३ असार २०८३, बुधबार | June 17, 2026

साथीले नै रचेको ‘किड्न्याप’ योजना,मित्रमाथि नै भरोसा गर्दा परे फन्दामा


166
Shares

काठमाडौं । चितवनबाट अपहरणमा परेका १६ वर्षीय एक बालकलाई प्रहरीले काठमाडौंको बालाजुस्थित एक होटलबाट सकुशल उद्धार गरेको छ। घटनामा बालकका पुराना साथी नै संलग्न रहेको खुलासा भएपछि घटनाले थप सनसनी मच्चाएको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार बालकलाई २ असार बिहान १ बजे बालाजुको एक होटलबाट उद्धार गरिएको हो। अपहरणको आरोपमा पक्राउ परेका सुजित कुमार पीडित बालकका पुराना साथी हुन्। उनीहरू चितवनमा करिब दुई वर्षसम्म सँगै अध्ययन गरेका थिए।

इन्स्टाग्रामबाट बोलाए, साथीमाथि नै भरोसा गर्दा परे फन्दामा

प्रहरीका अनुसार भारतमा बस्दै आएका सुजित कुमारले योजनाबद्ध रूपमा चितवन आएर १ असारमा इन्स्टाग्राममार्फत बालकलाई भेट्न बोलाएका थिए। साथीको विश्वासमा परेर बालक साँझ साढे ६ बजेतिर सिद्धार्थ बोर्डिङ स्कुल पछाडि पुगेका थिए।

तर, त्यहाँ पुगेपछि चार जनाको समूहले उनलाई भारतीय नम्बर प्लेटको गाडीमा जबर्जस्ती राखेर एक होटलमा लग्यो।

दुई घण्टा फकाए, त्यसपछि चक्कु देखाएर काठमाडौं ल्याए

प्रहरीका अनुसार होटलमा करिब दुई घण्टासम्म बालकलाई फकाएर राखिएको थियो। त्यसपछि चक्कु देखाएर ज्यान मार्ने धम्की दिँदै कुटपिटसमेत गरेर काठमाडौं ल्याइएको थियो।

पीडित बालकले प्रहरीसमक्ष भनेका छन्,
“हो–हल्ला गरे मारिदिन्छौं भन्दै चक्कु देखाएर धम्क्याइयो, कुटपिट गर्दै काठमाडौं ल्याइयो।”

प्रहरीको सफल अपरेसन

घटनाको सूचना पाएलगत्तै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली सक्रिय भएको थियो। अनुसन्धानपछि बालाजुको एक होटलमा बालकलाई बन्धक बनाएर राखिएको अवस्थामा फेला पारिएको र सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ।

घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी तथा थप अनुसन्धान जारी रहेको छ।

साथीकै विश्वास घात स् सामाजिक सञ्जालबाट सुरु भयो अपहरणको खेल

सामाजिक सञ्जालमार्फत पुनः सम्पर्कमा आएका पुराना साथीले नै अपहरणको जाल बुनेको यो घटनाले अभिभावक र समाजलाई गम्भीर सन्देश दिएको छ। साथीको नाममा बोलाएर बालकलाई अपहरण गरिएको यो घटना अहिले चितवन र काठमाडौंमा चर्चाको विषय बनेको छ।

 

प्रतिक्रिया