२२ बैशाख २०८३, मंगलबार | May 5, 2026

शिवपुरी जंगलमा सड्न थालेको अवस्थामा भेटियो हराएकी महिलाको शव


332
Shares

काठमाडौं । टोखा नगरपालिकास्थित शिवपुरी राष्ट्रिय निकुञ्जको जंगलभित्र हराएकी एक महिलाको शव गाडिएको अवस्थामा फेला परेको छ। प्रारम्भिक अनुसन्धानमा उनको हत्या गरिएको खुलेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंको अनुसार तारकेश्वर नगरपालिका–३ तीनपिप्लेकी ४५ वर्षीया सरिता तिवारी गत वैशाख ११ गते ‘बजार जान्छु’ भन्दै घरबाट निस्किएकी थिइन्। बेलुकासम्म घर नफर्केपछि परिवारले भोलिपल्ट अर्थात् वैशाख १२ गते प्रहरीमा हराएको सूचना दिएका थिए।

प्रहरीले खोजी तथा अनुसन्धान तीव्र बनाएपछि तिवारीको सम्पर्कमा रहेका एक व्यक्तिमाथि शंका केन्द्रित भएको थियो। सोही आधारमा प्रहरीले सोमबार टोखा नगरपालिका–२ का ३५ वर्षीय अनिल डंगोललाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको थियो ।

अनुसन्धानका क्रममा डंगोलले नै तिवारीको हत्या गरी शिवपुरी राष्ट्रिय निकुञ्जको जंगलमा शव गाडेको स्वीकार गरेको प्रहरीले जनाएको छ। डंगोलको बयानपछि प्रहरी टोली घटनास्थल पुगेको थियो, जहाँ सड्न थालेको अवस्थामा महिलाको शव फेला परेको हो ।

प्रहरीका अनुसार शव हत्या गरेर माटोले पुरिएको अवस्थामा भेटिएको छ। शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ ।

हत्या किन र कसरी भयो भन्ने विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रतिक्रिया