको भनाइमा, अब ‘जरिवाना तिरेर छुटकारा’ पाउने अवस्था अन्त्य हुने संकेत देखिएको छ। लाइसेन्स निलम्बनमा परेका चालकहरूले आगामी ६ महिनासम्म कुनै पनि सवारी चलाउन पाउने छैनन्।
ट्राफिक प्रहरीले यो कदमले काठमाडौं उपत्यकामा बढ्दो सवारी दुर्घटना न्यूनीकरण, लापरवाह चालकलाई नियन्त्रण र सडक अनुशासन कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएको छ।
राजधानीमा ट्राफिक नियम उल्लङ्घन अब महँगो मात्रै होइन, लाइसेन्स गुमाउने जोखिम समेत बन्न थालेको छ।

